करन जौहरविरूद्ध ‘ड्रग्स मुद्धा’ मा अकाली दलका नेताद्धारा पुनः एनसीबीमा उजुरी

अकाली दलका राष्ट्रिय प्रवक्ता मनजिन्दर सिंह सिरसाले नारकोटिक्स कन्ट्रोल व्यूरो (एनसीबी) का प्रमख राकेश अस्थानासँग भेट गरेर बलिउडका निर्माता तथा निर्देशक करन जौहरसमेत अन्य कलाकारविरूद्ध ड्रग्स पार्टी गरेको आरोप लगाएका छन्। 

राजधानी दिल्लीमा अस्थानालाई भेटेर सिरसाले ड्रग्स पार्टीको भिडियो छानविन गर्न आग्रह गरेका छन्। सिरसाले गत वर्षपनि आफूले उजुरी गरेको स्मरण गराए। उनले त्यतिबेला एनसीबीले पहल गरेको भए अभिनेता सुशान्त सिंह राजपूतको ज्यान बच्ने दावी गरे। 

सुशान्तको आत्महत्या प्रकरणमा एनसीबीले बलिउडमा मौलाउँदो ड्रग्स र्याकेटको छानविन गरिरहेको छ र अहिले उसले एक दर्जनभन्दा बढी कारोबारीलाई पक्राउ गरिसकेको छ। 

सिरसाले भने, ‘फिल्म निर्माता करन जौहर र अन्यविरूद्ध मुम्बईस्थित घरमा भएको ड्रग्स पार्टीको मुद्धामा मैले हालेको उजुरीको छानविन गर्न दिल्लीस्थित बीएसएफको कार्यालयमा एनसीबी प्रमुख राकेश अस्थानासँग भेट गरें। त्यो पार्टीको भिडियोको छानविन हुनुपर्छ।’

उनले उजुरीको कपि पनि मिडियालाई उपलब्ध गराएका छन्। जसमा दीपिका पादुकोण, विकी कौसल, मलाइका अरोरा, वरुण धवन, अर्जुन कपुर र शाहिद कपुरविरूद्ध ड्रग्स उपयोग गरेको आरोप छ। सबैभन्दा पहिले यो भिडियो १४ सेप्टेम्बरमा सार्वजनिक भएको थियो। 

उनले यसविरूद्ध आफूले महाराष्ट्रको मुम्बई प्रहरीमा पनि उजुरी गरेको बताएका छन्। ‘मैले १ अगस्ट २०१९ मा मुम्बई प्रहरीमा उजुरी गरेको थिए,’ उनले भने। 

सिरसाले अभिनेता साहिद कपुरलाई ‘ड्रग एडिक्ट’ को उपमा दिए। साहिद कपुर अभिनीत ‘उड्ता पञ्जाब’ फिल्मले पुरै पञ्जाबीको बेइज्जती गरेको र वास्तावमा यो फिल्म पञ्जाबसँग सम्बन्धित नभएर साहिदको आफ्नै कथा भएको स्पष्ट पारेका थिए।

प्रकाशित मिति: : 2020-09-17 09:55:49

प्रतिकृया दिनुहोस्