लेस्टरका डिफेन्डर बेन चेल्सीमा

लण्डन क्लब चेल्सीले डिफेन्डर बेन चिलवेकलाई अनुबन्धन गरेकाे छ।

लेस्टर सिटीका २३ वर्षिया डिफेन्डर चिलवेकलाई ५० मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको हो। इङ्लिस डिफेन्डरले हप्ताको १ लाख ९० हजार पाउण्ड तलब पाउने शर्तसहित ५ बर्षका लागि चेल्सीसँग सम्झौता गरेका छन्।

चिलवेक अनुबन्धनलाई लाम्पार्डले प्राथमिकतामा राखेका थिए। उनलाई म्यान्चेष्टर सिटीले समेत अनुबन्धन गर्न चाहेको थियो।

‘क्लबका लागि यस रोमाञ्चक समयमा जोडिन पाउँदा खुसी छु। फ्रान्क लाम्पार्डको नेतृत्वमा यस युवा र प्रतिभाशाली टिमको हिस्सा बन्नका लागि उत्सुक थिए,’ चिलवेकले भने।

‘म प्रतिक्षा गर्ने अवस्थामा छैन। आशा छ, स्टामफोर्ड ब्रिजमा चेल्सीका प्रशंसक समक्ष खेल्नु अघि यो धेरै लामो हुने छैन, हामी अर्को सिजन यस सम्मानका लागि चुनौती दिनेछौं,’ चिलवेकले थपे।

चिलवेकले लेस्टरमा ११ वर्ष बिताएका थिए। उनले सन् २००९ मा लेस्टर सिटीमा आबद्ध भएका थिए। उनले लेस्टरका लागि १ सय २३ खेलमा ४ गोल समेत गरेका छन्।

दुई पटकको सरुवा बजारमा प्रतिबन्ध भोगेको चेल्सीले यस समर ट्रान्सफरमा मनग्य पैसा खर्च गर्ने संकेत गरेको छ।

चेल्सीले यसअघि टिमो वार्नर र हाकिम जियाचलाई क्लबमा अनुबन्धन गरिसकेको छ। चेल्सी बायर लिभरकुसनका फरवार्ड काई हाभर्ट्ज र अनुभवी डिफेन्डर थियागो सिल्भा अनुबन्धनको नजिक छ।

‘बेनले आफ्नो छोटो उमेरमा प्रिमियर लिग, च्याम्पियन्स लिग र अन्तराष्ट्रिय स्तरमा खेल्ने शीर्ष स्तरको अनुभव प्राप्त गरेका छन्। उनलाई आउने सिजनका लागि अनुबन्धन पुरा गर्न पाउँदा निकै खुसी छौं,’ चेल्सीकी निर्देशक मरिना ग्रानोब्सकियाले भनिन्।

गत सिजन चेल्सीले चौथो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो। लाम्पार्ड शीर्ष स्थानको लिभरपुल र दोस्रो स्थानको म्यान्चेष्टर सिटीसFग दुरी कम गर्न खेलाडी सरुवा बजारमा निकै जोड दिएका छन्।

प्रकाशित मिति: : 2020-08-27 05:23:39

प्रतिकृया दिनुहोस्