लर्खराउँदैछ 'हात्ती', चम्कदैछ 'गधा' : 'ट्रम्पेरिका'बाट मुक्त हुदैँछ अमेरिका

सयुंक्त राज्य अमेरिका यतिबेला रातो र नीलो रङमा सजिएको छ। कुनै तेस्रो रङ छ भने पनि त्यो रङ यिनै दुई रङको अनुपातिक मिश्रणभन्दा पर छैन। हरेक चार वर्षमा एकपटक अमेरिका यिनै दुई रङको अंकगणितमा खेलिरहेको हुन्छ। यो त्यस्तै एउटा वर्ष हो, जुन वर्ष अमेरिका बाँकि चार वर्षका लागि रातो हुने हो कि निलो हुने निर्णय हुन्छ। त्यसका लागि नोभेम्बर महिनाको पहिलो सोमबारपछिको मंगलबार पर्खनुपर्ने हुन्छ। यस वर्ष त्यो मंगलबार नोभेम्वर ३ तारिखमा परेको छ। अबका १८ दिनपछि त्यो दिन आउँदैछ।

त्यो चीर प्रतिक्षित दिनका लागि यतिबेला निलो र रातो रङको यो जोड घटाउले बनाएको 'स्टार्स एण्ड स्ट्राइप्स' क्यान्भासमा नीलो गधा र रातो हात्ति दौडिरहेका छन्। निलो गधामा डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडन सवार छन् भने रातो गधामा रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेद्वार डोनल्ड ट्रम्प। यी दुईको नेतृत्वमा लगभग सिंगो चिरामा बाँडिएर अमेरिकी जनता यो दौडको साक्षी किनारामा बसेका छन्।

हरेक चार वर्षमा आयोजना हुने यो दौडमा सवार व्यक्तित्व फेरिए पनि लक्ष्य भने एउटै हुन्छ, २७० इलेक्ट्रोल कलेज मत। अमेरिकामा बहुमत ल्याएर हुँदैन, अजबको गजबको त्यही जादुगरी संख्या ल्याउनुपर्छ लक्ष्य भेट्नलाई। जसले त्यो लक्ष्य हासिल गर्छ उसले चार वर्षका लागि ह्वाइट हाउस पाउँछ। सेतो रङको यो घर संसारकै एक मात्र महाशक्ति राष्ट्र भनिने अमेरिकाका राष्ट्रपतिको कार्यालय र निबास हो। यो घरमा ४६औं रोलकम्रमा बस्ने को हुन्छ ?;  हात्तीवाला ट्रम्प या गधावाला बाइडन ?, आगामी नोभेम्बर ३ ले त्यसैको छिनोफानो गर्नेछ।

यतिबेला अमेरिका त्यही पात्र छिनोफानो गर्ने पूर्वसन्ध्यामा छ। त्यसका लागि अमेरिका भित्र र बाहिर रहेका लाखौ अमेरिकी मतदाताले मतदान गरिसकेका छन्। मेल ब्यालेट, एब्सेन्टी ब्यालेट, अर्ली भोटिङ भनिने त्यो मतपत्र शिलबन्दी भएर मेलबक्समा खसिसकेको छ। यो क्रम लगभग अक्टोबरको अन्तिम समयसम्मै जारी रहने छ। कतिसम्म जारी राख्ने?, त्यो चाँहि सम्बन्धित राज्य सरकारले निर्धारण गर्छ। सामान्यत: रातो रङका राज्यले कम राख्छन्, नीलो रङका राज्यले बढी।  

चीर प्रतिक्षित नोभेम्बर ३ आउँन अब १८ दिन मात्र बाँकि छ। अहिलेको अवस्थामा १६ राज्य गाढा नीलो भएर गधाका लागि १९५ इलेक्ट्रोल कलेज मत १९५ सुरक्षित देखिएको छ भने २२ गाढा राता राज्यले हात्तीका लागि १७९ इलेक्ट्रोल कलेज मत मात्र सुरक्षित गरेको छ। १६४ इलेक्ट्रोल कलेज मत अमेरिकी चुनावी भाषामा स्विङ स्टेट्स वा ब्याटल ग्राउण्ड स्टेट भनिने नौ राज्यमा रहेको छ। रङ फेरिरहने यी राज्यले नै निलो गधा चम्काउने कि रातो हात्ती लम्काउने निर्णय गर्ने हुन्। 

पछिल्ला समय गरिएका सबै  राष्ट्रिय सर्भेक्षणले नीलो गधा चम्केको र रातो हात्ती थाकेको देखाएका छन्।अमेरिकी राजनीतिक पण्डितहरू पनि विभिन्न मोडलको सन्दर्भ दिदै नीलो गधाको पक्षमा २९० कलेज इलेक्ट्रोल मत पुगिसकेको बताउन थालेका छन्। यद्यपि, रातो हात्तीमा सवार ट्रम्प र उनका अनुयायीहरू २०१६ को राष्ट्रपति चुनावमा मत सर्भेक्षण गर्नेहरू चक्मा खाएको बताउँदै यसपटक पनि त्यस्तै हुने बताइरहेका छन्। तर, उनीहरू अनुहारले भने त्यस्तो बताइरहेको छैन। कलेटी परेका ओठबाट निस्किने शव्दले ओज हराउँदै गएको प्रष्ट देखिन्छ। अहिले उनीहरू भगवानको शरणमा परेर भन्न थालेका छन्, 'यसअघि जसरी नै यसपटक पनि भगवानले ट्रम्पलाई राष्ट्रपति बनाउने छन्।'

तर, यसपटक भगवान पनि दाहिना छन् जस्तो देखिएको छैन। ट्रम्पका लागि एकपछि अर्को गरेर अशुभ समाचार आइरहेका छन्। त्यसमा पनि अहिले उनी स्वयं कोभिड- १९ बाट संक्रमित भएका छन् । प्रथम महिला मेलानियासँगै छोरा ब्यारन अनि ह्वाइट हाउसका उनका एकसेएक योद्धालाई कोरोनाले ढालिरहेको छ। चुनावको मुखमा ह्वाइट हाउस कोरोनाको हटस्पट भएको छ र रातो हात्तीसँगै यसमा सवार सेनापति ट्रम्प पनि ढलेका छन्।   

यो परिघटना जुन समयमा भएको छ, त्यो सामान्य छैन। जीवन र मरण प्रश्न बनेको राष्ट्रपति चुनाव लगभग तीनसाता बाँकि रहदा सिर्जना भएको यो अवस्था अमेरिकाको इतिहासमै एउटा अकल्पनीय अवस्था हो। त्यसमा पनि राष्ट्रपति ट्रम्प अमेरिकाका यसअघिका राष्ट्रपति जस्ता छैनन्। उनी के गर्छन् भन्दा पनि के गर्दैनन् भन्ने एन्टी थेसिसमा अमेरिकी मूल्य मान्यताको नयाँ अध्याय लेखिरहेका छन्।

कोभिड- १९ बाट संक्रमित ट्रम्पले अस्पताल भर्ना भएपछि जे जस्ता क्रियाकलाप गरिरहेका छन्, ती आफैंमा अचम्मलाग्दा छन्। उनी कोभिड- १९ संक्रमित भएपछि पनि जानकारी नदिई सार्वजनिक कार्यक्रममा सहभागी भएको प्रमाण मिलेको छ। कोभिड १९ संक्रमित भएको स्वीकार गरेर अस्पताल पुगेका उनी तीन दिनमै ह्वाइट हाउस फर्केर ओभल अफिस पुगेका छन्। १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने आफ्नै प्रशासनको सीडीसी गाइडलाइन्सलाई उनले ठाडै उलंघन गरेका छन्। यसले अमेरिकी राष्ट्रपतिलाई कुनै कानुन नै नलाग्ने जस्तो अवस्था देखिन पुगेको छ। बहुमत अमेरिकी जनता यसले अमेरिकी सभ्यताको मानक खस्किएको र अमेरिकी प्रतिष्ठा दाउमा लागेको  अनुभूति गरिरहेजस्तो देखिन्छ। 

राष्ट्रपति ट्रम्प ओभल अफिस फर्केपछि उनले गरेका ट्विट र लिएका निर्णय हेर्यो भने उनी सामान्य अवस्थामा छन् जस्तो देखिएको छैन। यसले यसअघि नै धेरै अप्ठ्यारोमा पुर्याएको उनको चुनावी क्याम्पेन थप अप्ठ्यारोमा पुगेको छ। हुँदाहुँदा उनी ठाडै भनिरहेका छन्, यो चुनाव म जित्छु, मैले हार्नु भनेको धाँधली हुनु हो। त्यस्तो निर्णय मान्न म बाध्य छैन।'

उनको यो पछिल्लो भनाइ अमेरिकी प्रजातन्त्रसँग संगति मिल्ने कुरा मानिदैन। तर, उनले त्यसो नगर्लान् भन्न सकिन्न। पछिल्लो समय अमेरिकी सर्वोच्च अदालमा अनुदारवादी न्यायाधीशको नियुक्ति गरेर ६ ३ को बहुमत पुर्याउने हतारो पनि यसैसँग जोडिएको छ। चुनावी नतिजालाई अदालतमा पुर्याउने र आफ्नो पक्षमा निर्णय गराउन नै यो हताराो गरिएको ट्रम्प समर्थक सिनेटरहरू नै भनिरहेका छन्। स्वयं ट्रम्पले भनेका छन्, 'चुनावपछिको अवस्थामा हामीलाई पुरै कोरम पुगेको ९ सदस्यीय सर्वोच्च अदालत चाहिन्छ।' 

यसैबीच  ट्रम्पको स्वास्थ्य अवस्था र उनको उम्मेद्वारीलाई लिएर अब के हुन्छ ? भन्ने प्रश्न पनि उब्जिएको छ। ट्रम्प उम्मेद्वार भएको मतपत्रमा दशौ लाख अमेरिकीले मतदान गरिसकेका छन्। उनी स्वस्थ भएर आफ्नो उम्मेद्वारी कायम राख्न सके भने त समस्या भएन । तर, अन्यथा भयो भने के हुन्छ ? अमेरिकाले यसअघि यस्तो प्रश्नको कहिल्यै सामना नगरेकाले यसको उत्तर ऊसँग छैन। त्यसमा पनि ट्रम्पले अमेरिकालाई ठाडै दुई चिरामा विभाजित गरेर अप्ठ्यारो अवस्थामा पुर्याइदिएकाले पनि दुबै चिराका अमेरिकीलाई मान्य हुने समाधान खोज्न सहज छैन। 

राष्ट्रपति ट्रम्पलाई कोभिड १९ भएपछिको चुनावी अंकगणितको आँकलन सुरू भएको छ। उनका प्रतिपक्षीहरू यो घटनाले उनको दोस्रो कार्यकालको दाबी अरू फिक्का भएको बताइरहेका छन्। केही समयअघि सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति, चीन सम्बन्ध, डेमोक्रेटलाई लगाइएको कम्युनिष्टको बिल्लाफगायतका मुद्दामा भड्किएको अमेरिकी चुनाव अब कोभिड १९ माथिकै जनमत संग्रहका रूपमा फर्केको उनीहरूको विश्वास छ। कोभिड १९ लाई होक्स भनेर ठाडै नकारिरहेका राष्ट्रपति ट्रम्प र उनको दक्षिणपन्थी किल्ला पूरापूर कोरोनाको इपिसेन्टर बनेपछि अमेरिकी जनतामा उनीमाथिको विश्वास पातलिनु स्वभाविकै हो। 

अमेरिकामा राष्ट्रपतिको स्वास्थ्य अवस्थाको ठूलो अर्थ हुन्छ। उनीहरू शारीरिक र मानसिक दुबै कोणबाट एक स्वस्थ राष्ट्रपति चाहन्छन्। ट्रम्पको मानसिक स्वास्थ्यका बारेमा त यसै पनि प्रश्न छ नै, शारीरिक स्वास्थ्यका बारेमा पनि प्रश्नचिन्ह लागेको छ। यो संक्रमणले उनलाई रोग प्रतिरोधात्मक क्षमता नभएको एक रोगी मानिसको रूपमा प्रस्तुत गरेको छ। यसअघिका दृष्टान्त हेर्दा के पाइन्छ भने अमेरिकी मतदाता एक रोगी उम्मेद्वारलाई राष्ट्रपति छान्न तयार हुदैनन् ।

तर, ट्रम्प समर्थकहरू उनका प्रतिस्पर्धीहरूको मतसँग सहमत छैनन्। उनीहरू आफ्ना नेता कोभिड १९ ले पराजित गरेको र एक योद्धाका रूपमा अमेरिकी मतदाताको भारी मतका साथ दोस्रो कार्यकालका लागि विजयी हुने विश्वास गर्छन्।उनीहरूलाई लागेको छ, भगवानले उनलाई नयाँ जीवन दिएर अमेरिकी जनताका लागि पठाउँछन्। यसअघि जसरी भगवानको इच्छामा उनी राष्ट्रपति चुनिए, यसपटक पनि त्यही दोहोरिन्छ। 

यसरी ट्रम्पका समर्थक र विरोधीहरू परस्पर विरोधी आशा र विश्वासको आँकलन गरिरहेको बेला केही राजनीतिक पण्डित भने ट्रम्पको स्वास्थ्यमा गम्भीर समस्या आएमा नोभेम्बर ३ मा चुनाव हुने कुरामै शंका व्यक्त गर्छन्। उनीहरूको मत छ, यस बारेमा अमेरिकी संविधान मौन छ। त्यही मौनताको आफू खुशी अर्थ लगाएर यहाँ  के हुन्छ भन्दा पनि के हुदैन भन्न सकिन्छ। 

राष्ट्रपति ट्रम्पलाई कोभिड १९ संक्रमण भएको पछिल्लो परिघटनालाई लिएर अमेरिकामा केही कन्स्पिरेसी थ्यौरी पनि बाहिरिएका छन्। उनीहरू मत छ, राष्ट्रपति ट्रम्पले हार्ने अवस्था सिर्जना भएकाले यो उनले जानी बुझिकन गरेको एक नाटक मात्र हो। उनलाई पहिलै कोभिड १९ भैसकेको थियो, जित्ने अवस्था भएको भए उनले यसलाई अनेक उपाय लगाएर पनि बाहिर ल्याउदैन थिए। तर, जब त्यो सम्भावना रहेन, त्यसमा खेल्ने उनको यो दाउ हो। उनी चुनावलाई पर धकेल्न चाहन्छन्। 

झट्ट सुन्दा विश्वासै गर्न नसकिने जस्तो लाग्छ यो अनुमान। तर, राजनीतिमा जे पनि सम्भव हुन्छ भन्ने संकथन नै छ। त्यसमा पनि ट्रम्पले गर्ने राजनीतिमा त केही पनि नाजायज छैन भन्ने जस्तो स्थिति नै बनिसक्यो। हुँदाहुँदा उनले आफ्नो विश्वसनियता यति धेरै गुमाएका छन् कि उनका आफ्नै समर्थक पनि भन्छन्, ' हो ट्रम्पले ढाँट्छन् तर पनि हामीलाई उनको त्यही ढाँट्ने बानी नै राम्रो लाग्छ।'  

बितेको चार वर्षमा ट्रम्पले अमेरिकालाई ट्रम्पेरिका बनाइ दिए। अमेरिकीले संसारलाई पढाउने गरेका लोकतन्त्रका सारा पाठ उनले उल्ट्याइ दिए । र, अमेरिका जे देखिन्छ त्यो हैन भन्ने प्रमाणित गरिदिए। अमेरिकी समाजशास्त्री चिन्तक नोम चोम्स्कीले भनेकै छन्,  अमेरिकाको लोकतान्त्रिक रूप शक्तिशाली अमेरिकी मिडियाले बनाइदिएको हो भने सार चाँहि फेरि पनि टु जी अर्थात् 'गन' र 'गड'ले नै बनाइ दिएको हो। ट्रम्प त्यही सिक्काको एक मोहरा हुन्। 

अहिलेको अवस्थामा अमेरिकामा अब के हुन्छ ? यसको उत्तर कसैको पनि अधिनमा छैन। अहिलेलाई यति भन्न सकिन्छ, 'भगवान, अमेरिकालाई आशीष देऊ। तर, त्यसको परिणाम के हुन्छ त्यो भगवान छन् भने उनैलाई पनि थाहा छैन।'

प्रकाशित मिति: : 2020-10-18 01:34:00

प्रतिकृया दिनुहोस्