अश्वेत व्यक्तिको मृत्युपछि फिलाडेलफियामा प्रदर्शन र लुटपाट, प्रशासनद्वारा कर्फ्यू घाेषणा

बिएल संवाददाता

न्यूयाेर्क

प्रहरीको गोली लागेर एक अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेलफियामा कर्फ्यू घाेषणा गरिएकाे छ।

लगातार प्रदर्शन तथा लुटपाट हुँदा नेपाली समय अनुसार बिहीबार बिहान पौने ६ बजेदेखि स्थानीय प्रशासनले पेनसिलभेनिया राज्यको फिलाडेलफियामा कर्फ्यू घाेषणा गरेकाे हाे।

सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएको थियो। 

हातमा रहेको चक्कु छोड्न गरिएको आग्रह अस्वीकार गरेका कारण वाल्टरमाथि प्रहरीले गोली चलाएकाे थियाे। 

वाल्टरको परिवारले प्रहरीले गोली हानेको समयमा उनी मानसिक स्वास्थ्य सम्बन्धी समस्यामा रहेको बताएको छ। 

वाल्टरको मृत्युपछि प्रहरी ज्यादतीको विरोधमा प्रदर्शन भएको छ। प्रदर्शनको क्रममा झडप भएका छन् भने केही स्थानमा लुटपाट समेत भएको छ।  

सुरक्षा व्यवस्थाका लागि पेनसिलभेनियाका नेशनल गार्ड तथा प्रहरी तैनाथ भएका छन्। अमेरिकामा पछिल्लो समय अश्वेत व्यक्ति प्रहरीबाट मारिने र त्यसविरुद्ध प्रदर्शन हुने क्रम जारी छ।

मिनेसोटाको मिनियापोलसका जर्ज फ्लोइडको प्रहरी ज्यादतीका कारण निधन भएपछि अमेरिकाभर प्रदर्शन भएको थियो। सो बेला फिलाडेल्फियामा पनि प्रदर्शन भएको थियो र अहिले त्यहिँ अश्वेत व्यक्तिको निधनले त्यसलाई झन सघाउ पुगेकाे छ।

प्रकाशित मिति: : 2020-10-29 08:00:00

प्रतिकृया दिनुहोस्