डा. केसीलाई प्रतिष्ठानको फार्मेसी जान अवरोध, भिसी भन्छन् यो कुरा बाहिर नल्याउँ, निर्देशक भन्छन्-मैले आदेश दिएकै छैन

कोरोना महामारी सुरू भएदेखि नै डा. गोविन्द केसी कर्णालीलगायत दुर्गम क्षेत्रका नागरिकको सेवा गर्न हिँडेका छन्। उनी अझै पनि विकट बस्तीका नागरिकको सेवा गर्ने तयारी गरिरहेका छन्।

यसैबीच विकट बस्तीमा सरकारले स्वास्थ्य सेवा नपुर्‍याएको र सर्वसाधारण नागरिक उपचार नपाई मर्नुपर्ने बाध्यता आइलागेको भन्दै सरकारसँग संर्घष गर्ने घोषणा गरेका उनले कोरोना महामारी व्याप्त भएसँगै आफ्नो अनशन स्थगित गरिसकेका छन्।

अनशन स्थगित भएसँगै उनी फेरि नागरिकको सेवामा जुटेका छन् र गाउँ गाउँ पुगिरहेका छन्।

विकट बस्तीका जनताको सेवामा लालयित उनी पछिल्लो समय केन्द्र सरकार, स्थानीय सरकारदेखि प्रशासनको अवरोध भने मज्जैले खेपिरहेका छन्।

यसैबीच डोल्पाको जागदुल्ला गाउँपालिका- ६ मा डा. केसी पुगेको थाहा पाएपछि रिमीकी भगवतीकुमारी मल्ल आफ्नो समस्या लिएर उनीसँग भेट्न गइन्। वैशाख २५ गते बाटोमा चिप्लिएर खुट्टाको हड्डी भाँचिएकि उनलाई डा. केसीले सामान्य परामर्श गरेर रिपोर्ट हेरेपछि थप उपचार गर्ने आश्वासन दिएर घर पठाए। त्यसको केही बेरमै मल्लका श्रीमान् वडाध्यक्ष भक्तबहादुर बुढाथोकीले ‘माथिको आदेश’ भन्दै केसीलाई गाउँ छोडेर जान उर्दी जारी गरे।

 ‘गाउँपालिकाबाट अनुमति नलिएको थाहा पाएपछि हामीले शिविर सञ्चालन गर्न दिएनौं। अध्यक्षज्यू (नरासिंह रोकाया) ले भनेपछि हामीले मान्नैपर्‍यो,’ उनले भने,  ‘उहाँले मेरो मेरो श्रीमतिलाई पहिले जाँच गरेका कागजपत्र हेर्नुभयो। सरसल्लाह पनि राम्रै दिनुभयो। तर उपचार गर्न अनुमति लिनुभएको रहेनछ।’

यद्यपी उनले कसको अनुमति लिएर सेवा गर्नुपर्ने हो भन्ने खुलाएनन्।

स्वायत्तता र विकेन्द्रीकरणको सिद्धान्त अनुसार डा. केसीलाई स्वयंसेवा गर्न माथिको आदेश भन्दै रोक लगाउनु गैर मानवीय भएको बताउँछन्, अभियानता महेन्द्र कार्की। ‘स्थानीय तह आफैं सरकार हो,’ उनले भने, ‘गाउँका जनताको सेवा गर्न घर आँगनमा विशेषज्ञ डाक्टर पुगेको बेला माथिको आदेश भन्दै अवरोध गर्नु जनतालाई उपचारबाट बञ्चित गर्ने प्रपञ्च हो।’

कतिपय ठाउँमा डाक्टर गोविन्द केसीलाई भगवान् आएर उपचार गरिएको भनिए पनि उनीमाथि राजनीतिक पूर्वाग्रह राखेर स्वयंसेवामा पनि अवरोध गर्ने शिलशिला जारी छ।

अघिल्लो हप्ताको शुक्रबार जुम्लाको गुठीचौर गाउँपालिकामा विशेषज्ञ स्वास्थ्य सेवा दिन गएका डा. गोविन्द केसीलाई ‘माथिको आदेश’ भन्दै बिरामी जाँच्न रोक लगाइयो। सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा दिन गुठीचौर पुगेका उनलाई स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले ‘माथिको आदेश’ भन्दै बिरामीको उपचार गर्न दिएनन्। तर उनको सेवालाई अवरोध गर्दा सर्वसाधारणको उपचार पाउने हक मात्र खोसिएको छैन, चिकित्सक स्वयंको पेसा अभ्यासको स्वतन्त्रतासमेत खोसिएको छ। डा. केसी भन्छन्, ‘अहिले स्वास्थ्य सेवा नेता/कार्यकर्ताको घेराबन्दीमा छ।’ 

उनका अनुसार नेपालको स्वास्थ्य सेवामा राजनीति र यसको दबाब नराम्ररी घुसेको छ। त्यस्तो राजनीतिले स्वास्थ्य सेवालाई नराम्ररी खल्बल्याएको छ। यसको मारमा सर्वसाधारण परेका छन्। गुणस्तरीय सेवा परै जाओस्, आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित छन्, नागरिकहरु।

कर्णाली जस्ता विकटका सर्वसाधारण नागरिक सामान्य उपचारका लागिसमेत हजारौ खर्चिएर नेपालगन्ज वा काठमाडौं धाउनुपर्ने बाध्यता अझै हट्न सकेको छैन। यस्तो अवस्थामा डा. केसी जस्ता विशेषज्ञ डाक्टरको सेवा आफ्नै घरदैलोमा पाउनु कर्णालीबासीको ठूलो सौभाग्य हो। यसमा समेत सरकारी निकाय/राजनीतिकर्मीले तगारो खडा गरेर सर्वसाधारणलाई उपचार पाउने हकबाट बञ्चित गर्ने काम भइरहेको छ। उनीमाथि यस्तै हर्क गर्‍यो, गुठीचौर गाउँपालिकाले।

तर गाउँपालिका भने उपचार गर्न बन्देज नलगाएको बरू निषेधाज्ञा जारी रहेकाले त्यसको पालनामा जोड दिएको भनी प्रष्टीकरण दिएको छ। राम्रो चिकित्सक आउँदा बिरामीको घुइँचो हुने र त्यस्तोमा महामारीको संक्रमण फैलिने खतरा हुँदा तत्कालका लागि रोकिएको भन्ने खालको तर्क गाउँपालिकाका अधिकारीले  दिए पनि यो पत्यारलाग्दो छैन। केसी आफैंले पनि महामारीमा प्रयोग गरिने सबै प्रोटोकलको अनुशरण गरेर उपचार गर्ने बताउँदा पनि जसरी उपचार प्रक्रियामा रोक लगाइयो। त्यसले पनि गाउँपालिकाको तर्कलाई थप फिक्का बनाइदियो।

त्यसको ठिक ४ दिनअघि पातारासी गाउँपालिकाको उर्थु स्वास्थ्य चौकीमा भने गाउँपालिकाकी उपाध्यक्ष पुन्नकली महताराको उपचार भयो। त्यहाँ तीन दिनसम्म शिविर चलाएका डा. केसीले २ सय ५० जनाको स्वास्थ्य जाँच गरेका थिए। हात र कम्मर दुख्ने समस्या बोकेर डा. केसीलाई भेटेकि महतारा भन्छिन्, ‘उहाँले राम्रो सल्लाह दिनुभयो, थप उपचारको लागि खलंगा (कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा पठाउनुभयो।’

तर स्थानीय प्रशासनदेखि सत्ताधारी पार्टीका कार्यकर्ताहरु डा. केसीलाई अवरोध गर्न हात धोएर लागेका छन्।

यसैबीच शुक्रबार बिहानै औषधि किन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी जान हिँडेका उनलाई अस्पतालका गार्डले ‘अस्पताल निर्देशक डा. मंगल रावलले तपाईँलाई भित्र पस्न नदिनू भन्नुभएको छ’ भन्दै भित्र जान दिएनन्।

डा. केसीले बिहिबार विषम परिस्थितिलाई मध्यनजर गर्दै अनशन स्थगित गरेपछि सिँजामा स्वास्थ शिविर सञ्चालन गर्ने तयारी गरिरहेका थिए। ‘म बिहान औषधि किन्न अस्पताल गएको थिएँ। गार्डले रोके,’ उनले भने, ‘गार्डले अरुलाई जान दिएका थिए। मैले म डाक्टर हुँ किन जान नदिएको भन्दा म हजुरलाई चिन्छु। तर डाक्टर मंगलले हजुरलाई जान नदिनू भन्नुभएको छ भने। त्यसको केही समय बसेपछि म आफ्नो कोठा फर्किएँ।’

डा. केसीको औषधि बाहिर नपाउने र प्रतिष्ठानको फार्मेसीमा मात्र पाउने भएपछि लिन जाँदा गेटमै रोकिएको हो। ‘कोरोना संकटको कारण सबैको आग्रहमा सत्याग्रह रोकेपछि सिँजा क्षेत्रमा जाने योजना बनाएँ,’ उनले भने, ‘रित्तै जानुभन्दा बिरामीका लागि औषधि लग्नुपर्‍यो भनेको त भित्र छिर्नै दिएनन्।’

स्वयंसेवा गर्न खोज्दा पनि अवरोध गरिँदा आफू अचम्मित भएको उनले थपे।

तर अस्पताल निर्देशक डा. मंगल रावलले भने आफूले डा. केसीलाई रोक्न कुनै आदेश नदिएको बताए। ‘डा. केसी मेरो गुरू हुनुहुन्छ। मैले उहाँलाई रोक्ने कुरै आउँदैन। त्यसमाथि उहाँजस्तो आदरणीय मान्छेलाई रोक्ने मेरो मनसाय होइन,’ उनले भने, ‘उहाँ अस्पतालमा अनशन बस्ने सक्ने सम्भावना थियो। हिजो उहाँलाई मार्क गर्न ५०-६० जना सुरक्षकर्मी प्रतिष्ठानमा बसेका थिए। तर आज मैले रोक्न लगाएको होइन। ममाथि राजनीतिक प्रोपगाण्डा रचिए जस्तो लाग्छ।’

तर डा. केसीलाई रोकिएको सन्दर्भमा प्रतिष्ठानका पदाधिकारीको फरक फरक धारणा आएको छ।

रेक्टर डा. निरेश थापा यस विषयमा आफूले जानकारी नपाएको बताउँछन्। उनी भन्छन्, ‘मलाई थाहा छैन। सायद त्यस्तो भएन होला तर उहाँ जस्तो आदरणीय व्यक्तित्वलाई भित्र आउन नदिने कुरा हुँदैन।’

उक्त घटना थाहा पाएका प्रतिष्ठानका भिसी र रजिस्ट्रारको मत भने बाझिएको छ।

भिसी राजेन्द्रराज वाग्ले भने यो विषयलाई एक पटकको लागि भए पनि ‘सटडाउन’ गर्न अनुरोध गरिरहेका छन्। ‘मलाई जानकारी भयो। म त्यहाँ नभएकोले सबै बुझ्न पाएको छैन,’ उनले बिएल नेपाली सेवासँग कुरा गर्दै भने,’ ‘तर पनि यसलाई एक पटकको लागि सिकाइको रुपमा लिदै बाहिर नल्याउँ।’

रजिस्ट्रार विश्वराज काफ्ले यसमा मिस अन्डर्स्टान्डिङ् भएको बताउँछन्, ‘निर्देशकसँग मेरो कुरा भयो। हिजो डा. केसीलाई प्रतिष्ठानमा अनशन बस्न नदिने कुरा चलेको थियो होला सायद कसैबाट। त्यस्तो कुरा गार्डले सुनेको हुनाले आज पनि नदिने होला सोचेर उसले त्यस्तो भनेको हुन सक्ने भनेर मलाई निर्देशकले भन्नुभयो।’

प्रकाशित मिति: : 2020-09-04 17:00:00

प्रतिकृया दिनुहोस्