बार्सिलोनाका प्रशिक्षक किके सेटिन बर्खास्त

बार्सिलोनाले प्रशिक्षक किके सेटिनलाई अन्तत: बर्खास्त गरेको छ। सोमबार प्रेस विज्ञप्ति जारी गर्दै क्लबले सेटिन पदमुक्त भएको जानकारी दिएको हो।

यसै जनवरीमा बार्सिलोनाले एर्नेस्टो भालभेर्डेलाई बर्खास्त गरेपछि सेटिनले प्रशिक्षकको जिम्मेवारी पाएका थिए। तर नियुक्तिको सुरुवातदेखि नै खेलाडीसँग राम्रो सम्बन्ध बनाउन नसकेका उनले मैदानभित्र पनि नतिजा दिन नसक्दा लामो समय टिक्न सकेनन्। 

यता लिगको अग्रतामा लामो समय रहेपनि अन्तिममा उपाधि रियल म्याड्रिडलाई सुम्पनु पर्दा सेटिन दबाबमा रहेका थिए। 

यता च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार बेहोरेपछि बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको थियो। 

हार बेहोरेको दोस्रो दिन नै निर्देशक एरिक आबिडालसहित बसेको बैठकमा सेटिन पदबाट बर्खास्त भएका थिए। क्लबले केही दिनमा प्रशिक्षकका रुपमा पूर्वखेलाडी रोनाल्ड कोम्यानलाई प्रस्तुत गर्ने जनाएको छ।

बर्खास्तसँगै सेटिन बार्सिलोनामा १३ वर्षपछि उपाधिविहिन रहँदै बर्खास्तमा पर्ने पहिलो प्रशिक्षक बने। बार्सिलोनाले अब सिनियर टोलीमा आमुल परिवर्तन गर्ने समेत जनाएको छ।

कोम्यान बार्सिलोनाको नयाँ प्रशिक्षक

बार्सिलोनाले क्लबकै पूर्वखेलाडी तथा नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको प्रशिक्षक रोनाल्ड कोम्यानलाई प्रशिक्षकको भूमिकामा नियुक्त गर्ने भएको छ।

माउरिसियो पोचेटिनोलाई बार्सिलोनाले सम्पर्क गरेपनि कोम्याननै प्रशिक्षकको रुपमा आउने भएका छन्।

यसअघि इंग्लिस क्लब एभर्टन र साउथह्याम्पटनको प्रशिक्षक रहिसकेका कोम्यान हाल नेदरल्यान्ड्सको राष्ट्रिय टोलीको प्रशिक्षकका रूपमा कार्यरत छन्। यसअघि पनि बार्सिलोनाले उनलाई प्रशिक्षक बन्ने प्रस्ताव गर्दा इच्छा भएपनि नेदरल्यान्ड्ससँगको सम्झौंता तोड्न नसक्ने बताएका थिए।  

उनले युरो २०२० सकिएपछि मात्र आउन सक्ने बताएका थिए।

तर युरो कोरोनाले गर्दा एक वर्षका लागि स्थगित भएसँगै कोम्यानले निर्णय परिवर्तन गरेका हुन्।

उनको बार्सिलोनामा नियुक्तिसँगै राष्ट्रिय टोलीमा भने के गर्छन भन्ने प्रष्ट भइसकेको छैन। कोम्यान आइतबार बार्सिलोना एअरपोर्टमा देखिएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: : 2020-08-18 05:34:12

प्रतिकृया दिनुहोस्