अत्तिस खेती सप्रियो, भारतमा काम गर्न जानु परेन

सिर्जनशील उद्यमी -२

कर्णालीबासीका भोगाई भेडाको उन कात्दा बुनेको डोरीजस्तै तेउडिएका छन्। कात्ने ताखुजस्तै हजारौं फन्का घुमेका छन्। राडीपाखीको धागो जस्तै जेलिएका छन्।

हरेक वर्ष कपालका रौं भन्दा बढी पैतालाले भोट मधेसको दुरी नाप्छछन्। कति ढाँड ढुंगा बिझ्छन्? कति खुट्टामा फोका उठ्छन्? यी हर हिसाब राख्ने क्याल्कुलेटर आविस्कार गर्न विज्ञानले थप मेहनत गर्नु पर्ला।

जसरी संसारभरका धावकहरु दौडिन्छन्, त्यसरी नै कालापहाडका कुना कन्दरा चाहारेका छन्, कर्णालीबासीले। ती मध्येका एक हुन जुम्ला तिला गाउँपालिका–७ पोखरीका परबहादुर रोकाया।

तीन वर्ष अघिसम्म निरन्तर कालापहाड जानु खेत बारीमा बालीनाली लगाउनु जस्तै थियो। धार लगाउन खुकुरी घोटेजस्तै हिउँदभरी जिउ घोट्दा पनि मुस्किलले पचास हजार रुपैयाँसम्म कमाई हुँन्थ्यो। न त्यो कमाइले शरीरलाई सुद दिन्थ्यो, न मनले शान्ति पाउँथ्यो, न त परिवारलाई नै सन्तुष्ट पार्न सकिन्थ्यो। उल्टै ऋणको भारी बढेर पहाडको टुप्पोमा पुग्थ्यो।

तर अब काला पहाडको यात्रा मोडिको छ। कलापहाड कहिले जानु नपर्ने तयारी गरेका छन्। कालापहाडलाई सलह किराले झैं फेरि जनाने गरि छोडेर आएका छन्।

बारबार गइरहनुपर्ने काला पहाड अब उनका लागि नजाने गाउँको बाटो जस्तै भएको छ। जेनतेन जिन्दगी चलाउने कालापहाडलाई नजाने गाउँको बाटो बनाएपछि उनी गाउँमै व्यवसायिक रुपमा अत्तिस खेती गर्न थालेका छन्।जसले कालापहाडको यात्रा रोकिदियो।

‘अत्तिस खेतीले कालापहाड छुटायो। घरमै रोजगारीको अवसर सृजना गरेर आत्मनिर्भर हुन प्रोत्साहित गर्‍यो। हरेक वर्षमा आधा वर्ष जति छुट्टिएर बस्दा सहनु परेको पारिवारिक विछोडको पीडाले अझै पनि जिउमा काँडा उम्रिन्छन्। तर अहिले घरमै परिवार सँगै बसेर खेती गर्न समय मिलेको छ भने। आरामले जिन्दगी चलेको छ,’ उनको सिमारहित खुसी।

गाउँको धनिगाड भन्ने ठाउँमा एक हेक्टर जमिनमा गरिएको अत्तिस खेतीले उनको जीवन बदलेको हो। उनको परिवारसँग मिलन गराएको हो। चैनको निद्रा सुताएको हो। सँधै भोट मधेस गरेर खिया लागेका पैतालामा तेल लगाएको हो।

अत्तिसको बीउ र जरा बिक्री हुन्छ। त्यही बिक्री गरेर वार्षिक तीन देखि चार लाख रुपैयाँ आम्दानी भइरहेको छ। जुन कालापहाडको भन्दा झण्डै आठ गुणा बढी कमाई हो। ‘अत्तिस खेती गरेपछि घरमा पारिवारिक समृद्धि नै छाएको छ,’ उनले भने, ‘न बेच्नको लागि चिन्ता छ, न त खेतीपातीमा जस्तो बढी दु:ख। यो व्यवसाय निकै फाइदाजनक छ।’ 

अत्तिसको बीउ प्रतिकेजी ५० हजार रुपैयाँमा बिक्री हुन्छ भने जरा प्रतिकेजी एक हजार दुई सय रुपैयाँ सम्ममा बिक्री हुन्छ। जरा र बीउ खरिदका लागि व्यापारी घरमै पुग्छन्। गत वर्ष मात्रै उनले तीन केजी बीउ बेचे।

जंगलमा पाइने अत्तिस व्यवसायिक रुपमा खेती गर्न थालेपछि जीविकोपार्जनका लागि कसैसँग हारगुहार गर्नु नपरेको खुसी उनले बिएल नेपाली सेवासँग साँटे।

खेती गर्न निकै सजिलो यसमा रोग किरा लाग्दैनन्। आफै अैषधि भएपछि खासै समस्या भएन। खेतीको लागि धेरै झन्झट पनि छैन्। ‘जंगली जडिबुटीको संरक्षण पनि हुने र आयआर्जनमा समेत टेवा पुग्ने भएकोले व्यवसायीक रुपमा खेती गर्न थालेको हुँ,’ उनले भने, ‘यस्तो आरादायी व्यवसाय पाएपछि किन अरुको देशमा हेपाई खान जानू?’

उनी पोखरीका पहिलो जडिबुटी किसान हुन्। तर अब उनको सिको गरेर आम्दानी बढाउने र आत्मनिर्भरताको अभ्यास गर्नेहरु बढ्दैछन्। जडिबुटी खेतीबारे सुझाव सल्लाह लिनको लागि किसानहरु उनको घरमा पुग्छन्। तीमध्ये कसैले अत्तिस खेतीका बारेमा चासो राख्छन्। कसैले बीउ किनेर लैजान्छन्। कतिले अत्तिस संरक्षणको तरिकाबारे जानकारी लिन्छन्। जडिबुटीले जीवन बदलेको मात्र होइन सामाजिक प्रतिष्ठा पनि बढाएको छ। हाल गाउँमै उनी जडीबुटी मास्टर बनेका छन्।

गाउँकै मालिका सामुदायिक बनमा सामुहिक रुपमा अत्तिस खेती पनि गरिएको छ। त्यो बीउ उपलब्ध गराउने उनै हुन।

बिस्तारै उनी आफूले उत्पादनको मात्रा बढाउँदै गएका छन्। यसैलाई जिन्दगी जिउने मेसो मानेका उनी आउदा वर्षमा २० क्वीन्टल जरा उत्पादन गर्न तयारी गरिरहेका छन्। 

हाल उनका लागि सिचाइ र घेरबार नहुँदा समस्या छ तर बजार र मूल्यको कुनै समस्या छैन। ‘बजारको के समस्या भयो र, नपाक्दै बीउको किन्ने मान्छेहरु एड्भान्स दिन आइहाल्छन्,’ उनले भने, ‘अहिले त व्यापारी घरमै पुग्छन्। फोनबाट बीउको माग गर्छन्। जरा अर्डर गर्छन्।’

पाटनमा पनि प्रयाप्त अत्तिस पाइन्छ। तर नपाक्दै जरा निकाल्न थालेपछि लोप हुने सम्भावना बढेको छ। 

आकारमा मुटु जस्तो देखिने उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी अत्तिस, नेपालको हिमालय क्षेत्रमा ३२०० देखि ३७०० मिटरसम्मको उचाईमा बढी मात्रामा पाइन्छ। यो झाडी बुट्यान भएको र घाँसे मैदानमा पाइन्छ।

जरा संकलन गर्ने उपयुक्त समय भनेको फल पाकिसकेपछि कार्तिकदेखि मंसिरसम्मको समय हो। गानोलाई विभिन्न आकारमा तयार पारेर व्यापार गर्न सकिन्छ।

हल्का झुस भएको पात, गाढा निलो रंगको फूल र प्याजी रंगको नशाहरु हुने अत्तिस बाबू बाजेको पालादेखि नै घेरेलु औंषधीको रुपमा प्रयोगमा आएको देखिन्छ। प्राचीन आयुर्वेदिक शास्त्रको रुपमा रहेको चरक संहिता र सुश्रुत संहिताले यसको औषधि समेत हुने बताइएको छ। 

चरक संहिता र सुश्रुत संहिताका अनुसार कफ, पित्त थैलीको समस्या आदिमा अत्तिसले महत्वपूर्ण भूमिका खेल्ने गर्छ। यसको माध्यमबाट गरिने उपचार पद्धतिलाई अतिभिसा चिकित्सा पद्धतिको नामबाट चिनाउने गरिन्छ। यो चिकित्सा पद्धतिमा बच्चाहरुलाई आएको ज्वरो, वान्ता हुने, पखाला लाग्ने, कफ, चिसो लागेको जस्तो समस्या समाधानको लागि प्रयोग गर्न सकिने यी दुई संहितामा उल्लेख गरिएको छ।

यस बाहेक यो अपच हुने, शरीरको विभिन्न भागको दुखाई र शरीरको आन्तरिक समस्याहरु, उत्तेजना नहुने, उच्च रक्तचाप नियन्त्रण जस्ता समस्या समाधानको लागि पनि प्रयोग हुने गरेको छ।

यसको गानोलाई खोकी र ज्वरोमा आएमा निदानको लागि प्रयोग गरिन्छ। तागत र फुर्ति बढाउने औषधीको रुपमा पनि प्रयोग हुन्छ।

जंगलमा हुँदा गाईवस्तुको खानाको बनिरहेको अत्तिसबाट औंषधि बन्ने कुरा आम मान्छेलाई अझै पनि थाहा छैन। पाटनमा जताततै देखिने औंषधीय गुणयुक्त अत्तिसलाई धेरैले वास्ता गरिरहेका हुँदैनन्। तर अब व्यवसायिक रुपमा अघि बढ्न जनस्तरबाट खेती गर्ने र आम्दानीको दायरा बढाउने प्रयत्न भइरहेको छ।

जवानीको आधा बढी उर्जा कालापहाड बनाउन  खर्चिएका पदम बहादुर दिक्क भएर विदेश जाने सोचमा थिए। तर अत्तिस खेतीले विदेश जान रोकेको छ भने जीउमा उर्जा भरेको छ। गाउँमै केही गर्न सक्छु भन्ने जोस जाँगर पैदा गराएको छ।

सिर्जनशील उद्यमी -१- यार्सागुम्बा टिपेर महिनामा १३ लाख रूपियाँ कसले कमाउँछ? मैले कमाए सर! (भिडियो)

प्रकाशित मिति: : 2020-09-09 17:34:22

प्रतिकृया दिनुहोस्