मिथिलाञ्चलमा लोकपर्व चौठ चन्द मनाइँदै

रासस

धनुषा

अजयकुमार साह 

जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा आज चौठ चन्द पर्व मनाइँदैछ। यो पर्व भाद्र शुक्लपक्षको चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन्।

चौठ चन्द पर्वका दिन व्रत बस्ने चलन छ। पर्वकै अवसरमा आँगनमा पूजा हुने भएकाले चामलको पिठोको कलात्मक अरिपन बनाई त्यसमाथि पूजाका सामग्री राखेर धार्मिक विधिपूर्वक पूजापाठ गरिन्छ। सो क्रममा नयाँ माटोको भाँडोको दही, केरा, मिठाइ, फलफूलका साथै विभिन्न प्रकारका पकवान राखेर विभिन्न देवीदेवतालाई चढाइने गरिन्छ।

पूजामा विशेष परिकार बनाउने चलन रहेको जनकपुरधाम उपमहानगरपालिका­५ की कल्पना झा बताउछन्। प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ। फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ। चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौठ चन्द्र पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रा, घरमा तयार पारेको पकवान, मिठाइ, गाजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ। दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने भएकाले अहिले घरघरमा महिला प्रसाद तयार बनाउन व्यस्त छन्।

मिथिलाञ्चलमा यो पर्व हेमाङ्ग ठाकुरले प्रचलनमा ल्याएको बताइन्छ। ठाकुर आफैँ ज्योतिष थिए। उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वकोशसुरुआत गरेका हुन्। मिथिलाको लोकपर्व चौठ चन्दको बेला गणेश र चन्द्रमाको कथा सुन्ने समेत परम्परा रहिआएको छ।

चौठ चन्दको महत्व
चौठ चन्द पर्व मिथिला क्षेत्रको पारम्परिक लोकपद्धतिमा आधारित पर्व रहेको वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडीले बताए।

 उनले भने, 'हामीकहाँ जति लोक परम्परा रहेको छ त्यसमा कुनै प्रकारको भेदभाव हुँदैन्। यसमा कुनै तामझाम हुँदैन्। यसमा प्रयोग हुने विभिन्न सामग्री जस्तै माटोको भाँडा, फलफूल, पिठोबाट बनेको परिकार, दहीलगायतका सम्पूर्ण सामग्री आफ्नै घर आँगनबाट उत्पादन भएको प्रयोग हुन्छ।'

 कापडीका अनुसार सबै देवीदेवतालाई शास्त्रीय विधिअनुसार प्रतिष्ठानमा राखेर पूजा गरिन्छ। चौठ चन्द पर्वको आयोजना भाद्र शुक्ल चतुर्थी तिथिका दिन रातिमा मनाइन्छ । यो वास्तवमा चन्द्रमाको पूजा हो । भनिन्छ यो तिथिमा चन्द्रमालाई खाली हातले हेर्दा कलङ्क (पाप) लाग्ने हुनाले पूजा गरी अर्थात खाद्यान्न, फलफूल, दही आदिको अघ्र्य दिएर चन्द्र–दर्शन गर्दा त्यो पापबाट बच्न सकिन्छ ।

पर्वको प्रारम्भ

मिथिलाञ्चल क्षेत्रमा मनाइने विभिन्न लोक पर्वहरुको प्रारम्भबारे प्रमाणिक रुपमा उपलब्ध हुँदैन। समाजले आफ्नो आवश्यता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे। यसबारेमा कतै अभिलेख रुपमा नपाइएपनि पुस्तान्तरदेखि हुँदै आएको छ। 
मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिष शास्त्रकै ऋचा जस्तै स्वीकार गरिएका छन्। कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो। आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ। एउटा वचन आएको छ–'काशी कुशी चौठी चान, आब की रोपबह धान किसान’ अर्थात चतुर्थी (शुक्ल चतुर्थी) को चन्द्रमा आकाशमा देखिसकेपछि धानको रोपाइँ गर्नु हुँदैन, गर्ने बेला गइसकेको हुन्छ। यो बोल लगभग एक सय वर्ष पूर्व डाकद्वारा व्यक्त गरिएकाले यसको व्यवहार त्यसभन्दा अगाडिदेखि नै समाजमा भएको अनुमान गर्न सकिन्छ।

चौठ चन्दको कथा

मिथिलाञ्चल क्षेत्रमा मनाउने चौठ चन्दको विभिन्न प्रचलित कथा रहेको वरिष्ठ पत्रकार कापडी बताउछन्। कापडीका अनुसार श्रीकृष्णलाई आजैको दिन स्यमन्तक मणिको प्रसङ्गमा लागेको कलङ्क छुटेकाले यस पर्वको पौराणिक महत्व पनि स्थापित भएको छ।
श्रीमद्भागवतमा एउटा कथा आएको छ। द्वापरमा द्वारिकापुरीमा सत्रजीत नामको एउटा गरीब यादव भगवान सूर्यको अराधना गरी निकै उत्कृृष्ट मणि प्राप्त गरेका थिए–स्यमन्तक। विधिपूर्वक पूजा गरेपछि उक्त मणिबाट यादवले प्रतिदिन २० मन सुन प्राप्त गर्थे। उनी छिटै धनाढ्य हुन पुगे। चारैतिर यो खबर फिंजियो। एकदिन राजाको दरबारमा सत्रजीत मणि गलामा धारण गरेर नै पुगेछन्। मणिको प्रभावले चारैतिर प्रकाशित भएर दरबार नै चमक्क भयो।

श्रीकृष्णले यादवलाई मणि राजालाई दिन आग्रह गरेपनि उनले मानेनन् र बहाना बनाई घर फर्कि हाले। घरमा गएपछि राजाले लेला भन्ने डरले भाइ प्रसेनजीतलाई मणि जिम्मा लगाई सुरक्षा साथ जङ्गल पठाए। कालक्रममा प्रसेनजीतको मृत्यु भएपछि उक्त मणि एउटा सिंहबाट जाम्बवान नाउँको बलशाली भालुले हात पारे। भालुको निवास एउटा विशाल गुफामा थियो।
 प्रसेनजीतको मृृत्यु र मणि हराएको खबर राजा कहाँ आएपछि उसको सन्देह श्रीकृष्णमाथि नै गयो। आफूमाथि लागेको कलङ्क मेट्न श्रीकृष्ण जङ्गल गए र निकै खोजबिन गरेपछि त्यहाँ उपलब्ध साक्षीहरुको आधारमा आशङ्का गर्दै त्यस गुफाभित्र प्रवेश गरे। दश दिनभन्दा पनि बढी गुफाबाट श्रीकृष्ण बाहिर नआएपछि सँगै आएका सैनिकहरु निराश भई राजधानी फर्के। त्यहाँ श्रीकृष्णको लागि निकै शोक लहर चल्यो। समय बित्दै जाँदा अठाइसौँ दिन श्रीकृष्ण मणि र एक सुन्दर महिलाका साथ राजधानी फर्के। वास्तवमा जामवन्त भालुसँग लडाईं गर्दै अन्तमा उनलाई हराएर मणि साथ उनकी छोरी जाम्बवतीलाई लिएर उनी आएका थिए। त्यो दिन भाद्र शुक्ल चतुर्थीको दिन थियो। श्रीकृष्णको कलङ्क मुक्तिको त्यो दिनलाई स्मरण गर्दै चन्द्रपूजाको प्रचलन चल्दै आएको विश्वास गरिन्छ।
­­­
 

प्रकाशित मिति: : 2020-08-21 13:14:25

प्रतिकृया दिनुहोस्