दुबई विमानस्थलमा अलपत्र परेका २६३ नेपाली कामदारलाई आज उद्दार गरिदैं

सुवास शर्मा

दुबई (युएई)

गत मंगलबार देश फर्किन लगेजसहित दुबईको अन्तर्राष्ट्रिय विमानस्थल पुगेर पनि फर्किन बाध्य भएका २ सय ६२ नेपालीलाई नेपाल वायुसेवाले आज आइतबार उद्धार गर्दैछ। 

युनाटेड अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाललाई कोरोनाको संकटका बीच उद्दार गर्न नेपाली वायुसेवा निगमको विमान गत अगस्ट १८ मा यहाँ आएको थियो।

 तर, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गत सोमबार अचानक सबै चार्टर्ड उडान रद्द गर्ने निर्णय गरेपछि नेपाल फर्किन इच्छुक नेपालीलाई विमानस्थलमै छोडेर खाली विमान काठमाडौं फर्किएको थियो। 

सीसीएमसीले नेपालमा कोरोनाको संक्रमण बढिरहेको तथा विदेशबाट फकिैनेका लागि आवश्यक क्वारेन्टाइनको व्यवस्था नभएको भन्दै सरकारलाई उडान रद्द गर्न सिफारिस गरेको थियो। 

अहिले गैरआवासिय नेपाली संघको युएई शाखाको पहलमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरू फर्किन लागेका हुन्। 

अहिले नेपालीलाई दुबई विमानस्थलमा पुर्‍याउन र कोरोनाको ‘आरडिटी’ टेस्टका लागि एनआरएन युएईका निराजन श्रेष्ठले यातायात व्यवस्थापनको काम गरिरहेका छन्। यस्तै, संस्थाका उपाध्यक्ष पासाङ शेर्पासहितको टोली पनि गत साता विमानस्थलबाट फर्किनु परेको नेपाली कामदारहरूलाई देशमा फर्काउने काममा जुटेको छ। 

दुबईमा अझैं तीन महिलासहित ‘फ्लेक्स’ कम्पनीमा कार्यरत १७ जना नेपाली, केही समयअघि बीबीसी समाचार एजेन्सीमा भाइरल बनेका दुई नेपालीसहित कूल २३ जना ‘एनआरएन युएई’ को संरक्षणमा रहेका छन्। 

यसअघि उडान रद्द हुँदा चितवनका बासुदेब चौलागाईँ, उदयपुरका नरमान राई, बाराका गणेश ढुंगाना, रुपन्देहीका उमाकान्त पाण्डे, कञ्चनपुरका लक्ष्मण चौधरी, रोल्पाका विशाल घर्तीमगर र बाँकेका शशी रोकासँगै दर्जनौं नेपाली दुबई विमानस्थलमा अलपत्र परेका थिए।

प्रकाशित मिति: : 2020-08-23 16:30:26

प्रतिकृया दिनुहोस्