सुशान्त आत्महत्या प्रकरणमा नयाँ तथ्यः दिशाको निधनपछि मारिने डर

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा नयाँ तथ्य अगाडी आएको छ।

उनको घरमा काम गर्ने सिद्धार्थ पिठानीले केन्द्रीय जाँच आयोग (सीबीआई) समक्ष नयाँ बयान दिएका छन्। जसमा उनले भनेका छन्– दिशा सालयानको निधनको खबर सुनेपछि सुशान्त बेहोस भएका थिए। होस आएपछि उनले आफ्नो पनि हत्या गर्ने बताएका थिए।’

दिशा सालयान सुशान्तको मेनेजर थिइन्। पिठानीको यो बयानले दिशा र सुशान्तको निधनमा केही रहस्य रहेको सीबीआईले आशंका गरेको छ। त्यसैले सीबीआईले ८ जुनमा निधन भएको दिशाको विषयमा पनि छानविनलाई अगाडी बढाएको छ। 

दिशाको निधन घरको क्षतबाट हाम्फालेर भएको मुम्बई प्रहरीले बताएको थियो। तर, प्रहरीको रिपोर्टको विषयमा शंका उत्पन्न भएको छ। 

सुशान्तको निधन १४ जुनमा भएको थियो। यसलाई पनि मुम्बई प्रहरीले फाँसी लगाएर आत्महत्या गरेको बताएको थियो। 

पिठानीले सीबीआईसँगको बयानमा दिशाको निधनदेखि नै सुशान्तको अवस्था राम्रो नभएको बताएका छन्। उनले मारिने डरले पिठानीसँग सुरक्षालाई लिएर चिन्ता व्यक्त गरेका थिए। 

सुशान्तले आफ्नो ल्यापटप, क्यामरा र हार्ड ड्राइभ खोजी गरिरहेको बयान पनि पिठानीले दिएका छन्। उनले यसका लागि सुशान्तले बारम्बार रिया चक्रवर्तीलाई फोन गरिरहेको तर रियाले फोन नउठाएको बताए। रियालाई सुशान्तको सबै पासवर्ड थाहा थियो। 

त्यसैले अरुसँग मिलेर रियाले आफूलाई फसाउन सक्ने डर सुशान्तलाई रहेको पिठानीले बयानका क्रममा बताएको भारतीय अखबारहरूले लेखेका छन्।

प्रकाशित मिति: : 2020-09-17 11:46:36

प्रतिकृया दिनुहोस्