मेसी विश्वका सर्वोत्कृष्ट खेलाडी र बार्साका पिल्लर हुन्, नयाँ रणनीतिमा नहुने कुरै हुँदैन: क्लब अध्यक्ष

बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोएम्यानले कप्तान लियोन मेसी क्लबको लागि प्रोजेक्टको पिल्लर भएको बताएका छन्। 

बार्सिलोनाका स्टार खेलाडी मेसीले क्लब छोड्न सक्ने खबरहरु आइरहेका बेला मंगलबार बेलुका बोल्दै उनले उक्त कुरा बताएका हुन्।

बार्तोमेउले भने, ‘ उनको सम्झौता सन् २०२१ सम्मको छ। तर मेसी आफ्नो खेल जीवन नै बार्सिलोनामा अन्त्य गर्न चाहन्छन्। उनले यो कुरा धेरै पटक भनेका छन्।’

उनले बार्सिलोनाको नयाँ प्रशिक्षक बन्ने पक्का भएका रोनाल्ड कोएम्यान, मेसी र उनको बुवासँग पनि लगातार कुरा गरिरहेका बताए।

‘मैले कोएम्यानसँग पनि कुरा गरेको छु र हाम्रो प्रोजेक्टको पिल्लर नै मेसी हुन्। उनको सम्झौता सन् २०२१ सम्मको छ। मेसीसँग मैले लगातार कुरा गरिरहेको छु र उनको बुवासँग पनि। उनी विश्वका सर्वोत्कृष्ट खेलाडी हुन्। कोएम्यानको नयाँ रणनीतिमा उनी नहुने कुरै हुँदैन,’ बार्तोमेउले भने।

तर उनले टिममा परिवर्तन हुन सक्ने भने संकेत गरेका छन्।

यता ५७ वर्षका  बार्सिलोनाका पूर्व खेलाडी कोएम्यानलाई यो हप्ता भित्र अनुबन्ध गर्ने प्रक्रिया पूरा हुने बार्तोमेउले बताए। 

अनुबन्धन सम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन कोएम्यान मंगलबार नै बार्सिलोना पुगेका छन्।  उनले हाफ नेदरल्याण्डसको राष्ट्रिय टिमका प्रशिक्षक छन्।

 ‘हामीले छनौट गरेका व्यक्ति कोएम्यान हुन्। सबै कुरा सही तरिकाले अघि बढ्यो भने उनी आउँदो सिजन क्लबको प्रशिक्षक हुने छन्,’ बार्तोमेउले भने। 

प्रकाशित मिति: : 2020-08-19 07:01:46

प्रतिकृया दिनुहोस्