अब पढ्न पाउनेछन् सडकमा भेटिएका यी नानीहरूले (भिडियाे)

वैशाख–२९ गते। शनिबारको दिन। तीन बहिनीलाई घरबाट लिएर बाहिरिएकी थिइन्, १६ वर्षीया एक किशोरी। 

मानसिक सन्तुलन गुमाएकी उनी दाइ खोज्न जाउँ भन्दै घरबाट अरू बहिनीहरू पनि लिएर निस्किइन्। 

मिर्गौला पीडित दाइ घरबाट निस्किएका थिए। उनै दाइको खाजीमा उनीहरू सिनामंगलको सकुम्बासी बस्तीबाट करिब १ बजे निस्किएका थिए।

उनीहरु घरबाट निस्किएकाे सूचना परिवारले काठमाडौँ महानगरपालिकाको बाल कल्याण समितीका सदस्य प्रविन सिलवाललाई दिएकाे थियाे। त्यसलगत्तै सिलवालले बालबालिका खोजतलास केन्द्रलाई खबर गरेका थिए।

उनले दिएकाे बालिकाहरूकाे हुलियाअनुसार खाेजतलास केन्द्र र प्रहरी टाेलीले उनीहरूकाे खोजीकार्य सुरु गर्‍यो।

दिउँसोको ३ बजेदेखि बालिकाहरूको खोजीमा हिँडिरहेका टोलीले साँझपख लगनखेलको एक गल्लीबाट उनीहरूको उद्धार गर्‍यो। तर त्यतिबेला १६ वर्षकी किशाेरी भने थिइनन्।

बालबालिका खोजतलासकाे टोली पुग्न अगावै उनी त्यहाँबाट हराइसकेकी थिइन्, बहिनीहरूलाई लगनखेलमा छाडेर।

‘यहीं बस्दै गर’ भनेर गएकी दिदीलाई पर्खिरहेका थिए उनीहरू तर दिदी फर्किइनन् खोजतलासले उद्धार गरेर  केन्द्र पुर्‍यायाे।   

‘महानगरले खबर गर्नसाथ हामीले बालिकाहरूको खोजी गर्न थाल्यौं। त्यही क्रममा हामीलाई उनीहरूलाई लगनखेलबाट सकुसल उद्धार गर्यौं’, आफूहरूको मेहनतले बालिकाहरू भेट्टिएको बताउँदै उनले भने, ‘बालिकाहरू नराम्रो ठाउँमा पर्छन् कि भन्ने डर अहिले छैन।’ 

शनिबार उद्धार गरेर ल्याएका तीन जना बालिका अहिले बालबालिका खोजतलासको संरक्षणमा छन्। तर १६ वर्षकी बालिकाको खोजी भने भइरहेको छ। 

‘बालिकाको नियतभन्दा पनि मेन्टल हेल्थ राम्रो छैन। त्यसैले उहाँको खोजी गरिरहेका छौं’, उनले बिएल नेपाली सेवासँग भने, ‘उद्धार भएपछि उहाँलाई पनि हामी संस्थामा राख्नेछौं।’

दोलखाका मनबहादुर भुजेलको मृत्युपछि श्रीमतीले पनि घर छाडिन्। छोराछोरीको माया बिर्सिएर परपुरूषसँग भागिन्। 

आमाबुबाको मायाबाट वञ्चित भएपछि दाइसँगै सिनांमगलको सुकुम्बासी बस्न थालेका थिए चार दिदीबहिनी। दाइकै भरमा बाँचिरहेका थिए। 

घरको भरथेग गरिरहेका दाइ पनि मिर्गौला पीडित भए। त्यसपछि घरको सबै भार भाउजुको काँधमा पर्‍यो। अरूको घरमा काम गर्थिन् भाउजु। 

दुई चार पैसा कमाएर घर खर्च चलाइरहेकी थिइन्। जसाेतसाे दुखमा गुज्रिरहेकाे थियाे भुजेल परिवार। 

उद्धार गरिएका बालिकाहरूको कहालिलाग्दो घरकाे अवस्था बुझेर खोजतलास केन्द्रले उनीहरूकाे व्यवस्थापन गरिदिने भएकाे छ। त्यसमा काठमाडौं महानगरको पनि सहयोग रहने अधिकारीको भनाइ छ।  

कहालीलाग्दो घरको अवस्थाको कारण खोजतालास केन्द्रले बालिकाहरूलाई १८ वर्ष नपुगेसम्म व्यवस्थापन गरिदिने भएको छ। त्यसमा काठमाडौं महानगरको पनि सहयोग रहने अधिकारीको भनाइ छ।  

‘बालिकाहरूलाई घर पठाउने अवस्था छैन। त्यसैले आत्मनिर्भर नभएसम्म उहाँहरू हाम्रै संरक्षणमा रहनुहुनेछ। यसका लागि हामीलाई महानगरले पनि सहयोग गर्ने भएको छ’, 
उनले भने, ‘तीनै जना बालिकाहरूको पढाइदेखि सम्पूर्ण खर्च अब संस्थाले नै व्यर्हाेनेछ।’

बालबालिका खोजतलास केन्द्रले पढाउने भएपछि ९ वर्षकी बालिकाको मुहारमा खुसी छाएको छ।  

परिवारसँग टाढिँदाको दुखले भन्दा धेरै उनलाई ‘पढ्न पाउँछु’ भन्ने कुराले हर्षित बनाएको छ। 

कक्षा–२ पढ्दै गर्दा दोल्खाबाट काठमाडौं आएकी उनले घरको कमजोर स्थितिको कारण पढाइलाई बीचैमा छोड्नुपरेको थियो। तर अब छिट्टै उनले स्कुलको आँगनमा टेक्न पाउनेछिन्। 

उनीसँगै ४ र ६ वर्षकी बहिनीहरूले पनि पढ्न पाउने भएका छन्। त्यो कुराले उनी झनै उत्साहित छिन्। उनी भन्छिन्, ‘हामीलाई पढाइदिन्छु भन्नुभएको छ, हामी धेरै खुसी छौं।’

१६ वर्षकी दिदी साथमा नभएपनि दुई बहिनी छन् उनीसँग। तर उनलाई घर फर्किन थोरै पनि रहर छैन। 

दिनभरि दिदीकाे साथमा लागेर भाेकै बस्नुपरेकाे पीडा सम्झिदै उनी भन्छिन्,  ‘कहिलेकाहीं घरमा पनि भोकै बस्नुपथ्यो। त्यसैले घरको याद आएको छैन। घरमा भन्दा यहाँ धेरै मिठो खानेकुरा खान पाइरहेका छौं। अब छिट्टै पढ्न पाउनेछौं। त्यसैले घर फर्किने मन छैन। यहीँ रमाइलो छ।’


‘सौतेनी’ बा-आमाका कारण ‘सडक’मा पुग्छन् बालबालिका (भिडियाेसहित)

 

किन घर छोडेर हिँड्छन् बालबालिका? (भिडियाेसहित)

प्रकाशित मिति: : 2024-05-12 22:56:00

प्रतिकृया दिनुहोस्