आइरिस ब्याट्सम्यान केभिनको अर्को चर्चित छक्का

आयरल्याण्डका ब्याट्सम्यान केभिन ओ ब्रायनलाई नचिन्ने सायदै कोही होलान, क्रिकेट प्रेमि। उनी क्रिकेट मैदानमा लामो छक्का प्रहार गर्न चर्चित छन्। 

तर, आफ्नो यही परिचयका कारण उनले केही ठाउँमा घाटा पनि सहनुपरेको छ। आयरल्याण्डको डबलिनमा हालै भएको इन्टर–प्रोभिन्सियल टि–२० ट्रफीमा यस्तै एउटा लामो छक्का प्रहार गर्ने क्रममा केभिनले ठूलो घाटा बेहोर्नुपर्‍याे।

लामो छक्का प्रहार गर्दा स्टेडियमभन्दा बाहिर पार्किङ गरेको उनको कारणको सिसा बलले लागेर फुटेको थियो। गत महिना यही मैदानमा अभ्यास गर्ने क्रममा एउटा लामो प्रहार उनको कारणको ढोकामा गएर बजारिएको थियो। जसका कारण उनले पुनः डेन्ट गर्नुपरेको थियो। 

केभिन विश्व कपमा सबैभन्दा छिटो सतक बनाउने ब्याट्सम्यान हुन्। उनले २०११ मा भारतमा आयोजना भएको विश्व कपमा इंग्ल्याण्डविरूद्ध ५० बलमा सतक पुरा गरेका थिए। 

उनले त्यो खेलमा ६३ बलमा १ सय १३ रन बनाएका थिए। यसमा उनले १३ चौका र ६ छक्का प्रहार गरेका थिए। उनको यही इनिङका कारण इंग्ल्याण्ड पराजित भएको थियो। 

केभिन डबलिनमा पेम्बोक क्रिकेट क्लबको मैदानमा बिहीबार टि–२० लिग खेलिरहेका थिए। लिस्टर लाइटनिङ र नर्थ वेस्ट वारयर्सबीचको खेल बर्षाका कारण १२ ओभर मात्र भएको थियो। 

लिस्टरबाट प्रतिनिधित्व गरेका केभिनले ३७ बलमा ८२ रन बनाए। उनले २५ बलमै ५० रन बनाएका थिए। उनले ८ छक्का र ३ चौका प्रहार गरेका थिए। उनको यही इनिङका कारण लिस्टरर डकवर्थ लुइस नियमको आधारमा २४ रनले विजयी भयो। 

यही खेलमा उनको एउटा छक्का स्टेडियम बाहिर गएको थियो। क्रिकेट आयरल्याण्डले उनको गाडीको फोटो सेयर गरेको छ। जसमा उनको कारको सिसा फुटेको देखिन्छ। 

खेल समाप्त भएपछि उनले कारको सिसा बनाउन ग्यारेज लगेका थिए। पछि उनले वक्तब्य दिए, अर्को पल्ट कार अझै टाढा राख्नेछु।

प्रकाशित मिति: : 2020-08-30 08:23:52

प्रतिकृया दिनुहोस्