नेपाल भाषासाहित्यमा युवाको आकर्षण बढाउन जोड

सांकेतिक तस्बिर

युवा साहित्यकारलाई नेपाल भाषा साहित्यमा आकर्षित गराउनुपर्नेमा जोड दिइएको छ। 

भक्तपुरमा आज आयोजित विराट् नेपाल भाषा साहित्य सम्मेलन गुठीको ५९ औंँ सम्मेलनमा सहभागीले युवालाई नेपाल भाषा साहित्यमा अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्ने सुझाव दिए।

सम्मेलनको उद्घाटन गर्दै गुठीमा पूर्वाध्यक्ष गोविन्दमान श्रेष्ठले उनले मुलुकमा विभिन्न कालखण्डमा राजनीतिक परिवर्तन हुँदै गणतन्त्र स्थापना भइसक्दा पनि भाषासाहित्यको विकासमा सरकारले उचित ध्यान नदिएको गुनासो गरे। उनले भाषाका माध्यमबाट सामाजिक चेतनासमेत जगाउन सकिने बताउँदै भाषासाहित्यको जगेर्नाका लागि नयाँ पुस्ताको आगमन आवश्यक भएको बताए।

गुठीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले नेपाल भाषासाहित्यको उत्थान र नयाँ पुस्तालाई साहित्यमा अभिरुचि जगाउन सम्मेलन आयोजना गरिएको बताए।
 
नेपाल भाषासाहित्यको विकास, संरक्षण र सम्र्बद्धनको उद्देश्यले स्थापित गुठीको सम्मेलनमा विभिन्न साहित्यकारले आआफ्नो रचना वाचन गरेका थिए।

सम्मेलनमा नेपाल भाषाका साहित्यकार रेणु श्रेष्ठ, सौरभ शाक्य, न्हुँछेभक्त कवाँ, शरद कसा, नारायण बज्राचार्य,  राजभाइ जकमी, वसन्त नकर्मी, हरिगोविन्द, गोविन्दमान श्रेष्ठलगायतले नेपाल भाषामा कविता वाचन गरेका थिए। त्यसैगरी तेजकृष्ण श्रेष्ठ, नरेन्द्रप्रसाद जोशी र बाबुकाजी सुवालले गजल र सुरेश प्रधान र धर्मराज राजकर्णिकारले हाइकु वाचन गरेका थिए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर तहमा नेपाल भाषामा नेपाल प्रथम कवीन श्रेष्ठलाई गुठीका संस्थापक  रत्नगोपाल साँयजुका स्मृतिमा उनको परिवारले स्थापना गरेको विराट् ज्वलन्त सिरपा र गत वर्षको एसइई परीक्षामा नेपाल भाषामा सर्वोत्कृष्ट अंक ल्याउन सफल सुस्मिता राजभण्डारीलाई नेपाल भाषा पदकले सम्मान गरिएको थियो।

सो अवसरमा गुठीका कोषाध्यक्ष रामगोपाल चगुठी, साहित्यकार नवीनप्रकाश श्रेष्ठ, सम्मानित व्यक्तित्व श्रेष्ठ र  राजभण्डारीलगायतले गुठीले नयाँ पुस्तालाई नेपाल भाषासाहित्यका क्षेत्रमा आकर्षित गराउन तथा उनीहरुको अभिरुचि अभिवृद्धि गराउन कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिएका थिए। 

पञ्चायतकालमा नेपाल भाषा साहित्यका माध्यमबाट जनतामा राजनीतिक चेतना ल्याउने र मुलुकमा प्रजातन्त्रको स्थापना गर्ने तथा विभिन्न जनजातिका भाषा, साहित्य, कलासंस्कृतिको विकास विस्तार गर्ने उद्देश्यले गुठी स्थापना गरिएको जनाइएको छ। रासस 

प्रकाशित मिति: : 2020-10-28 18:33:00

प्रतिकृया दिनुहोस्