भारतका कारण सीमास्तम्भ पुनर्स्थापनामा ढिलाई

छिमेकी देश चीन र भारतले नेपालको भूभाग मिचेको खबर सार्वजनिक भइरहेका बेला नेपाल–भारत सीमास्तम्भ पुनर्स्थापना कार्यमा भारतले असहयोग गरेको पाइएको छ। 

भारतीय पक्षको असहयोग कै कारण सीमास्तम्भ पुनर्स्थापनामा ढिलाई भएको नेपाली पक्षको दावी छ। सीमास्तम्भ पुनर्स्थापना कार्य सुरु गरेको ६ बर्ष बितिसक्न लाग्दा पनि सिरहा र सर्लाही जिल्लामा मात्रै पुनर्स्थापना कार्य सकिएको छ। 

‘६ बर्षमा यी दुई जिल्लामा गरि कूल १ सय ९९ वटा मात्र सीमास्तम्भ पुनस्र्थापना गर्न सक्यौँ,’ दुई देशीय वाउण्ड्री वर्किङ ग्रुपमा रहेका नेपाल पक्षका एक प्रतिनिधिले विएल नेपाली सेवालाई बताए।

नेपाल भारत सीमा विवाद बढेपछि दुबै देशले आफ्ना आधिकारीक प्रतिनिधिमार्फत नाप जाँच गरि दुबै देशबीच सीमा क्षेत्रमा पर्ने आ–आफ्नो भूभागमा सीमास्तम्भ पुनर्स्थापना गर्ने सहमति भएको थियो। 

दशगजा हुँदै बग्ने खोला र खहरेले दशगजा क्षेत्रमा स्थापना गरिएका दुबै देशका सीमास्तम्भ बगाउन र पुर्न थालेकाले नेपाल भारतबीच सीमाको बिषयलाई लिएर विवाद चुलिएको थियो।

विवादलाई समाधान गर्न भन्दै दुबै देशका प्रतिनिधि सम्मिलित नेपाल–भारत दुई देशीय बाउण्ड्री वर्कीङ समूह गठन गरेर दशगजा क्षेत्रमा सीमास्तम्भ पुनर्स्थापना गर्ने सहमति अनुसार सीमास्तम्भ पुनस्र्थापना कार्य सुरु गरिएको थियो।

दुई देशीय बाउण्ड्री वर्कीङ समूहमा नेपालका तर्फबाट नापी विभागका डिजी, परराष्ट्र मन्त्रालयका सहसचिव, गृह मन्त्रालयका सहसचिव, नेपाली सेना, सशस्त्र प्रहरीका प्रतिनिधि रहने व्यवस्था छ भने भारतबाट सर्वे डिपार्टमेण्टका डिजीलगायत सुरक्षा अंगका जिम्मेवार प्रतिनिधि रहने व्यवस्था गरिएको छ।

दुबै देशका प्रतिनिधि सम्मिलित सर्भे अफिसियल कमिटीले स्थलगत रुपमा अनुगमन गरेर निर्णय गरेपछि उसले तोकेको स्थानमा सीमास्तम्भ पुनर्स्थापना गर्ने प्रवधान बनाइएको थियो।

तर भारत पक्षले पर्याप्त समय नदिँदा सीमा स्तम्भ पुनर्स्थापना कार्य ढिलाई भएको बताइएको छ।

‘जति ताकेता गरेपनि उहाँहरु (भारत पक्षका प्रतिनिधि) आनाकानी मात्रै गर्नुहुन्छ,’ सीमा सर्भे अफिसियल कमिटीमा आवद् नेपाल पक्षका एक प्रतिनिधीले भने, ‘भारत पक्षले बेवास्ता गर्दा सीमास्तम्भ पुनर्स्थापना कार्य ढिला भएको हो।’

नेपाल–भारत सीमा पुनस्र्थापना समूहमा नेपालको प्रतिनिधि रहेका नापी विभागका दयानन्द जोशीले भने, ‘अहिले त कोभिड–१९ का कारण कुनै छलफल हुन पाएको छैन।’

जोशीले यस बिषयमा त्यति खुलेर बताउन चाहेनन्। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले सिरहामा सीमास्तम्भ पुनर्स्थापना कार्यसम्पन्न भइसकेको बताउँदै भने, ‘अन्यत्र किन ढिला भयो मलाई जानकारी छैन।’

सीमास्तम्भ पुनर्स्थापनामा सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीको प्रत्यक्ष सहभागिता रहने गरेको सशस्त्र प्रहरी सिरहाका एसपी दीपेन्द्र गिरीले बताए।
बोल्दैन प्रदेश सरकार

प्रदेश दुईमा जनता समाजवादी पार्टीको एकमना सरकार छ। सीमास्तम्भ पुनर्स्थापना ढिला भएको बिषयमा प्रदेश–२ को सरकारले केही बोलेको छैन। प्रदेश–२ सरकारका प्रवक्ता समेत रहेका कानुनमन्त्री ज्ञानेन्द्र यादवले यस बिषयमा प्रदेश सरकारलाई कुनै जानकारी नभएको बताए।

प्रकाशित मिति: : 2020-11-01 09:24:00

प्रतिकृया दिनुहोस्