१६ औं पटक आर्सनलले जित्याे कम्युनिटी शिल्ड

इंग्लिस सिजनको सुरुवातको रुपमा लिइने कम्युनिटी शिल्ड फुटबलको उपाधि १६ औं पटक आर्सनलले जितेको छ।

वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा लिभरपुललाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले हराउँदै आर्सनलले उपाधि जितेको हो।

खेलको निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउट गएको थियो।

दुवै टोलीका खेलाडीले सुरुवाती दुई पेनाल्टीमा गल्ति गरेनन्। लिभरपुलका हमद सलाह, फाबिन्हो, ताकुमी मिनामिनो र कुर्टिस जोन्सले गोल गर्दा आर्सनलका रेइस नेल्सन, एन्सले मेटल्यान्ड नाइल्स, सेड्रिक सोएरस, डेभिड लुइज र पेरिक एम्रिक आबुमियाङले गोलरक्षकलाई बिट गरे।

तर, युवा खेलाडी रिहन ब्रेउस्टरको प्रहार क्रस बारमा लागेर फर्किएको थियो।

पेनाल्टी अघि सुरुवाती अग्रता आर्सनलले बनाएको थियो।

आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो। औबामेयाङले खेलको १२ औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए। उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाउने कुनै अवसर पाएनन्।

तर, खेलको ७३ औं मिनेटमा मिनामिनोले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काएका थिए।

वैकल्पिक खेलाडी ताकुमी मिनामिनोले पेनाल्टी क्षेत्रभित्र आर्सनलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए। 

प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको फाइनलमा खेल्ने गर्छन।

लिभरपुल प्रिमियर लिग विजेता हो। लिभरपुलले ३० वर्षपछि लिगको उपाधि जितेको थियो।

आर्सनलले एफए कप जितेको थियो। आर्सनलले कीर्तिमानी १४ औं पटक एफए कपको उपाधि जितेको थियो।

प्रकाशित मिति: : 2020-08-30 06:43:25

प्रतिकृया दिनुहोस्