गोसाई ! भ्रष्टाचार जन् सिकाया है ? 

बुका खोला बहुलिने छन् मूल पानी सुक्न्या छन् 
स्याल कराउने जमानामा कस्तुरी लुक्न्याछन् 

गाडीमा यात्रारत रहँदा एउटा यात्रुले प्रश्न गरे –‘भोलि सम्बिधान दिवश हैन ?’ मैलै हो भन्न नपाउँदै एक्कासी ब्रेक लाग्यो गाडीको । एक जना प्रहरी जवान देखिए गाडी छेवैमा  । चालकलाई झपार्दै भने पचास प्रतिशत भाडा बढी लेऊ यात्रु कम राख भनेको हैन । चालक हात जोड्दै भन्न थाले – ‘भोलिदेखि गल्ति दोहरिन्न सर ।’ यस्तै प्रकारले एक छिन तिनका झपार्ने र अनुनयविनय गर्ने काम चलिरहे । सत्र अठार जना बोकेको भ्यानमा जम्मा चारजना यात्रु मात्र थियौं माक्स लगाएका । देखेनन् ती जवानले माक्स नलगाएका यात्रुहरु ।

गाडी अलि अगाडी पुगेपछि चालकले सुनाए – दशैं आउँदैछ पैसा खानलाई हुन् । बेलुकी दिनु पर्ला सय पचास रुपैया । गाडीबाट झरेर भाडा तिर्दा एक सय पचास लिनु पर्नेमा दुई सय लिए । किन दुई सय भाइ –जिज्ञाषापूर्वक सोधेँ । ‘अघि पुलिसले भनेको सुन्नु भएन’–झोक्किदै उत्तर दिए तिनले ।  त्यसको लागि त तिमीले पनि थोरै यात्रु बोक्नु पर्दैन र ? सानो भ्यानमा बीस पच्चिस जना यात्रु भेडा बाख्रा कोचेझैं कोचिदिन्छौ अनि भाडा पनि बढी ? बोल्दै नबोली गाडी दौडाए तिनले । हेरिरहेँ तिनले गाडी दौडाएको । सोचिरहे यही हो गणतन्त्रमा गएको देशको अवस्था । मसँगै आएका एकजना यात्रु भनिरहेका थिए – ‘यहाँ यस्तै छ । पुलिससँग गुनासो गरुँ के के मिलाउछन् एकछिनमै छोडिदिन्छ । चालकलाई झपारुँ गाउँमा जाने गाडी कम छन् भालिदेखि सजिलैसँग भनिदिन्छन् ठाउँ छैन ।’

हिजो आज सक्नेले रबैया चलाएकै छन । समाजको थिचोमिचो र छुवाछुतका डरलाग्दा पर्खालहरू अग्लिएकै छन् । बलियकि खानी डोटी अर्थात बलियाले भोग गर्न सक्ने डोटी राज्य भन्ने लोकोक्ति सम्झिएँ । बाइसे चौबिसे राज्य अन्तर्गतको डोटी राज्य भौगोकि हिसाबले र शक्तिकेन्द्रका हिसाबले ठूलो थियो । जहाँ बलियाहरुको हैकम चल्दथ्यो । त्यस्तै टाठाबाठा र बलियाहरुकै हैकम चलिरहेको छ अहिले देशमा । गरिब गुरुवा कतै पहुँच नपुग्नेहरुका लागि कुन चरीको नाम हो सम्बिधान स्वतन्त्रता, सार्वभौम सत्ता अनि गणतन्त्र भनेको । 

पुस्तौनि हलिया बनेका शिखर नगरपालिका ९ डोटीका मनुवा भुल सुनाउछन्–१० वर्षको उमेरमा गोसाइका जिम्मा लगाएको हो मलाई हली बन्न । पछि मेरो बिहे भयो । ससुराले मेरी श्रीमतीलाई गोसाइका घरमा लगेर भनेका हुन्– ‘गोसाई मैले मेरी चेली तमरा जिम्मा दिएको हुँ । यै नानी मलाई(केटी) सम्हाल्ने हौ कि नाई ?’ म दश वर्षको नपुग्दै बुवा बिते । बाजे चेलो मरेको शोकमा चिन्ताले उसाइ सुस्ताए । केही वर्ष पछि मात्र मैले सुरु गरेको हँु हलेटी लगाउन । राणाकाल देखे । पञ्चायत देखे । यो के के तन्त्र भन्नु पनि देखे । अहिले पनि उसाइ दिन छन् हाम्रा लागि त । खानलाउन उसोइ समस्या । अर्काकै काम गर्नु पन्र्या या देश जानु पन्र्या । हामी गरिब तल्लो जातकालाई को हेरन्छ र ? दुई वर्ष अघि लडेर खुट्टो भाँचिएका मनुवा अरुको अधिया बनाउछन् । हलो जोत्छन् । खुट्टा दुख्दा हलो जोत्न छोडेर एक छिन खेत पाखामै आराम गर्छन् । पाएका छैनन् उनले कुनै व्यवस्थामा केही तात्विक भिन्नता । 

शिखर नगरपालिका ११ डोटीकी पशुपति दमाई भन्छिन् – विधवा हँु । एक्ली छु । अर्काको जमिनमा नानो(सानो) झुपडी छ । अरु केइ छैन । बाख्रा पालन गरेर गुजारा चलाउथे नानु (सानो) सहयोग पाए हुन्थ्यो भनिबर धेरै भने नगरपालिकामा गएर । हुन्छ गरौंला भन्दा जतिपल्ट गयो । तर दिनानइ । कसैले केही दिएइन हलिया मुक्तिको पैसा पनि पाएइन । 

मनुवा र पशुपति प्रतिनिधि पात्र मात्र हुन् । कैयौ छन दुखको भारी बोकिरहेका अभाबको च्यादर ओढीरहेकाहरु । स्थानीय तहदेखि केन्द्रसम्मका नब सम्राटहरु लाखौ करौडौका गाडीमा हुइकेका छन् । आआफ्ना मानछेलाई छानी छानी ठेकापट्टा दिइरहेकै छन् कमिसन खाएकै छन् । सिंहदरबारमा स्याल र मुसाको बिगबिगी छदै छ । शिरानीको गीतले भनेझैं गतिला मानदार मान्छे लुकेर बसेका छन् । तथापि न्याय मरेको मुलुकमा बसेर सुन्नु परेको छ देशमा लोकतन्त्र छ गणतन्त्र छ भनेर छोराछोरीले पढेको । 

जब गयो वार्षिक बजेटको अधिकांश हिस्सा स्थानीय तहमा तब सिंहदरबारदेखि गाउँसम्मै मौलायो मलजल पाएको बिरुवाझैं भ्रष्टाचार । अख्तियार अनुशन्धान आयोगमा पछिल्लो समयमा भ्रष्टाचार सम्बन्धी स्थानीय तहमै २६ प्रतिशत उजुरी परेका छन् । यसरी उजुरी पर्नेमा स्थानीय तह सबैभन्दा अग्र पंक्तिमा छन् भने भ्रष्टाचारको उजुरी पर्नेमा शिक्षा क्षेत्र दोश्रोमा छ । देशको दक्ष इमान्दार, सक्षम र देशभक्त जनशक्ति तयार पार्ने निकायमै भ्रष्टाचारका घटना चुलिन थाले पछि के अर्थ रहन्छ कुनै दिवश मनाउनुको । 

हरेक व्यक्तिले आफ्नो अतित र वर्तमानको समय सीमालाई मनन् गरिरहेकै हुन्छ । विगतदेखि वर्तमानसम्मका दृश्य परिदृश्यहरुको परिवेक्षण गरिरहन्छ मान्छे । जिन्दगीका कतिपय मोडमा ऊ कतै उमङ्ग समेट्छ, कतै भावुक बनिदिन्छ, कतै आँसु चुहाउछ । संवेदनशिलता भएका मनहरुको कुरा गर्दै छु म । ढुंगाहरुको त मन नै कहाँ हुन्छ र । तिनको न विगत दुख्छ न त वर्तमान नै । तिनको जिन्दगी त चाकडी गर्न नपाउदा, दलाली गर्न नपाउदा, घुष खान नपाउदा दुख्छ होला । तिनको जिन्दगी त मात्र पैसामा, सम्पत्तिमा त्यही सम्पत्तिका लागि झुण्डिरहेको हुन्छ । पितापुर्खाको गौरव, स्वाभिमान र इमानदारिताको पकडी उतारेर बेइमानी, आडम्बर र पाखण्डताको श्रीपेच भिर्दै जीवन्तताहीन जिन्दगी बिताइरहेका सम्राटहरुको सहरमा नजान सल्लाह दिन्छिन् देउसरा । म उत्तर फर्काउछु – ‘अब त गाउँ समाज पनि ती सहर जस्तै दुषित भैसके । यहाँ जाँड रक्सी चुरोट गन्हाउछ बिहानैदेखि । सबैभन्दा बढी गनआउन थालेका छन् भ्रष्टाचारीहरु । कतै छैन जीउधनको सुरक्षा, छोरीबेटीको सुरक्षा । न्याय मरेको देश बन्यो देउसरा बिकासको त कुरै छोडौं ।’  

कला संस्कृतिदेखि हरेक दृष्टिले महत्व बोकेको उपत्यका लगायतका ठाउँहरु अप्रिय छैनन् उनको दृष्टिमा पनि । पवित्र ठाउँलाई दूषित तुल्याउँदै आए विगतदेखिका कतिपय सम्राटहरुले । यतिखेर सम्राटै सम्राटले भरिएको छ काठमाडौं । मुकुण्डो पहिरेर नवसम्राट बन्न तम्सेका देखि कालोबजारी गर्ने, भित्र चाकडी चाप्लुसीमा चुर्लुम्म डुबेर बाहिर फाइफुट्टि गर्ने र सडकमा हैकम मचाउने सम्मका कयौं छन् सम्राटहरु । सबैभन्दा ठुला सम्राट उनै छन जो चुनावका बेला गाउँघरमा निर्लज्ज भएर ठुलाठुला सपना बाँड्छन् । साम, दाम, दण्ड, भेद सबै बिधि अपनाएर चुनाव जित्छन् अनि वर्षौसम्म फिर्दैनन् गाउँमा । घुष खान्छन् । जनता ढाँट्छन् । मात्र आश्वासनको इन्द्रेणी फिजाउछन् । 

एउटा चाइनिज उखान छ – ‘माछा नदेऊ माछा मार्न सिकाइ देऊ ।’ यो देशमा ठिक उल्टो छ काम सिकाइदैन । इमानदारिता र स्वाभिमानको पाठ पढाइदैन सिकाइन्छ त केवल घुष खान । पैसा कमाउन । भौतिकवादमा रमाएर कुकृत्यमा सरिक हुन । 

कुराकानीकै सिलसिलामा छुट्टिदा सोधेकी थिइन देउसराले – तमी तिनी गोसाइहरुका सहरमी और के के काम गद्दा छौं ? वर्षमा पाँच छ महिना बिद्यार्थीलाई पढाउने काम पनि गरन्छु – मैले उनको प्रश्नको उत्तर दिएर बाटो लाग्न खोज्दा ठट्टा गर्दै मसुक्क मुस्कुराउँदै भनिन् अरु जेजे पढाउदा छौं जेजे सिकाउदा छौं विद्यार्थीलाई घुष खान जन्सिकाया(नसिकाउनु) है । 

हाँसो ठट्टा गर्ने हिसावले भनिएको उनको त्यो वाक्य निकै नै गम्भीर थियो । पछिल्लो समय पढालेखाहरुबाटै बिग्रिरहेको छ गाउँ समाज र देश । समाज र राष्ट्रका अगुवा भनाउदाहरु तिनीसँग पहँुच पुग्नेहरु नै गरिरहेका छन् बदमासी । छैन कसैको केही डर तिनलाई । न्यायालय समेत खल्तिमा बोकेर हिँड्ने दलाल माफियाहरुको बिगबिगी छ चारैतिर । कानुनि राज्यको आभास हुन सकेको छैन जनतामा । 

केही दिन अघि गाउँको कच्चीबाटोमा सार्वजनिक गाडीमा यात्रारतरहँदा सुनिएको थियो एउटा बाक्य – ‘हामी न दोश्रो पटक टिकट पाउने हौं न त जित्ने नै । पाँच वर्षको पिरियडमा कैलाली घडेरी किनेर घर बनाउन पाए पुग्यो । धेरै आश गर्नु पर्ने केही छैन ।’ त्यसरी हाकाहाकी निर्लज्ज पाराले भनिदिन्छन् स्थानीय सरकार चलाउनेहरु । 

अधुरो र उधारो भविष्य बाँच्न बाध्य तुल्याउँदै छन् सम्राटहरु जसले वर्तमानलाई समेत बेचैन बनाइरहेका छन् । तिनले मिल्दैनथ्यो आफुलाई बिर्सिन । हुँदैनथ्यो आफ्नो विगत बिर्सिन । राज्यमा गरिब जनता कोही मजबुर छन् कोही मजदुर छन् । तिनका दर्दनाक कहानी छापिएकै छन् पत्रपत्रिकाहरुमा । तिनका निद सुस्ताए भोक छटपटाए । सधै अभावमै बित्न थाले दिनहरु । यो देशका सम्राटले स्वार्थ,अतङ्क र भ्रष्टाचार बाहेक जन्माउन सक्थे धेरै कुरा । चाहेनन् केही गर्न । सम्बिधानका अक्षरहरु निरिह बनिरहे कागजका पानाहरुमै टासिएर । हामी  वर्षैपिच्छे भनिरहयै असोज तीन गते सम्बिधान दिवश भनेर । 

प्रकाशित मिति: : 2020-09-19 17:40:00

प्रतिक्रिया दिनुहोस