राष्ट्रियताको संरक्षणका लागि कलम चलाउन प्रलेसको आग्रह

रासस

काठमाडौँ 

राष्ट्रियताको प्रवद्र्धन र सामाजिक सद्भावका लागि प्रगतिशील लेखकहरुले सक्रिय हुनुपर्नेमा जोड दिइएको छ।

प्रगतिशील लेखक सङ्घ, वाग्मती प्रदेश कमिटीले आज भर्चुअलरूपमा आयोजना गरेको ‘राष्ट्रियताको आन्दोलनमा प्रगतिशील साहित्यको भूमिका’ विषयक संवादमा सङ्घका अध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरीले आफूहरुले विचार प्रवाह र जागरणको आन्दोलन चलाउँदै आएको उल्लेख गर्दै प्रगतिशीलहरुले अत्याचार र थिचोमिचो नसहने स्पष्ट गरे। 

उनले भने, 'एक देशले अर्काे देशमाथि गर्ने थिचोमिचो र शोषण सैह्य हुँदैन। नेपालभित्रका जाति र समुदायलाई विभाजित गरेर यहाँको राष्ट्रियता कमजोर बनाउने खेल र षड्यन्त्रबाट बच्नुपर्छ। यी विषयमा हामीले सचेत भएर कलम चलाउनुपर्छ।' भारतले मिचेको भूमि समेटेर नेपाल सरकारले नयाँ राजनीतिक नक्सा ल्याएकामा उहाँले समर्थन व्यक्त गरे।
 
सङ्घका पूर्वअध्यक्ष मातृका पोखरेलले राष्ट्रियताका लागि प्रगतिशील लेखकहरु अझै सक्रिय हुनुपर्ने र अमेरिकी मिलेनियम सहायता कर्पाेरेशसन (एमसिसी) को विरोध गर्नुपर्ने बताए। साहित्यकार नर्मदेश्वरी सत्यालले राष्ट्रियता लेखनीमा मात्रै नभई व्यवहारमा पनि उत्तिकै प्रदर्शन हुनुपर्ने बताए। स्थानीय तहसम्म प्रगतिशील लेखकका पुस्तक उपलब्ध गराउन आग्रह गरे।
 
साहित्यकार गोविन्द आचार्यले साहित्य सरल र बौद्धिकहरुका लागि हुनुपर्ने भनेर माओत्सेतुङले भनेको उल्लेख गर्दै जागरणमूलक सिर्जनामा ध्यान दिन आग्रह गरे। सङ्घका महासचिव समीर सिंहले राष्ट्रियताका सन्दर्भमा प्रगतिशील लेखकलाई एक हुन आग्रह गर्दै सङ्घले त्यसको अगुवाइ गर्ने बताए। 

प्रकाशित मिति: : 2020-08-15 17:11:55

प्रतिकृया दिनुहोस्