आलितालमा वन फँडानी

रासस

अमरगढी

सडक निर्माण कम्पनी र सामुदायिक वनका पदाधिकारी बीचको मिलेमतोमा सालको रुख फँडानी गरिएको पाइएको छ । 

जिल्लाको भित्री मधेश क्षेत्र आलितालमा  निर्माणाधीन डोला चक्रपथ क्षेत्रमा ती जातका रुख फँडानी भएको हो । आलिताल गाउँपालिका–८ अन्तर्गत गोदाम बजारदेखि डोला गाउँ जोड्ने सडक निर्माण क्रममा सामुदायिक वनक्षेत्रमा रहेका रुख काटिएका हुन् । 
 ।
आलितालको समपूरक कोषअन्तर्गत सडक निर्माण सुरु गरिएको हो । सडकमा रहेका रुख वन कार्यालयको अनुमतिविना कटानी गरी गोलिया बनाई लुकाइराखेको अवस्थामा फेला परेका छन् । 

सडक निर्माण गरिँदा रुख कटानको अनुमति नै नहँुदा सालका रुख कटान गरिएको वन डिभिजन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए । एक सय १० गोलिया थानको करिब ७०० क्यूफिट काठ बरामद गरिएको छ । बाँकी काठको खोजी भइरहेको उनले जानकारी दिए । केही रुख ढलेका अवस्थामा पाइएका छन् । सडक निर्माणका क्रममा सो वन क्षेत्रमा करिब दुई हजार क्युफिटभन्दा बढी काठ काटिएको हुन सक्ने आशंका गरिएको छ ।

काठका गोलिया सम्याउँदै गरिरहेको अवस्थामै  रजनी सामुदायिक वनका अध्यक्ष गोपालसिंह धामी र स्थानीयवासी श्याम दासलाई  कार्यालयको टोलीले  पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा लिई अनुसन्धान भइरहेको  कार्यालयले जनाएको छ ।  

काठ काटिएको सामुदायिक वनबाट काठ निकासी भए नभएका बारेमा अहिले नै भन्न नसकिने उनको भनाइ छ । काठ कटानीका बारेमा छानबिन गर्न अनुसन्धान अधिकृत तोकिसकिएको छ । अबको केही दिनमा सत्यतथ्य पत्ता लाग्ने बताइएको छ ।

सडक निर्माणका क्रममा व्यापक वन फँडानी हुँदासम्म सम्बन्धित सामुदायिक वनले समेत नरोकेको पाइएको छ । यसले सामुदायिक वन र सब डिभिजन वन कार्यालयको पनि मिलेमतो हुन सक्ने आशंका गरिएको छ । सडक निर्माणका क्रममा गत असार महिना पहिले नै रुख काटिएको स्रोतले जनाएको छ । 
 

प्रकाशित मिति: : 2020-08-23 14:31:43

प्रतिकृया दिनुहोस्