ब्लग

पीएचडी उपाधि चाहिन्छ ? पैसा खर्च गर्नुहाेस्- हाजिर हुन्छ !

घटना नं. १: नेपाली पत्रकारितामा एउटा उचाइ बनाइसकेका र विवादरहीत एक मान्यवर अमेरिका अध्ययनको लागि आए। अध्ययन पश्चात विश्वविद्यालयहरुले सम्भवत अध्ययन सकेका सबै विद्यार्थीहरुलाई प्रदान गर्ने प्रमाणपत्र, जसमा ‘तपाईंजस्तो जेहेन्दार विद्यार्थीले हाम्रो विश्वविद्यालय छनौट गर्नुभएकोमा धन्यवाद’ लेखिएको हुन्छ। त्यो पत्रलाई आफ्नो सम्बन्धको उपयोग वा दुरुपयोग गर्दै आफूले मात्र प्राप्त गरेको जस्तो गरेर नेपालका नम्बर एकदेखि बिना नम्बरसम्मका अनलाइन पोर्टलहरुमा ‘फलानोजीलाई ढिस्कानो विश्वविद्यालयद्वारा यस्तो र उस्तो पत्र प्रदान गरेको छ’ भनेर समाचार प्रकाशित गर्न लगाए। त्यसपछि उनको जुन फजिती भयो त्यसकारण उनी केही समय सार्वजनिक जीवनबाट नै बेपत्ता भए।

घटना नं.२: अमेरिकामा घण्टे काम गर्ने तर आफूलाई चर्चित युवा नेता दाबी गर्ने अर्का मान्यवरले अमेरिकी सरकारले प्रदान गरेको पदक भनेर फोटोसहित स्ट्याटस अपडेट गरे, जबकी त्यो र त्यस्तै प्रकारका पदक तथा प्रमाणपत्र यहाँ पैसा तिर्‍याे भने सजिलै खरिद गर्न पाइन्छ। त्यस्तो पदकको कुनै औचित्य हुँदैन तर अर्काको अगाडि आफूलाई विशेष मान्छे हुँ भनेर फूर्ति लगाउनसम्म पाइन्छ।

घटना नं. ३: करिब तीन वर्षअघि एक मान्यवरले तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘मलाई तपाईंसँग मिलेर नेपाल र नेपालीको हितमा कम गर्न मन लागेको र तपाईंसँग काम गर्न पाए मैले आफूलाई भाग्यमानी सम्झिने’ आसयको इमेल फेसबुकमा पोस्ट गरे, जबकी त्यो एउटा अटोमेटेट इमेल थियो। र, जसले जे लेखेको इमेल भए पनि एउटै भाखाको जवाफ अटोमेटिक रुपमा आउँथ्यो वा आउँछ। ती मान्यवर हाल के सोच्दै होलान् ? आफ्नो बेबकुफी सम्झेर हाँस्दा हुन् कि रुँदा हुन् ?

नेपाली अनलाइन पोर्टलहरुमा फलानोलाई विद्यावारिधि, ढिस्कानोलाई यो र ऊ पदक, फलानोको नाम र परिचय ‘हु इज हु’ (को को हुन) नामक पुस्तकमा समावेश गरिएको समाचार आउने गर्छ। यहाँ केही पैसा खर्च गर्‍याे भने पिएचडी (विद्यावारिधि)को प्रमाणपत्र, गाउन र फुर्को भएको टोपी, प्रेसिडेन्ट सोसल सर्भिस अवार्ड, प्रेसिडेन्ट स्पोर्ट्स पर्सन अवार्ड, प्रेसिडेन्ट ह्युम्यान राइट अवार्डजस्ता पदक र प्रमाणपत्र खरिद गर्न पाइन्छ र हु इज हु नामका बग्रेल्ती पुस्तकहरुमा आफ्नो नाम, काम र परिचय प्रकाशित गर्न सकिन्छ, जसको कुनै छानबिन हुँदैन।

यो आलेख वास्तविक पिएचडी (डक्टरेट अफ फिलोसफी) गर्नेहरुप्रति नभएर पिएचडी (फ्री होम डेलिभरी) गर्नेप्रति समर्पित छ। निश्चित शुल्क बुझाएर यस्तो नक्कली पदक र उपाधी किन खरिद गर्ने होला र त्यस्तो कार्यले कस्तो फाइदा हुन्छ ? त्यो पंक्तिकारले बुझ्न सकेको छैन तर यस्ता कार्यहरुले आत्मरतिमा डुब्नुबाहेक अर्को कुनै लाभ नहुने पंक्तिकारको बुझाइ छ। अरुले थाहा पाउँदा आफू हाँसोको पात्र बन्न सकिने खतरा सधैं रहन्छ।

यो आलेख पढेर वास्तविक रुपमै पिएचडी गरेका र पदक तथा प्रमाणपत्र प्राप्त गरेका सम्मानित व्यक्तिहरुले आक्रोशित हुनुपर्ने कुनै कारण छैन र जसले त्यस्तो छलकपट गरेका छन् त्यस्ता मान्छेहरु उत्तेजित भएमा म आफूलाई सफल भएको ठान्नेछु। र, कसैलाई यस्तो पदकहरु र पिएचडीको उपाधिको आवश्यकता भएमा र हु इज हु मा नक्कली रुपमै नाम र परिचय प्रकाशित गर्ने इच्छा भएमा मलाई navin.rayamajhi@gmail.com मा सम्पर्क गर्नुहोला। म तपाईंलाई सहयोग गर्न तयार छु तर पैसा तपाईंले तिर्नुपर्छ।

प्रकाशित मिति: : 2023-03-22 10:00:00

प्रतिकृया दिनुहोस्