अस्ट्रेलियाली मुलका तीब्र बलर मिच क्लेडनले इंग्लिस काउन्टी क्रिकेटमा बल चमकाउन सेनिटाइजर प्रयोग गरेका छन्। यो कुरा गत महिनाको हो।
यसको छानवीन इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले गरिरहेको थियो। यो घटनामा क्लेडन दोषी सावित भएपछि ससेक्स क्रिकेट क्लबले प्रतिबन्ध लगाएको छ।
३७ वर्षीय ससेक्सका बलर क्लेडनमाथि गत महिना मिडलसेक्सविरूद्ध सेनिटाइजर प्रयोग गरेको आरोप लागेको थियो। उनले यस खेलमा तीन विकेट लिएका थिए। क्लेडनले सरेविरूद्ध अघिल्लो बब विलिज ट्रफीको खेल खेल्न पाउने छैनन्।
अन्तर्राष्ट्रिय क्रिकेट महासंघ (आइसीसी) ले यसअघि नै बलमा थुक प्रयोग गर्न प्रतिबन्ध लगाइसकेको छ। अहिले खेलाडीहरु पसिना प्रयोग गरिरहेका छन्। आइसीसीले थुकको सट्टा अन्य आर्टिफिसियल पदार्थको प्रयोगलाई स्विकृति दिएको छैन।
अस्ट्रेलियाली खेलाडीको हकमा उनीहरूले अनुहारमा आउने पसिनाले पनि बल चम्काउन पाउने छैनन्। क्रिकेट अस्ट्रेलियाले यसमा प्रतिबन्ध लगाएको छ। उनीहरूले इंग्ल्याण्डविरूद्ध हुने एकदिवसीय प्रतियोगितामा अनुहारको पसिनाले बल चम्काउन पाउने छैनन्।
गत महिना इंग्ल्याण्डका जोफ्रा आर्चर वेष्ट इन्डिजविरूद्धको शृंखलामा नियम तोडेको आरोपमा दण्डित भइसकेका छन्।