बलात्कार मुद्दालाई लेनदेनमा मिलाउन खोज्ने एक जनप्रतिनिधिलाई स्थानीय युवाले लखेटे

बारामा बलात्कार मुद्दालाई लेनदेनका आधारमा मिलापत्र गराउन खोज्ने एक जनप्रतिनिधिलाई स्थानीय युवाले लखेटेका छन्। 

युवाको प्रयासपछि प्रहरीले आरोपितमाथि ‘जबरजस्ती करणी’ मुद्दा दर्ता गरेको छ । 

गाउँस्तरमै कथित भद्रभलादमीको उपस्थितिमा बसेको पञ्चायतीमा आर्थिक जरीवाना गरेर बलात्कारीलाई बचाउन खोजेको भन्दै सुवर्ण गाउँपालिकाका युवाले वडा नम्बर ५ का अध्यक्ष रामएकवाल साहलाई पञ्चायतीबाटै लखेटेका हुन्। 

सोही वडाका आरोपित २२ वर्षीय शिवपुजन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा जबरजस्ती करणी मुद्दा दर्ता भएको छ। 

पीडित १२ वर्षीय बालिकाको शनिबार जिल्ला अस्पताल कलैयामा स्वास्थ परीक्षण भएको प्रहरीले जनाएको छ। गत शुक्रबार राति ८ बजे सुवर्ण गाउँपालिका–५ औरैयाकी ती बालिका आफ्नो बुवालाई खाना खान बोलाउन घरबाट केही पर रहेको गोठतर्फ गइरहेकी थिइन्। 

सोही क्रममा शिवपुजन यादवले बालिकाको मुख गम्छाले थुनेर नजिकैको गोठमा लगेर जबरजस्ती करणी गरेको पीडितको भनाइ छ। मुख थुनिएको अवस्थामा पनि बालिका चिच्याएपछि छिमेकी गोठमा हेर्न जाँदा आरोपित व्यक्ति भागेको र छिमेकीले बालिकालाई उद्धार गरेको स्थानीय युवा विनोदप्रसाद यादवले जानकारी दिए। 

घटनाको भोलिपल्ट वडा अध्यक्ष रामएकवाल साहले पञ्चायती राखेर एक लाख ५० हजार जरिवाना गरेर बलात्कारीलाई बचाउन खोजेको अवस्थामा आक्रोशित युवाले वडा अध्यक्ष साहलाई पीडितको घरबाट लखेटेको जनाईएको छ । 

बलात्कारको घटनापछि अभियुक्त फरार छन्। पीडित बालिकाको बाबुको जाहेरीका आधारमा आरोपित शिवपुजन यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा बलत्कार विरुद्धको अभियोगमा मुद्दा दर्ता भएको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान तथा आरोपितको खोजी भईरहेको प्रहरी उपरीक्षक मिश्रले बताए।

प्रकाशित मिति: : 2020-09-20 17:15:54

प्रतिकृया दिनुहोस्