आफू अनुकूल भए सम्बन्ध कायम गराउँछन्, नत्र बलात्कारमा फसाइदिन्छन्

विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साहले असोज १२ गते १६ वर्षीया किशोरीलाई गाउँकै एक घरमा बोलाए। ती किशोरी पनि बाख्रा चराउन छाडेर साहलाई भेट्न गइन्। दुई जना मात्रै उक्त घरमा पुगेको थाहा पाएपछि गाउँकै अन्य युवाले किशोरीका भाइलाई बोलाएर ल्याए। स्थानीयका अनुसार ती किशोरकिशोरी बसेको कोठा खोलेर कुटपिट गर्न थाले। भाइले किशोरीको टाउकोसमेत फुटाइदिए। घाइतेलाई उपचारका लागि विराटनगर लगियो। गाउँमा त्यसको हल्ला फैलियो।

त्यसपछि गाउँका ‘पञ्च’हरू घटना मिलाउन सक्रिय भए। ती पञ्चले असोज १३ गते आरोपितका बुवा सिंहेश्वर साह र किशोरकिशोरी फेला परेको घरका धनी शत्रुधन साहसँग पाँच-पाँच लाख रुपैयाँको कपाली तमसुक बनाए। सिंहेश्वरको धनीमा रामगुलाम यादव र शत्रुधनको धनीमा लक्ष्मण यादव बसे। प्रहरीका अनुसार तमसुकमा मिति पनि २०७५ साउन १ गते उल्लेख गरियो। कपाली लागू हुने मिति २०७७ असोज १५ गतेदेखि लेखिएको छ। असोज १६ गते किशोरी उपचारबाट घर फर्किइन्। त्यसपछि फेरि पञ्चहरूले ‘पञ्चायत’ डाके।

आक्रोशित स्थानीय युवाले पञ्चायतमा आरोपित मुकेश, उनका बुवा सिंहेश्वर र शत्रुधनलाई कुटपिट गर्न थाले। त्यो खबर इलाका प्रहरी कार्यालय विष्णुपुरमा पुग्यो। पञ्चसहित आरोपित पक्राउ गरे। तमसुकका धनीद्वय फरार छन्।

घटना बाहिरिएपछि पीडित किशोरीकी आमाले प्रहरीमा जाहेरी दिइन्। आरोपित मुकेशविरुद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दर्ता गरी अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता डीएसपी शालिग्राम शर्माले बताए। गाउँमै घटना मिलाउन खोज्ने पञ्चहरूलाई पनि अपराध लुकाउन खोज्ने मतियारसम्बन्धी मुद्दामा छानबिनका लागि अदालतबाट १५ दिनको म्याद थप गरिएको प्रवक्ता शर्माको भनाइ छ।

गाउँलेले घटना ढाकछोप गर्न पीडित परिवारलाई दबाब दिन थालेका छन्। दबाब झेल्न नसकेपछि पीडित किशोरी र उनकी आमाले गाउँ छाडेका छन्। 

प्रकाशित मिति: : 2020-10-08 07:55:58

प्रतिकृया दिनुहोस्