जया बच्चनपछि बलिउडको ड्रग्स सिन्डिकेटको समर्थनमा हेमा मालिनी

बलिउडमा ड्रग्सको किनबेचलाई लिएर नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छानवीन सुरु गरेपछि बलिउड कलाकारहरू दुई भागमा विभाजित भएका छन्। 

बलिउडमा ड्रग्सको छानवीन गर्न नहुनेमा जहाँ जया बच्चन अडिग रहेकी छिन, त्यही कंगना रनौटले सबै कलाकारको डोपिङ हुनुपर्ने आवाज उठाएकी छिन्। 

कंगनाले ड्रग्स उपयोग गर्ने कलाकारलाई विज्ञापन गर्नबाट पनि रोक लगाउनुपर्ने आवाज उठाइरहेकी छिन। उनले युवापीढीको रोल मोडल एउटा ‘ड्रग एडिक्ट’ कलाकार कसरी बन्न सक्ने भन्दै केन्द्र सरकारले नीति नियममा सुधार गर्नुपर्ने आवाज उठाएकी थिइन्। 

उनको यो अभियानबाट रिसाएका बलिउडका अन्य कलाकार कंगनाविरूद्ध प्रतिकारमा उत्रिएका छन्। भोजपुरी स्टार रवि किशनले भारतीय सांसदमा बलिउडमा देखिएको ड्रग्स कारोवारलाई समाप्त पार्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने आवाज उठाएका थिए। 

तर, उनको मागलाई खारेज गर्दै बरिष्ठ अभिनेत्री तथा बलिउडका महानायक अमिताभ बच्चनकी श्रीमति जया बच्चनले ‘जुन थालमा खायो, त्यसैमा दुलो पारेको’ भन्दै जय किशन र कंगनाको विरोध गरेकी थिइन्। 
समाजवादी पार्टीबाट माथिल्लो सदनमा सांसद नियुक्त भएकी जयाको यो भनाई सार्वजनिक हुने वित्तिकै अन्य कलाकार जया बच्चनको समर्थनमा उत्रिएका छन्। जयाको समर्थन गर्नेमा अर्की दिग्गज अभिनेत्री हेमा मालिनी पनि उत्रिएकी छिन्। 

उनले कंगनातर्फ इसारा गर्दै एक टेलिभिजनलाई अन्तर्वार्ता दिएकी छिन्, ‘कोहीसँग पहिले बोल्ने हिम्मत पनि थिएन। आजभोली जेपायो त्यहीँ बोलिरहेका छन्।’ 

उनले बलिउडमा ड्रग्सको मुद्धालाई कपडामा लागेको दागको संज्ञा दिएकी छिन्। ‘यसलाई धोयो भने जान्छ,’ उनले भनेकी छिन्।

जयाको समर्थनमा पहिले नै फरान अख्तर, सोनम कपुर, तपसी पन्नुलगायतका कलाकार आइसकेका छन्। अब सञ्जय खानल पनि जयाको भनाईलाई समर्थन गरेका छन्। 

अनुभव सिन्हाले त बलिउडमा जया रिढको हड्डी भएको प्रतिक्रिया दिएका छन्। तर, अमिनेता रणवीर सौरीले जयाको भनाईको विरोध गर्दै लेखेका छन्, ‘जो मानिस बलिउडको फोहोरलाई जोगाउन अगाडि आएका छन्, उनीहरू ‘गेटकिपर्स’ हुन।’

यस्तै विवेक रञ्जन अग्निहोत्रीले जयाको भनाईप्रति आपत्ति जनाउँदै बलिउडबाट थाल परिवर्तन गर्ने बेला आएको बताएका छन्। हास्य कलाकार राजु श्रीवास्तवले भने रवि किशनको समर्थनमा उत्रिएका छन्। उनले ड्रग्स सिन्डिकेटको छानवीन हुनुपर्ने बताएका छन्।

प्रकाशित मिति: : 2020-09-16 13:01:05

प्रतिकृया दिनुहोस्