कविता

म बिरानो मान्छे

उमेश लुइटेल

काठमाडाैं

म मान्छेको भिडभित्र बिल्कुल अपरिचित मान्छे
एकलास बगरमा अलमलिएको यात्री।

लाग्छ माटोसँग पुरानो परिचय छ
त्यसैले आँगनमा चिप्लिँदा आँगनकै माटोले
हात टेक्न दिएर जुरुक्क उठाउँछ।

पसिनाले निथ्रुक्क भिजेको शरीरमा माटो ट्याप्प टाँसिन्छ
आलीको सिंहासनमा टुक्रुक्क बसेर
अन्न मुस्कुराएको तस्बिर सम्झिँदा
खेतबारी नजिकको साथी लाग्छ।

यदाकदा ढुङ्गाले ठेस लगाउँछ
रगत बगाउँछ / घाउ बिसेक भएपछि
ढुङ्गाले फेरि नलड्न सचेत गराउँछ
म अक्सर मान्छेकै ठेस लागेर लडिरहने मान्छे!

जसै बालुवा आँखाको सहरमा मडारिन्छ
पानी सुदामा बनेर मेरा आँखालाई निस्वार्थ सफा गरिरहन्छ
शीतका थोपाहरू मेरो शिरमाथि मुकुट बन्छन्
तर म जाडोको प्रदेशमा जाडो बोकी हिँड्ने
फगत् एउटा चुनावी भोट मात्र ठहरिन्छु।

साथी त कति रहेछन् कति
जस्तो फूल झर्छन् / मलाई खुसी राख्न
आफू नसुकुन्जेलसम्म
सुक्तै सुक्तै गरेको मुस्कान देखाउँदै मुस्कुराइरहन्छन्
गाईहरू मेरा पदचाप सुनेर जुरुक्क उठ्छन्
घाँटी तन्काउँछन् / हातका सुमसुम्याइले सन्चो भएको महशुस गराउँछन्
जिब्रोले चाट्दै ल्याफ्फ भिजेको पुच्छर छ्याप्प पार्छन्
सम्झन्छु मेरो बस्तीमा सद्भावभन्दा
गोबर गुणकारी भएको छ
मान्छेको मुस्कान पनि नक्कली छ।

चिन्छन् मलाई छानुका छिद्रहरुले चिन्छन्
टाल्छु / मक्किन्छन्
ङिच्च दाँत देखाए जसरी फेरि प्वाल पर्छन्
लाग्छ टाल्ने र प्वाल पर्ने खेलसँग अभ्यस्त छु
साँघुरो जस्केलोमा खिरिलो शरीर बोकेर खुसीले सुतेको उज्यालोले मेरो घरलाई आलोकित बनाउँछ
उफ ! म उज्याला मान्छेका अँध्यारा चालसँग खेलिरहेछु।

म मान्छेको भिडबाट बिरानो बनाइएको मान्छे
अहिले म उडिरहेका कपासका भुवाको बुट्टे टोपी लगाएर
पातले शीतका गुच्चा खेलाइरहेको दृश्य हेरिरहेछु
कविता खोजिरहेछु!

प्रकाशित मिति: : 2024-05-04 16:30:00

प्रतिकृया दिनुहोस्