ओली सरकारले अपहरण गर्‍योः डाक्टर केसी (भिडियो)

सत्याग्रही डा.गोविन्द केसीले आफूलाई प्रहरीले विमानस्थलबाट जबरजस्ती अपहरण गरी ट्रमा सेन्टर पुर्‍याएको बताएका छन्।

मंगलबार नेपालगन्जबाट विमानमा काठमाडौं आईपुगेका उनलाई प्रहरीले जबरजस्ती ट्रमा सेन्टर लगेपछि उनले केपी ओलीले आफूलाई अपहरण गर्न लगाएको प्रतिक्रिया छन्।

‘मेरो नागरिक अधिकारको हनन् हो,’ ट्रमा सेन्टरको बेडबाट डा. केसीले भने,‘यो अपहरण हो।’

उनी नेपालगन्जबाट बुद्ध एयरमा दिउँसो एक बजेतिर त्रिभुवन विमानस्थल आइपुगेका थिए। उनलाई लिन विमानस्थलमा टिचिङ (शिक्षण) अस्पतालको एम्बुलेन्स आउँछ भनिएको थियो। तर उक्त एम्बुलेन्सलाई विमानस्थल गेटबाट प्रवेश गर्न नदिइएको उनले जनाए।

“मैले टिचिङको पूर्व डाक्टर हुँ भनेर एम्बलेन्समा चढेँ। एयरपोर्ट गेट बाहिर निस्केपछि त एम्बुलेन्स चाबहिल तिर नगएर सिनामंगल तिर गयो। हामी त टिचिङ जाने हो भन्यौं। एम्बुलेन्समा रहेकाले ट्रमा जाने हो भने। म ट्रमा जान्नँ भने त्यसपछि प्रहरीको गाडीले जबरजस्ती यहाँ लेरायो,” डा. केसीले भने।

डा.केसी एम्बुलेन्सबाट निस्कन नमानेपछि प्रहरीले उनको पाखुरामा समाती जबरजस्ती तानेर निकालेको थियो। ‘टिचिङमा कोभिडका कारण नलगेको बताए। तर यहाँ (ट्रमा सेन्टर) पनि दुई वटा केश कोभिड पोजेटिभ राखेका छन्,’ उनले बताए।

सरकार, टिचिङ अस्पतालका निर्देशक र डीनको निर्देशनमा आफ्नो अपहरण भएको उनले बताए। उनले यस्तो तानाशाही शैली अब नचल्ने समेत जनाए।

 “जबसम्म मलाई टिचिङ अस्पताल लगिन्न तबसम्म ब्लड प्रेसर, रगत, तापक्रम नाप्न दिन्न र स्लाइन पनि म लिनेवाला छैन,” डा. केसीले भने।

स्वास्थ्य तथा शिक्षा क्षेत्र सुधारको माग राख्दै डा. केसी जुम्लामा अनसन बसेका थिए। त्यहाँ पनि प्रहरीले उनलाई जबरजस्ती अस्पताल लगेको थियो। उनी हिजो मात्र नेपालगन्ज आएका थिए भने आज नेपालगन्जबाट काठमाडौं।

९ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टरमा प्रहरीले ल्याएकोमा सर्वत्र निन्दा भएपछि राति शिक्षण अस्पताल सारिएको छ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अनसनरत् डाक्टर केसीलाई सरकारले सम्मान गर्न सिक्नुपर्ने बताएका छन्।

‘यो राजाको निरंकुश पञ्चायती शासन हो कि ओलीको कमाउनिष्ट शासन हो?,’ ट्वीट गर्दै भट्टराईले सोधेका छन्, ‘डा. केसीका जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक! स्वास्थ्य क्षेत्रको सुधार निम्ति डा. केसीले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं!’

यस्तै, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अनसनरत केसीलाई सरकारले दुर्व्यवहार गरेको बताएका छन्।

‘जनताको स्वास्थ्यसेवा, सुविधासँग सम्बन्धित माग राखेर अनसनरत डा. केसीप्रति सरकारले गरेको दुर्व्यवहार व्यक्तिको संविधानप्रदत्त अधिकार माथिको बर्बरतापूर्ण आक्रमण हो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘यसको जतिसुकै निन्दा गरे पनि पुग्दैन! डा. केसीको अस्पताल रोज्ने अधिकारको सम्मान गर! केसीका माग तत्काल पूरा गर!’

कांग्रेसका सांसद गगन थापाले सग्राग्रही केसीमाथि दुर्व्यहार हुनु क्रुरताको पराकाष्ठा भएको उल्लेख गरेका छन्।

‘सत्याग्रहीमाथिको दुर्व्यवहार: क्रुरताको पराकाष्टा!,’ थापाले गरेको ट्वीटमा भनिएको छ, ‘सत्याग्रहीलाई इच्छाविपरीत छुन पनि पाइँदैन। तर अनसनरत डा. केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ। क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ। सरकारले आफ्नो पतनको बाटो आफैं खनेको छ।’

डा. केसीले ट्रमा सेन्टरको बेडबाट प्रहरीले आफूलाई जबरजस्ती ट्रमा सेन्टर ल्याएकाले कुनै पनि परीक्षण र उपचार स्वीकार नगर्ने बताएका थिए।

शिक्षण अस्पताल जाने भने पनि आफूलाई प्रहरीले इच्छाविपरीत ल्याएको डा केसीको प्रतिक्रिया छ।

आफूमाथि यस्तो गरिनुमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा गरेको हुनुपर्ने दाबी गरेका छन्।

स्वास्थ्य अवस्था बिग्रँदै गए पनि अनसन बसेको  ठाउँ जुम्लामा पनि केसीले उपचार अस्वीकार गरेका थिए। केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागि लगे पनि उनले उपचार गर्न मानेका थिएनन्।

सर्वत्र विरोधपछि मंगलबार साँझ डाक्टर केसीलाई ट्रमा सेन्टरबाट डिस्चार्ज गरी शिक्षण अस्पताल पुर्‍याइएको छ।

सेन्टरमा उपचार गर्न केसीले मानेका थिएनन्। टिचिङमा गएमात्रै आफूले सामान्य परीक्षण गराउने अडान लिएपछि मंगलबार साँझ साढे ६ बजेतिर टिचिङ अस्पताल लगिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

अहिले उनलाई टिचिङ अस्पतालको आईसीयूमा राखिएको छ।

चिकित्सा शिक्षा सुधारलगायत माग राखेर केसीले थालेको यो १९ औं सत्याग्रह हो।

सत्याग्रहले उनको रक्तचाप कम, रगतमा चिनीको मात्रा कम देखिएको छ। मांसपेशीहरू बाउँडिने समस्या छ। मुटुको धड्कन पनि अनियमित छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्‍याएर एमबिबिएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनको माग छ।

गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पूर्वाधार र जनशक्ति पुर्‍याएर पठनपाठन सुरू गर्न उनले माग गरेका छन्।

प्रदेश नम्बर दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन उनले माग गरेका छन्।

मागको दोस्रो बुँदामा मास्कको प्रयोग र सामाजिक दूरीलाई अनिवार्य गर्दै पिसिआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त्य गर्नुपर्ने उल्लेख छ।

कोभिड तथा अन्य रोगका सबै बिरामीहरूका लागि समेत उचित उपचारको व्यवस्था गर्नुपर्ने केसीको माग छ।

२०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने केसीको अर्को माग छ।

यस्तै, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरू सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्न, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझाव अनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गर्न माग गरेका छन्।

बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो नि:शुल्क सेवा सुनिश्चित गर्न र राज्यलक्ष्मी गोल्छा घुस काण्ड, आयल निगम जग्गा खरिद, वाइडबडी, सेक्युरिटी प्रेस खरिद, दरबारमार्गको जग्गा, ओम्नी समूहको औषधि खरीदलगायत सबै ठूला भ्रष्टाचारका दोषीलाई छानबिन गरी कानुनबमोजिम कारबाही गर्न केसीले माग गरेका छन्।

उनले बालुवाटार जग्गा काण्डमा आपराधिक लाभ लिने सत्तारूढ दलका नेतामाथि छानबिन र कारबाही चलाउन माग गरेका छन्।

यी सबै प्रकरणका दोषीलाई कारबाही नगरी उन्मुक्ति दिएमा अख्तियारका बहालवाला तथा सेवा निवृत्त आयुक्तहरूमाथि पनि छानबिन र महाभियोग लगायतका कारबाही गर्न उनले माग गरेका छन्।

प्रकाशित मिति: : 2020-09-22 22:57:38

प्रतिकृया दिनुहोस्