करन जौहरलगायत ७ बलिउड स्टार ड्रग्स मुद्धामा पक्राउ पर्नसक्ने

चर्चित फिल्म निर्माता–निर्देशक करन जौहरलगायत ७ जना बलिउड स्टार ड्रग्स मुद्धामा पक्राउ पर्न सक्ने भारतीय मिडियाले बताएका छन्।
 
अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खान र रकुल प्रित सिंहसँग नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले यसै साता बलिउडमा फैलिएको ड्रग्स कारोबारलाई लिएर सोधपुछ गरेको थियो। 

प्रहरीले यी चार जना अभिनेत्रीको मोबाइल फोन आफ्नो नियन्त्रणमा लिएको छ भने उनीहरूको मोबाइल च्याटमार्फत अन्य कलाकारको गतिविधि निगरानी गरिरहेको छ। 

बलिउडमा ड्रग्सको कारोबारलाई लिएर एनसीबीले एक दर्जनभन्दा बढी सानो–ठूलो कारोबारीलाई पक्राउ गरिसकेको छ। उनीहरूले दिएको सूचनाको आधारमा एनसीबी बलिउडमा ड्रग्स कारोबारको मुख्य नाइकेसम्म पुग्ने तयारी गरिरहको छ। 

एनसीबीले गत वर्ष करन जौहरको घरमा भएको ड्रग्स पार्टीको फुटेजको पनि गहन अध्ययन गरिरहेको छ। यसमा रणवीर कपुर, अर्जुन कपुर, साहिद कपुर, मलाइका अरोडा, जोया अख्तरलगायत थुप्रै कलाकार समावेश थिए। एनसीबीले यसअघि नै करन जौहरको धर्मा प्रोडक्सन हाउसका मेनेजरलाई ड्रग्स कारोबारमा पक्राउ गरिसकेको छ। 

सलमान खानको लगानी भएको क्वान ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीको पनि अध्ययन भइरहेको छ। यही कम्पनीमार्फत बलिउडका कलाकारहरूको घर–घरमा तथा पार्टीमा ड्रग्स सप्लाई गर्ने तथ्य बाहिर आएपछि सलमान पनि अफ्ठेरोमा परेका छन्। 

उनको वकिलले यसअघि एउटा विज्ञप्ती सार्वजनिक गर्दै कम्पनीसँग सलमानको कुनै लेनादेना नभएको बताएका थिए। तर, दुई वर्षअघि एउटा समाचारमा क्वान कम्पनीमा सलमानको लगानी भएको खबर बाहिरिएको थियो। त्यतिबेला उनका वकिलले कुनै खण्डन गरेका थिएनन्।

प्रकाशित मिति: : 2020-09-30 08:36:25

प्रतिकृया दिनुहोस्