राष्ट्रियसभा निर्वाचन

सुदूरपश्चिममा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका तीन जना नै विजयी

File Photo
File Photo

राष्ट्रियसभा सदस्यका लागि सुदूरपश्चिममा भएको निर्वाचनमा  गठनबन्धन समूहबाट उम्मेदवारी दिएका तीन जना नै विजयी भएका छन्।

गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका दलित तर्फका उम्मेदवार  जगत पार्की, गरिमा शाह र नारायणदत्त मिश्र निर्वाचित भएका हुन्। दलित तर्फ गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत पार्कीले १०५ मतभार ल्याएर निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले ७९ मतभार मात्र प्राप्त गरेका छन्। दलित तर्फका तीन मत बदर भएका थिए। 

यसैगरी महिला सदस्य तर्फ कैलालीकी गरिमा शाह विजयी भएकी छन्। नेकपा एकिकृत समाजवादीका तर्फबाट उम्मेदवारी दिएकी शाहले प्रदेशसभातर्फ एक हजार ८७२ मतभार र स्थानीय तहतर्फ एक हजार ९६२ मतभार पाएर निर्वाचित भएकी हुन्।

उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ एक हजार १५२ मतभार प्राप्त गरेकी छन्। विजयी शाह नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन्।

यसैगरी राष्ट्रियसभाको खुला सदस्य तर्फ कैलालीका नारायणदत्त मिश्र विजयी भएका छन्। कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका मिश्र १४३ मतभार ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार डोटीका डिल्लीराज भट्टले ८२ मतभार प्राप्त गरेका छन्।

यस्तै दुई मत बदर भएको निर्वाचन कार्यालय प्रमुख प्रेमदत्त भट्टले बताए। मतदानमा ५२ प्रदेशसभा सदस्य र १७५ स्थानीय तहका जनप्रतिनिधिसहित २ सय २७ मतदाता सहभागी भएका भट्टले बताए। सुदूरपश्चिम राष्ट्रिय सभाकाे तीन सदस्यका लागि बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजे सम्पन्न भएको थियो। 

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो। 

प्रकाशित मिति: : 2022-01-26 17:37:00

प्रतिकृया दिनुहोस्