जल र जीवनका कथाहरू (इपिसाेड-२)

ढुङ्गेधारामा ‘प्राण’ खोजिरहेको ‘प्यासमाण्डु’

तस्बिर: मेट्रोन्युज
तस्बिर: मेट्रोन्युज

काठमाडौँ महानगरपालिका–१ नक्सालस्थित नन्दिकेशरी बगैचा छ। बगैचा परिसरमा एउटा ढुङ्गेधारा (गा:हिटी) पनि छ। तर यस ढुङ्गधाराबाट पानी नझरेको वर्षौँ भइसकेको थियो। 

मंगलबार (जेठ २९ गते)देखि भने धाराबाट पानी रसाउन थालेको छ। ‘धारामा पहिल्यैदेखि पानी हराएको थियो। हिजो (मंगलबार) देखि धारामा पानी आउन थालेको छ’, वडा नम्बर १ का वडा सदस्य शुभरत्न नेपालीले भने। 

के चमत्कारले ढुङ्गेधारामा पानी आयो? चमत्कार होइन। एक वर्षदेखिको प्रयासले धारामा पानी आएको हो। महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले यहाँ पानीको निकासका लागि स्थलगत अवलोकन, स्थानीयसँग छलफल गरे। 

जसक्रममा ढुङ्गेधारा नजिक रहेका ३ वटा घरले पानीको निकास रोकेको पत्ता लाग्यो। त्यसपछि बालेनले पानीको निकास खोल्नका लागि ३ घरलाई प्रतिघर एक/एक लाख जरिवाना तिराएर उत्खनन् गरे। 

उत्खनन् गरेर पानीको निकास खोलेपछि नन्दिकेशरी बगैचाको ढुङ्गेधारामा मंगलबारदेखि पानी रसाउन थालेको छ। ‘पानीको निकास बन्द भएको रहेछ। निकास खोलेपछि पानी रसाएको छ’, वडासदस्य नेपालीले भने।

काठमाडौँमा सुकेको नन्दिकेशरी बगैचाको ढुङ्गेधारा मात्र होइन। काठमाडौँ उपत्यका (काठमाडौँ, भक्तपुर, ललितपुर)को ऐतिहासिक रुपमा रहेका यस्ता ढुङ्गेधाराहरू कति सुके, कति हराए? एकिन तथ्यहरू भेटिदैन। 

एक सताब्दिअघिमात्र उपत्यकाभर ५७३ ढुङ्गेधारा थिए। ढुङ्गेधारा एकसताब्दिअघिका मात्र होइनन्। यी त उपत्यकामा मानवबस्तीको विकाससँगै यहाँका नागरिकको प्यास मेटाउने मुलनै थिए। 

तर मानवबस्तिको विकास यसरी भयो कि, प्यास मेटाउने ढुङ्गेधाराहरू मेटाइए। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले २०७६ सालमा सार्जनिक गरेको एक अध्ययनले एक सताब्दिअघिका ५७३ धाराहरूमध्य अहिले ९४ धाराहरू हराएका छन्। 

भएका धाराहरूमध्ये अधिकांश धाराहरूमा पानी छैनन्। पानी भएका ढुङ्गेधाराहरूको पानी पनि उपयुक्त तरिकाले प्रयोगमा आउन सकेका छैनन्। 

त्यो बालेनको एक्सन‍..

काठमाडौँ महानगरका मेयर बालेनले ढुङ्गेधाराको खोजी गरिने भनेर गतवर्ष घोषणा गरेका हुन्। त्यो पनि ढुङ्गेधारा संरक्षणका लागि मनाइने पर्ष सिथि नखःको अवसरमा। 

सिथि नख: पर्व प्रत्यक वर्षको जेठ शुक्ल षष्ठी तिथिमा मनाइन्छ। जुन आज (जेठ ३० मंगलबार) मनाइएको छ। गत वर्ष यही पर्वलाई अवसर पारेर बालेलने सामाजिक सञ्जालमा लामो स्टाटसबाट भनेका थिए– ‘निष्क्रिय अवस्थामा रहेका ढुङ्गेधारा ब्यूत्याउनका लागि बजेट छुट्याइने छ।’

त्यसपछि काठमाडौँ महानगरले पालिकाभित्र रहेका ढुङ्गेधाराको खोजी थालेको हो। 

भेटिए ११५ वटा ढुङ्गेधारा

काठमाडौँ महानगरले यस आर्थिक वर्षमा ढुङ्गेधारा, पोखरी, कुवाको खोजी गर्दा ११५ वटा फेला पारेको छ। यस वर्ष महानगरले ढुङ्गेधारा, कुवा, पोखरीको स्रोत खोज्ने, निकास खोज्ने र सरसफाइ गर्ने गरेको छ। 

सरसफाइका क्रममा महानगभित्र ११५ वटा ढुङ्गेधारा, कुवा, पोखरी फेला परेको महानगर सम्पदा तथा पर्यटन विभागका सिभिल इन्जिनियर सुन्दर शंकर विकले जानकारी दिए। 

उनकाअनुसार वडा नम्बर १ मा ६ वटा ढुङ्गेधारा–कुवा फेला परेको छ। वडा नम्बर ४ मा ९ वटा, वडा नम्बर ५ मा ३ वटा, वडा नम्बर ६ मा १० वटा, ७ मा ४ वटा, ८ मा ५ वटा, ९ मा ६ वटा फेला परेका छन्। 

यस्तै वडा नम्बर १० मा ५ वटा, १२ मा १ वटा, १५ मा १० वटा, १६ मा ७ वटा, १७ मा ९ वटा, १८ मा ४ वटा, १९ मा ३ वटा, २० मा ३ वटा, २१ मा १ वटा, २६ मा ५ वटा, २९ मा ४ वटा, ३० मा ३ वटा, ३१ मा ५ वटा र ३२ नम्बर वडामा ९ वटा ढुङ्गेधारा, पोखरी, कुवा फेला परेका छन्। 

फेला परेका मध्य धेरै ढुङ्गेधारा रहेका छन्। निकै न्युन संख्यामा मात्र कुवा, पोखरी भेटिएका छन्। जसको सरसफाइका लागि महानगरले एक जना सुपरभाइजसँगै ८ जना सरसफाइकर्मी खटाएको थियो।  

 

प्रकाशित मिति: : 2024-06-13 11:42:00

प्रतिकृया दिनुहोस्