कोभिड-१९ पछि पहिलो पटक नेपाली चलचित्र प्रर्दशनमा आउँदै

कोरोना भाइरसका कारण हाल विश्व आतंकित छ । सबै देशका सबै क्षेत्रमा यसले प्रभाव पारेको छ । हालको समयमा सरकारले केही व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै बजारका व्यवसाय समेत खुल्न थालेका छन् तर फिल्म क्षेत्र भने अझै ठप्प छ ।

यसअघि सार्वजनिक भएका फिल्महरू समेत प्रदर्शन हुन पाएका छैनन् । केही कलाकारसँगै प्राविधिकहरूको रोजीरोटी गुमेको छ । जसले गर्दा चलचित्र क्षेत्रमा निकट भविष्यमा प्राविधिकहरूको अभाव खड्किने निश्चित छ ।

यस्तैमा लकडाउन अघि नेपालमा प्रदर्शन भइरहेको चलचित्र ‘आमा’ लाई अष्ट्रेलियाको हलमा प्रदर्शन गर्ने तयारी अन्तिममा पुगेको छ । कोरोना महामारीका बेला विदेशमा प्रदर्शन हुने यो पहिलो चलचित्र बन्ने छ । चलचित्रका सह—निर्माता सन्तोष अधिकारी यतिबेला अष्ट्रेलिया छन् । उनले नै सबै चाँजोपाँजो मिलाएका हुन् ।

खासगरी अष्ट्रेलियामा सामाजिक सुरक्षाको मापदण्डलाई आत्मसाथ गर्दै हलहरु सञ्चालन गर्ने निर्णयसँगै ‘आमा’ प्रदर्शन गर्ने तयारीमा आफू रहेको अधिकारीले बताए । उनका अनुसार अष्ट्रेलियामा हाल दुई सय सिट क्षमता रहेको फिल्म हलमा ५० जना मात्र राख्ने गरी प्रदर्शन गर्ने तयारी गरिएको छ । त्यहाँको सरकारले नै उक्त निर्णय गरेको हो । कोरोनाको स्थिति हेर्दै विस्तारै सिट क्षमता समेत बढाउने तयारीमा अष्ट्रेलियाको सरकार रहेको उनले जनाए । अधिकारीले भने, ‘अष्ट्रेलियाको जस्तै गरी नेपालमा समेत हल सञ्चालन गर्न सकिन्छ । सरकारको सामाजिक सुरक्षाको मापदण्डलाई पालना गर्दै हल सञ्चालन गर्दा नेपाली चलचित्र क्षेत्रमा देखिएको हालको समस्या केही हदसम्म टर्न सक्छ । अब कोरोनासँगै जिउनुपर्ने आवश्यकता छ । विस्तारै लयमा फर्किनै पर्छ ।’

आमा यही अक्टोबर २० मा अष्ट्रेलियाको तासमानिया फिल्म हलमा प्रदर्शन हुनेछ । अष्ट्रेलियामा आमा नेपालीको महान पर्व विजयादशमीको छेको पारेर प्रदर्शन गर्न लागिएको हो । आमालाई पशुपति प्रसाद चलचित्रका कथाकार तथा निर्देशक दीपेन्द्र के। खनालले निर्देशन गरेका हुन् । कथा लेखन समेत उनकै हो । मिथिला शर्मा र सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको ‘आमा’ कि निर्माता शर्मिला पाण्डे हुन् भने सह—निर्माता सन्तोाष अधिकारी हुन् ।

प्रकाशित मिति: : 2020-10-08 09:48:09

प्रतिकृया दिनुहोस्