विष्णु रिमाल र हर्क सम्पाङबीच जुहारी

हर्क साम्पाङले गुइँठेकाे संज्ञा दिएपछि रिमालले भने– हाे, हामी बहुलाउनै पर्छ

नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमाल र धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।

एउटा भइरल भिडियो फुटेजमा रिमालले अहिलेका युवा नेताहरु रवि लामिछाने, बालेन साह र हर्क साम्पाङबारे टिप्पणी गरेका छन्, जसमा हर्कलाई बहुलाहाको संज्ञा थिए।

‘हामी गरिनै राख्या छैनौँ, अर्काले गरिराख्या छ। काठमाडौँका मेयरले गर्छ, उसले खासखुस नचाहिने कुरा लेख्नासाथै ८०/९० हजारले लाइक गरेको देखिन्छ। धरानको बौलाहा टाइपको मेयर छ। काम त राम्रै र्गया होला। धरानबाहिर पपुलर छ धरानभित्र के छ थाहा छैन। उसकोमा ४०/५० हजारले लाइक गर्‍या देख्छु एक घण्टामा। त्यसपछि स्वतन्त्र पार्टीको सभापतिले राख्या देख्छु। उसको एक घण्टामा ३०/४० हजारले लाइक गर्‍या देख्छु। त्यही लयमा उनीहरूको गइराख्या हुन्छ। कहिलेकाहीँ लेख्न मन लागेन भने पनि तिनीहरूबाट पनि सिकौँ न,’ रिमालले भाइरल भिडियोमा भनेका छन्।

मेयर साम्पाङले पनि त्यसको प्रतिउत्तरमा रिमाललाई ‘गुइँठे’को संज्ञा दिएका थिए। ‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिनँ म, मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु,’ उनले फेसबुकमा लेखेका छन्।

त्यो स्टाटसको केहीबेर हर्कले फेरि स्टाटस लेख्दै भनेका छन्,‘म मर्दा मलामी भो आउनु पर्दैन, देश बनाउन बोलाउँदा चाहिँ नाइँ नभन्नु ल।’

यता रिमालले पनि सामाजिक सञ्जालमार्फत् नै अर्को प्रतिक्रिया दिएका छन्। उलने मुलुकको विकासको लागि बहुलाउनै पर्ने उल्लेख गरेका छन्।

यस्तो छ उनको प्रतिक्रिया :

हो, अब हामी “बहुलाउनै” पर्छ !

०७२ सालमा संविधान निर्माण गर्न हामी “बहुलाएरै” लागेका थियौं। 
त्यसपछिको नाकाबन्दीको सामना गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली “बहुलाएरै” भिड्नु भएको थियो। जनताले साथ दिए, मुलुकले सफलता हासिल गर्‍यो। 
०७४ को चुनावपछि हामी “बहुलाएरै” काममा जोतिएका थियौं। 
आधा शताव्दीसम्म हाम्रो संप्रभुता बाहिर रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानी ... हामीले “बहुलाएरै” नक्सामा सामेल गर्‍यौं। सिंगो मुलुक एक ठाउँमा उभियो। 
अहिले धरानका मेयर, धरानेलाई पानी खुवाउन “बहुलाएर” लागेका छन्। सबैलाई ‘श्रमदान गर भनिरहेका छन्। त्यसैले मैले पनि भनेको छु– “बहुला पाराले” काम गर्ने ... धरानमा थाहा छैन, तर बाहिर पपुलर मेयर!
म पनि काम गर्ने मामिला “बहुलाउने” मानिस हुँ। 
हो, मुलुकमा केही गर्न हामी अब “बहुलाउनै” पर्ने भो !
फेरी पनि मेरो यो शब्द प्रयोगमा विभिन्न व्यक्तिहरुको असहमति देख्छु, सामाजिक सञ्जालमा आलोचना गरिरहेको देख्छु। म ति आलोचना स्वीकार्छु, धन्यवाद!

प्रकाशित मिति: : 2023-05-21 11:50:00

प्रतिकृया दिनुहोस्