सिटीका पूर्वकप्तान कोम्पनी एन्डरलेकको प्रशिक्षक

म्यान्चेस्टर सिटीका पूर्वकप्तान भिन्सेन्ट कोम्पनी बेल्जियम टोली एन्डरलेकको प्रशिक्षकमा नियुक्त भएका छन्।

सिटी छाडेपछि उनी चार वर्षको सम्झौतामा एन्डरलेक गएका हुन्। 

कोम्पनी गत वर्ष एन्डरलेकको खेलाडी र प्रशिक्षक दुवै भूमिकामा थिए। एन्डरलेकमा ३४ वर्षे कोम्पनीले फ्रान्की भेर्काउटेरेनको स्थान लिनेछन्।

सिटीमा ११ वर्ष बिताउँदा उनी ८ वर्ष कप्तान रहेका थिए। त्यसपछि उनी युवा अवस्थामा बिताएको क्लब फर्किएका थिए। सिटी जानुअघि उनले यस क्लबबाट दुई वर्ष बेल्जियमको पहिलो डिभिजनको लिग जितेका थिए। 

सिटीमा उनले चार प्रिमियर लिग, दुई एफए कपको उपाधि जिते। उनले बेल्जियमको राष्ट्रिय टोलीबाट ८९ खेल खेलेका थिए। 

कोम्पनी पूर्ण प्रशिक्षक भएपछि एन्डरलेकले पहिलो खेल आइतबार माउसकोर्नसँग खेल्नेछ।

‘म प्रशिक्षकको भूमिकामा पूर्ण प्रतिबद्ध हुन चाहन्छु र यसमा शतप्रतिशत समय बिताउन आवश्यक छ,’ कोम्पनीले भनेका छन्, ‘त्यसैले मैले फुटबल खेलाडी जीवन छाडेको हुँ। हाम्रो उद्देश्य र उपाधि भोक यथावत् छ। एन्डरलेकले सुखद् नतिजा दिनुका साथै आधुनिक शैलीको फुटबल पनि खेलोस्।’

प्रकाशित मिति: : 2020-08-19 12:08:47

प्रतिकृया दिनुहोस्