तिहार

कलाकारको तिहार योजना: भुवन केसीले काठमाडाैँमै भाइ टीका लगाउने, साेनिकाले बझाङका बाढी पीडितलाई राहत बाड्ने

तेजन खड्का

काठमाडौं

तिहारले सबैको घर, आगनी छपक्कै छोपिसकेको छ। सबैतिर तिहारको माहोल हुँदा कलाकारहरूलाई पनि तिहार नलाग्ने कुरै भएन। त्यसमाथि चाडमा पनि चलचित्रकर्मीहरू आफ्नो फिल्मको प्रमोशनमा व्यस्त हुन्छन्। गायक गायिकाहरू देश विदेशमा सांगितिक कार्यक्रममा व्यस्त हुन्छन्।कतिपय कलाकार भने चाड पर्वमा घर परिवारसँगै रमाउन चाहन्छन्।

विगतका वर्षकाे तिहारमा अभिनेता भुवन केसी प्रायः कार्यक्रमका लागि विदेशमा हुन्थे। यसपटक कार्यक्रम छैन। त्यसैले घरमै बसेर परम्परा अनुसार तिहार मनाउने सोचमा उनी छन्। 'मेरो एकजना बहिनी छिन, सधै झै बहिनीको हातबाट टिका लगाएर तिहार मनाउछु', नायक भुवनले भने।

अभिनेत्री सिर्जना सुब्बा यसपटककाे तिहार आफ्नै घर माेरङकाे उर्लाबारीमा मनाउँदै छिन्। कामको शिलशिलाले प्रायः उनी तिहारमा काठमाडौंमै हुन्थिन्।

'सानोमा तिहारमा भैलो खेल्दा खुब रमाइलो हुन्थियो', सिर्जनाले बिएल नेपाली सेवासँग कुरा गर्दै भनिन्,'यसपटक पारिवारिक भेटघाट भाईटिका लगाइदिएर देउसी भैलो हेर्दै सामान्य रूपमा मनाउछु।'

भर्सटाइल नायकको उपमा पाएका अभिनेता विपिन कार्कीले पनि आफ्नै घर काठमाडौंमा यस वर्षको तिहार मनाउने तयारीमा रहेको बताए। विराटनगर पुख्र्यौली घर भएका उनले आफूलाई तिहार बच्चैदेखि मन पर्ने बताए।

‘यसपालीको तिहार दिदीसँग काठमाडौंमा मनाउछु,’ कार्की भन्छन,‘झिलिमिली बत्ती र नाच गानले गर्दा पनि तिहार निकै मन पर्छ।’ बाल्यकालमा जस्तै देउसीभैलो खेल्नका लागि अहिले सोचे जस्तो साथीको समूह नभएकाले देउसी भैलो खेल्न छोडेको उनको भनाइ छ।

नायिका केकी अधिकारीलाई दसैँभन्दा तिहार बढी मनपर्छ। ‘तिहारमा पशुपन्छीको पनि सम्मानपूर्वक पूजा गरिने हुँदा मलाई यो चाड निकै मन पर्छ’, केकी भन्छिन, ‘तिहारमा देउसी भैलो र झिलिमिली बत्तीको रमाइलो नै छुट्टै हुन्छ।’

नायिका बेनिशा हमालले सानैदेखि चितवनमै तिहार मनाउँदै आएकी छिन्। उनले एक पटक मात्र काठमाडौंमा तिहार मनाएको बताउँदै अधिकांश तिहार जन्मथलो चितवनमै मनाउने गरेको बताइन। सबै जनासँग भेटघाट गरेर रमाइलो गरेर तिहार मनाउने सोचमा छु, बेनिशाले भनिन्।

बेनिशाको एकजाना मात्र भाई छन। तर, आफन्त दाजुभाइहरू गरेर ५/६ जनालाई टिका लगाउँछिन्। तपाईंलाई तिहारको मन पर्ने पक्ष के–के हुन् भन्ने प्रश्नमा बेनिशा भन्छिन्,'मलाई तिहार भन्ने बित्तिकै झिलिमिली, लक्ष्मी पूजा, देउसी भइलो यही मलाई स्पेशल लाग्छ। हरेक चाडपर्वको अनुभव उमेरसँगै फरक हुन्छ नै। सानो हुँदा जुन खुसी लिन्थ्यौ अहिले त्यति खुसी पाइँदैन त्यही हो।' उनले देउसी भैलोको प्लान नबनाए पनि ग्रुप बन्यो भने खेलेर रमाइलो गर्ने बताईन।

गायक डम्बर नेपाली तिहारले धपक्कै छोपे पनि सांगितिक कार्यक्रममै व्यस्त छन्। दैनिक दुई वटा कन्सर्टमा सहभागी भईरहेका डम्बर साथी भाईसँग देउसी खेलेर मनाउने सोचमा छन्। 'साथी भाईहरुले संस्कृति बचाँउदै रमाइलो लागि देउसी खेल्नुपर्छ भन्दैछन, तर म अहिले पनि कार्यक्रममै बिजी छु, समय निस्किन्छ निस्किदैन थाहा छैन।' 

मोडल तथा सञ्चारकर्मी सोनिका रोकाया बझाङका बाढी पीडितलाई सहयोग गरेर तिहारको समय कटाउने बताउछिन्। बाढीले ज्यान गुमाएका तथा विस्तापित भएको परिवारलाई मल्हम लगाउने प्रयास स्वरुप राहत बाढेर सामाजिक काम गर्ने बताउछिन्। 'गाउँ डुवान तथा शोकमा भएकोले तिहार मेरो सामाजिक काममा अभ्यस्त भएर बित्छ', उनले भनिन्।

गायिका योजना पुरीकाे तिहार सबै भन्दा मनपर्ने पर्व हाे। यसपालिका उनको काकीको निधन भएको कारण तिहार मनाउदिनन्। तर, अरुले मनाएको हेरेर खुशी हुने योजना बताउँछिन्।

कमेडियन सुमन कार्की यसपटक तिहार भरपुर परिवारलाई समय दिएर मनाउने सोचमा छन्। विभिन्न शाेमा उद्घोषण तथा कार्यक्रममा हाँस्यव्यंग प्रस्तुत गर्दै आएका सुमन चाडपर्वमा घर आएर हतार–हतार फर्किहाल्थे। 'यसपटक परिवारलाई समय दिएर तिहार मनाउछु, गाउँघरको साथी भाईसँगको रमाइलो त छदैछ,' उनले भने।  

प्रकाशित मिति: : 2021-11-03 19:00:00

प्रतिकृया दिनुहोस्