मूल्यवृद्धि– १

महंगीको भुङ्ग्रोमाथि जनताको रोदन : सरकार भन्छ- स्वाभाविक (रिपोर्ट)

मूल्यवृद्धि सरकारले हाेइन व्यापारीले गरेका हुन्, त्यसकाे नियन्त्रण हामी गर्छाैँ : विभाग

Breaknlinks
Breaknlinks

झण्डै दुई सातादेखि बजारमा उपभोग्य वस्तुको मूल्य बढेको बढ्यै छ। पेट्रोलियम पदार्थ, डलर र सुनको मूल्य बढ्दा समग्रम सबै उपभाेग्य सामानहरू महङ्गिएकाे हाे। चालु आर्थिक वर्षमा मूल्यवृद्धि साढे ६ प्रतिशतको सीमामा राखिने भनिए पनि ५ महिनामै ७.११ प्रतिशत पुगेको छ।

विशेष गरेर घ्यू तथा तेल, दाल, गेडागुडीलगायत किराना सामाना, शिक्षा, यातायात र सुर्तीजन्य वस्तुको मूल्य अत्यधिक बढेको छ। केही सामग्रीमा स्वभाविक रूपमै मूल्यवृद्धि भए पनि केहीमा व्यापारीहरूले आफूखुशी मुल्यवृद्धि गरिरहेका छन्।

केही दिनयता घ्यू तथा तेलको मूल्य अत्यधिक बढेको छ। यी वस्तुमा गत वर्षकाे तुलनामा २८.५२ प्रतिशतले वृद्धि भएको तथ्याङ्क राष्ट्र बैंकले सार्वजनिक गरेकाे छ। त्यस्तैगरी यातायातको १६.२५ प्रतिशत, दाल तथा गेडागुडी ११.७९ प्रतिशत, शिक्षामा ११.७८ प्रतिशत र सुर्तीजन्य वस्तुमा ११.७४ प्रतिशत मूल्य बढेको छ।

अन्तर्राष्ट्रियस्तरमा केही मात्रामा मूल्यवृद्धि भए पनि नेपालमा भने विनामापदण्ड अस्वाभाविक रूपमा मुल्यवृद्धि भएकाे भन्दै जनविराेधका आवाजहरू उठ्ने गरेका छन्।

हालकाे महंगीले सामान्य नागरिकलाई दैनिक खर्च चलाउन समेत कठिन हुन थालेका छ। बजारकाे अवस्था र अन्य देशकाे तुलनामा नेपालकाे मूल्यवृद्धि अस्वाभाविक भएकाे उपभाेक्ता अधिकारकर्मीहरूले बताएका छन्।

थेग्दै नसकिने गरी मूल्यवृद्धि भएकाे जनगुनासाे

अन्य देशकाे तुलनामा नेपालमा पनि मूल्यवृद्धि हुनु सामान्य भए पनि अस्वाभाविक रूपमा मूल्यवृद्धि नभएकाे वाणिज्य, आपूर्ति तथा उपभाेक्ता संरक्षण विभागले जनाएकाे छ। ठूलाे मात्रामा मूल्यवृद्धि नभएकाे बरू हल्लैहल्लामा कालाेबजारी भएकाे हुनसक्ने विभागकाे ठहर छ।

‘अहिले तेल, चिनी, दाललगायत सामानमा सामान्य मूल्य बढेकाे अवस्था छ, जुन कुरा हामीले पनि महसुस गरेका छाैँ। तर, बजारमा हल्ला भएकाेजस्ताे अस्वाभाविक मूल्यवृद्धि भएकाे जस्ताे लाग्दैन,’ विभागका प्रवक्ता हरि पंगेनीले बिएल नेपाली सेवासँग भने।

हालकाे बजारमा दुई/तीन वटा कारणले मूल्यवृद्धि भएकाे उनकाे बुझाइ छ। नेपालमा सामानहरू उत्पादन कम हुने र विदेशबाट आयत गर्नु पर्दा मूल्यवृद्धि भएकाे उनी बताउँछन्।

‘नेपालमा उत्पादन छैन, त्यसकारण बढी आयत हुन्छ। याे आर्थिक वर्षकाे माघसम्म मात्रै ११ खर्ब ५० अर्ब जतिकाे आयत भएकाे छ। जसमा निर्यातकाे अवस्था नगन्य छ भने अन्तर्राष्ट्रिय बजारमा पेट्राेलियम पदार्थकाे मूल्य बढेकाे छ। त्यसले उत्पादनमा प्रभाव पार्ने नै भयाे। त्यहीअनुसार अन्य सामानमा केही न केही मूल्य बढ्न सक्छ,’ उनी भन्छन्।

त्यस्तै नेपाली बजार हल्लैहल्लामा चल्ने गरेकाे पाइन्छ। अहिलेकाे मूल्यवृद्धिमा पनि साेही कुराले प्रभाव पारेकाे पाइएकाे छ। विशेष गरी केही सामानमा मूल्य बढ्दा त्यही हल्लाले अन्य सामानमा पनि व्यापारीहरूले आफूखुसी मूल्य बढाउने गरेकाे छन्। युक्रेन–रूस युद्धले बजारमा सामानकाे अभाव भएकाे भन्ने हल्ला चलेकाेले पनि मानिसहरूले त्यहीअनुसार सामान खरिद गर्दा मूल्यवृद्धि भएकाे देखिन्छ। तर, युक्रेन युद्धकाे प्रभाव अहिल्यै नेपालमा नपर्ने पंगेनी बताउँछन्।

‘युक्रेन–रूस युद्धले सामानकाे मूल्य बढ्याे भन्ने सन्दर्भ ठिक हाेइन। युक्रेनबाट नेपालीमा सामान आउन एक महिना लाग्छ। त्यसैले यदि मूल्यवृद्धि भए पनि ती सामान एक/दुई महिनापछि मात्रै नेपाली बजारमा आउनुपर्ने हाे,’ पंगेनीले भने, ‘तर, हल्लाकाे भरमा कसैले त्यसरी सामानहरूकाे मूल्यवृद्धि गरिरहेकाे छ भने त्यस्ताेलाई हामीले बजार अनुगमनबाट कारबाही गरिरहेका छाैँ।’

सरकार माैन बस्दा जनता मर्कामा

पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि र डलरकाे भाउ बढ्दा नेपालमा असर परेकाे बताइए पनि सरकारकाे लापरवाहीका कारण अस्वाभाविक मूल्यवृद्धि भएकाे छ। केही सामानमा थाेरै मात्रामा मूल्यवृद्धि भए पनि त्यसैलाई बहाना बनाएर व्यापारीले कालाेबजारी गरेका पाइएकाे छ।

कतिसम्म भने आत्मनिर्भर भनिएका अण्डा र मासुमा पनि मूल्यवृद्धि भएकाे पाइएकाे हाे। यसरी हल्ला नै हल्लाकाे भरमा व्यापारीले उपभाेक्तालाई ठगिरहँदा पनि सरकार माैन बसेकाे छ।

मूल्यवृद्धि नियन्त्रण तथा बजार अनुगमनकाे लागि विभिन्न संस्थाहरू भए पनि उनीहरूले जनताले प्रत्यक्ष अनुभूति गर्न सकिने गरी काम भने गर्न सकेकाे छैन। उद्याेग वाणिज्य तथा आपूर्ति मन्त्रालय भने लामाे समयदेखि खाली छ। यसरी सरकारले राम्राे नीति बनाउन नसक्दा र अनुगमनकाे कमीकाे कारण उपभाेक्ता मर्कामा परेका छन्।

प्रकाशित मिति: : 2022-03-14 20:07:00

प्रतिकृया दिनुहोस्