नवरात्री महिमा

दशैंको नवौं दिन– कुमारीहरूकाे पूजन

देवी भागवतले निर्दिष्ट गरे अनुसार नवरात्र व्रत देवीपूजन, हवन, कुमारी पूजन तथा ब्राह्मण–भोजनपछि नै दुर्गाभवतीको पूजा सम्पूर्ण हुन्छ–पूजाभिश्चैव होमैश्च कुमारी पूजनैस्तथा।

सम्पूर्णं तद् प्रोक्तं विप्राणां चैव भोजनैः।। (श्रीमद्देवीभागवत, तृ.स्क.।२७।१४) नवौँ दिन सर्वप्रथम कुमारीहरुको पूजन तथा भोजनपछि मात्र व्रतको पूर्णाहुती गरिने परम्परा चलिआएको छ। अरोगिणी सुरुपाङ्गी सुन्दरीं व्रणवर्जिताम्। एकवंशसमुद्भूतां कन्यां सम्यक्प्रपूजयेत।। (श्रीमद्देवीभागवत, तृ.स्क.।२७।३) अर्थात् निरोगीनी, रुपवान अङ्ग भएकी, सौन्दर्यमयी, व्रणरहित तथा एक वंशमा उत्पन्न नैं कुमारीको विधिवत् पूजा गर्ने शास्त्रमत रहेको छ। समस्त कार्यहरुको सिद्धिको लागि ब्राह्मणकी कन्या, विजय प्राप्तिको कामनाको लागि राजवंशमा उत्पन्न कन्या, तथा धन–लाभको कामनाको लागि वैश्य वा शुद्रवंशमा उत्पन्न कन्या पूजनयोग्य मानिएको छ। हीनाङ्गी वर्जयेत्कन्यां कुष्टयुक्तां व्रणाड्ढिताम्। गन्धस्फुरितहीनाङ्गी कन्यां विशालकुल सम्भवाम।। जात्यन्धां केकरां काणीं कुरुपां बहुरोमशाम। सन्त्यजेद्रोगिणीं कन्यां रक्तपुष्पादिनाड्ढिताम्।। (श्रीमद्देवीभागवत, तृ.स्क.।२७।१, २ ) अर्थात् कुनै अङ्गहीन भएकी कन्या, कुष्ट अथवा घाउ भएकी, गन्हाउने जीउ भएकी,जन्मैदेखि अन्धी, वक्रदृष्टि भएकी, कानी, कुरुप, जीउमा धेरै रौं भएकी, रोगी तथा रजस्वाला कन्या विशाल कुलमा जन्एिको भए पनि पूजामा परित्याग गर्नु पर्दछ।

पूजाविधिमा एक वर्षकी कन्यालाई लिनु हुँदैन किनकी ती कन्या गन्ध तथा स्वादले अनभिज्ञ रहन्छिन। दुई वर्षदेखि माथिको कन्यालाई मात्र कुमारी भनिन्छ। तीन वर्षकी कन्या त्रिमूर्ति, चार वर्षकी कन्या कल्याणी, पांच वर्षकी कन्या रोहिणी, छ वर्षकी कन्या कालिका,सात वर्षकी कन्या चण्डिका, आठ वर्षकी कन्या शाम्भवी, नौँ वर्षकी कन्या दुर्गा, तथा दश वर्षकी कन्या सुभद्रा नामले पूजित हुन्छन। यस बाहेकका उमेर भएकी कन्याको कुमारीको रुपमा पूजन गर्न शास्त्रमा वर्जित रहेको छ।

कुमारी संज्ञक कन्याको पूजन दुःख, शत्रु तथा दरिद्रता को नाशकोलागि र धन, आयु बलको वृद्धिको लागि गरिन्छ। त्रिमूर्ती नामक कन्याको पूजन धर्म–अर्थ–कामको पूर्ति तथा पुत्र पौत्रको वृद्धिको लागि गरिन्छ। विद्या, विजय तथा राज्यसुख प्राप्ति गर्नको लागि कल्याणी नामक कन्याको पूजन गरिन्छ। शत्रुनाशको लागि कालिका नामक कन्याको पूजन गरिन्छ। प्रचुरधन तथा ऐश्वर्य प्राप्तिको लागि चण्डिका नामक कन्याको पूजा गरिन्छ। सम्मोहन, दुःख दारिद्र्यकाे नाश तथा संग्राममा विजय पाउनको लागि शाम्भवी नामक कन्याको पूजा गरिन्छ। क्रूर शत्रुको विनाश एवं उग्रकर्म साधनामा सिद्धि पाउनको लागि तथा दुर्गा नामक कन्याको पूजन गरिन्छ। मनोरथ सिद्धिको लागि सुभद्रा नामक कन्याको तथा रोगनाशको लागि रोहिणी नामक कन्याको पूजन अर्चन गर्ने निर्देशन शास्त्रले गरेको पाइन्छ।

कुमारी पूजामा पूजालायककी कन्यालाई वरण गरेर श्रद्धा तथा भक्तिपूर्वक विधि अनुसारले पूजा गरेर उसलाई पक्वान्न तथा फलफूल ख्वाउनु तथा दक्षिणा दिनु पर्दछ। ती कन्याहरुको पूजा गर्ने बेला प्रत्येक कुमारीको लागि भिन्दा भिन्दैमन्त्रहरु पनि रहेको छ। कुमारी नामक कन्यापूजनको लागि मन्त्र यसप्रकार छ–कुमारस्य च तत्त्वानि या सृजत्यपि लीलया। कादीनपि च देवांस्तां कुमारी पूजयाम्यहम्।। त्रिमूर्ती नामक कन्यापूजनको लागि मन्त्र यस प्रकार छ–सत्त्वादिभिस्त्रिमूर्तिर्या तैर्हि नानास्वरुपिणी। त्रिकालव्यापिनी शक्तिस्त्रिमूर्तिं पूजयाम्यहम्।। कल्याणी नामक कन्यापूजनको लागि मन्त्र यसप्रकार छ–कल्याणकारिणीं नित्यं भक्तानां पूजितानिशम्। पूजयामि च तां भक्त्या कल्याणीं सर्वकामदाम्।। रोहिणी नामक कन्यापूजनको लागि मन्त्र यसप्रकार छ–रोहयन्ती च बीजानि प्राग्जन्मसञ्चितानि वै। या देवी सर्व भूतानां रोहिणीमं पूजयाम्यहम्।।  कालिका नामक कन्यापूजनको लागि मन्त्र यसप्रकार छ–काली कालयते सर्वं ब्रह्माण्डं सचराचरम्। कल्पान्तसमये या तां कालिकां पूजाम्यहम्।। चण्डिका नामक कन्यापूजनको लागि मन्त्र यसप्रकार छ– चण्डिकां चण्डरुपाञ्च–चण्डमुण्डविनाशिनीम्। तां चण्डपापहारिणी चण्डिका पूजाम्यहम्।। शाम्भवी नामक कन्यापूजनको लागि मन्त्र यसप्रकार छ–अकारणात्समुत्पत्तिर्यन्मयैः परिकीर्तिता। यस्यास्तां सुखदां देवीं शाम्भवीं पूजयाम्यहम्।। दुर्गा नामक कन्यापूजनको लागि मन्त्र यसप्रकार छ–दुर्गात्त्रायति भक्तं या सदा दुर्गार्तिनाशिनी। दुज्र्ञेया सर्वदेवानां तां दुर्गा पूजयाम्यहम्।। सुभद्रा नामक कन्यापूजनको लागि मन्त्र यसप्रकार छ–सुभद्राणि च भक्तानां कुरुते पूजिता सदा। अभद्रनाशिनीं देवीं सुभद्रां पूजयाम्यहम।। भगवती माताको रुपमा कुमारीहरुको पूजन गर्दा  उनिहरुलाई गच्छे अनुसार वस्त्र, भूषण, माला, गन्ध आदि श्रेष्ठ उपचारहरुका साथमा यी मन्त्रहरुले कन्याहरुको पूजन गरिन्छ।

कुमारी पूजन र भोजनपछि पूर्णाहुती गर्ने धार्मिक परम्परा छ। सो परम्परा अनुसार नवमी कै दिन पूर्णाहुती गरेर दुर्गा भगवतीको विदाइ हुँदैछ। पूर्णाहुतीको विधि पनि अत्यन्त कठीन हुन्छ यसमा हवन सामग्री ‘शाकल्य’को हवन दुर्गा सप्तशतीको प्रत्येक श्लोकको उच्चारणका साथ ‘स्वाहा’ भन्दै पवित्र आगोमा हवन गरिन्छ। हवनपछि दशमांस मार्जन तथा दशमांस तर्पण गरी अन्त्यमा अग्निभोजन दिएर पानीवाल नारियल अर्पण गरी पूर्णाहुती गरिन्छ।

प्रकाशित मिति: : 2022-10-04 06:21:00

प्रतिकृया दिनुहोस्