मेसी विश्वका सर्वोकृष्ट खेलाडी हुन्, प्रशिक्षकको रुपमा काम गर्न चाहन्छु: कोम्यान

क्याटलान क्लब बार्सिलोनाले टिमको मुख्य प्रशिक्षकमा आफ्ना पूर्व खेलाडी रोनाल्ड कोम्यानलाई नियुक्त गरेको छ।

नेदरल्यान्ड्सका ५७ वर्षीय प्रशिक्षक कोम्यान राष्ट्रिय टोली छाड्दै बुधबार बार्सिलोनामा आबद्द भएका हुन्।

कोम्यानले बार्सिलोनासँग दुई वर्षको सम्झौता गरेका छन्। कोम्यान यसअघि १९९८–२००० मा बार्सिलोनाको सहायक प्रशिक्षक समेत बनेका थिए। 

उनी त्यतिबेलाका प्रशिक्षक लुइस भान गालको सहायक रहेका थिए। बार्सिलोनाले मुख्य प्रशिक्षक क्विके सेटिनलाई बर्खास्त गरेको दुई दिनपछि कोम्यानलाई मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको हो।

केही दिन अगाडी मात्रै बार्सिलोना च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा जर्मन क्लब वायर्न म्युनिखसँग ८–२ गोल अन्तरले पराजित भएको थियो।

यसो त बार्सिलोना लालिगामा उपविजेतामा सिमित बनेको थियो। उसले पाँच अंकले पछि पर्दै लिग उपाधि रियल मड्रिडलाई सुम्पिएको थियो।

सेटिनको प्रशिक्षणमा बार्सिलोना एक दशकपछि उपाधिविहीन बन्न पुगेको थियो। लगातार खराब प्रदर्शनसँगै बार्सिलोनाले गत जनवरीमा एर्नेस्टो भाल्भेर्डेको स्थानमा मुख्य प्रशिक्षक बनेका सेटिनलाई ७ महिनामै गत सोमबार बर्खास्त गरेको थियो। 

सेटिनको प्रशिक्षणमा बार्सिलोनाले २५ खेल खेल्दा १६ जित, पाँच हार र ४ बराबरीको नतिजा निकालेको थियो।

कोम्यानको खेल यात्रा

पूर्व डिफेन्डर तथा मिडफिल्डर कोम्यानले स्पेनिस क्लब बार्सिलोनाबाट सन् १९८९ देखि १९९५ सम्म खेल्दै चार लिग कप र युरोपियन कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।

६ सिजन क्लबमा रहदा उनले २६४ खेलमा ८८ गोल गरेका थिए। उनले नेदरल्यान्डबाट ७८ क्याप जित्दै १४ गोल गरेका छन्।

२०१८ फेब्रुअरीमा नेदरल्यान्डको मुख्य प्रशिक्षक बनेका कोम्यानको प्रशिक्षणमा नेदरल्यान्डले २० खेल खेल्दा ११ जित, ५ बराबरी र चार खेलमा हारको नतिजा निकालेको थियो। त्यसअघि उनी इंग्लिस क्लब एभर्टनका प्रशिक्षक रहेका थिए।

‘विश्वका सर्वोकृष्ट खेलाडी हुन्, हामीलाई उनी आवश्यक छ’

कोम्यानले आफूले लिओनल मेसीसँग कुरा गर्न आवश्यक रहेको बताएका छन्।

बार्सिलोनाका स्टार खेलाडी मेसीले क्लब छोड्न सक्ने खबरहरु आइरहेको छ। यसअघि बार्सिलोनाका पूर्व प्रशिक्षक इर्नेस्टो भाल्भार्डेको बर्खास्तीको विषयलाई लिएर स्पोर्टिङ डाइरेक्टर इरिक अबिदालसँग मेसीको जुहारी नै परेको थियो। 

३३ वर्षीय मेसीलाई क्लबमा भित्र्याउनका लागि इन्टर मिलान, म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्माइनले चासो दिएका छन्। 

तर कोम्यानले उनलाई बार्सिलोनामै देख्न चाहेको बताए।

‘मलाई थाहा छैन, मैले सहमत गर्न सक्छु कि सक्दिन तर मैले उनीसँग कुरा गर्न आवश्यक छ। उनी टिमका कप्तान हुन्। उनीसँग सम्झौता अझै बाँकी छ। उनलाई टिममा हेर्न चाहन्छु,’ कोम्यानले भने।

उनले मेसी कल्बै रहने आशासमेत ब्यक्त गरे।

‘उनी विश्वका सर्वोकृष्ट खेलाडी हुन्, हामीलाई उनी आवश्यक छ। र धेरै खेलाडीको बिषयमा कुरा गर्न बाँकी छ। हामीले केही निर्णय गर्न बाँकी छ तर मेसीको बिषयमा आशा गर्छु, उनी क्लबमा बस्नेछन्,’ कोम्यानले भने।

उनले आफू मेसीसँग काम गर्न इच्छुक रहेको समेत बताएका छन्। 

‘उनी प्ले मेकर हुन, उनले टोलीलाई जिताउँछन्। उनले आफ्नो क्षमता र स्तरलाई सधै देखाएका छन्। म त्यसका लागि सधै खुसी रहनेछु।प्रशिक्षकको रुपमा म काम गर्न चाहन्छु,’ उनले भने। 

प्रकाशित मिति: : 2020-08-20 06:58:17

प्रतिकृया दिनुहोस्