‘सुशान्तले आत्महत्या गरेका हुन्, विष खुवाएर हत्या गरिएको होइन’

अभिनेता सुशान्त सिंह राजपूतलाई विष खुवाएर हत्या नगरिएकाे खुलासा भएकाे छ।

भारतको दिल्ली स्थित एम्स अस्पतालको मेडिकल बोर्डले राजपूतको मृत्युको घटनामा गरिएकाे फरेन्सिक जाँचमा विष खुलाएर हत्या नगरिएकाे पाइएकाे हाे। 

बोर्डका अध्यक्ष डा. सुधीर गुप्ताले भने, ‘फरेन्सिक टिमले गरेको परीक्षणको नतिजा कसैलाई दिन सकिँदैन किनकी अहिले यो मुद्दा विचाराधिन छ।’

यद्यपी सुशान्तलाई विष दिएर हत्या गरिएको नदेखिने रिपोर्टमा उल्लेख गरिएकाे छ। 

उनका अनुसार मेडिकल बोर्डलाई निष्कर्षमा पुग्न झण्डै एक महिना लागेको थियाे। अस्पतालले सीबीआईलाई आफ्नो अन्तिम रिपोर्ट पेश गरिसकेकाे छ। 

३४ वर्षका राजपूत गएको जुन १४ मा  मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा डोरीको पासो लगाएर आत्महत्या गरेका थिए।

उनले आत्महत्या गरेको मुम्बई प्रहरीले प्रारम्भिक रिपोर्टमा उल्लेख गरेकाे थियाे। तर, उनकाे हत्या भएकाे हुनसक्ने आशंका गरेपछि अनुसन्धान शुरु गरिएकाे थियाे।

यता सुशान्तका बुवाले आफ्नो छोराको निधनमा उनको प्रेमिका रेहा चक्रवर्तीको ठूलो हात भएको आरोप लगाएका थिए। उनले मुम्बई प्रहरीले छोराको मुद्धामा राम्रोसँग अनुसन्धान नगरेको भन्दै बिहार उच्च अदालतमा मुद्धा समेत दायर गरेका थिए। 

सुशान्तको मुद्धा बिहारमा परेपछि बिहार पुलिस अनुसन्धानका लागि मुम्बई पुगेको थियो। तर, अनुसन्धानमा मुम्बई प्रहरीले सहयोग नगरेपछि उनीहरु बिहार फर्किएका थिए।

यता सुशान्त र पूर्व म्यानेजर दिशाकाे आत्महत्या प्रकरणमा एउटै व्यक्तिको हात हुन सक्ने भन्दै मुम्बई प्रहरीलाई दवाव दिइएकाे थियाे। 

यसैबीच सीबीआईको आग्रहमा एम्स अस्पतालले मेडिकल बोर्ड गठन गरेको थियो। जसले मुम्बई गएर सुशान्तको फ्ल्याटको जाँच गरेको थियो।

पोस्टमार्टम रिपोर्ट बनाउने कूपर अस्पतालका डाक्टरसँग पनि बोर्डले अन्तर्वार्ता गरेको थियो। 

याद रहाेस् टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका सुशान्तले पछिल्ला वर्षहरुमा बलिउडमा राम्रा चलचित्रमा काम गरेका थिए।

उनले शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनीः द अनटोल्ड स्टोरी, काइ पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए। 

मेरा दिल नाम गरेको टेलिभिजन सिरियलबाट अभियन यात्रा सुरु गरेका उनी पवित्र रिश्ता नामक टेलिभिजन शिरियलबाट अति चर्चामा आएका थिए।

प्रकाशित मिति: : 2020-09-30 12:53:50

प्रतिकृया दिनुहोस्