पाँच मुक्तकाहुति

( स्रग्विणी छन्दमा )

(१) अनुत्तरित 
दीपमाला बले हर्ष उल्लासमा
अश्रुधारा बगे शोक सन्तापमा
सुक्खमा दुःखमा भिन्नता के कसो ?
प्रश्न प्रश्नै उठे भावनाकाशमा

(२) अन्यौल
हेर लौ यो जगत् बुझ्न गार्हो छ है 
गर्न जाँदा भलो हुन्छ उल्टो सबै
धर्ममा पापको पापमा धर्मको
काम गर्छन् यहाँ लोकले मूढझैं

(३) अनासक्ति
चाहिएको यहाँ मिल्नसक्दैन क्यै
पाइएला कि खै चाहना नै नभै
लालसा रोक या थाम इच्छा तिमी
शान्तिको मार्गमा विघ्न गर्छन् सधैं

(४) एकलै परें
जान्छु साथै भनी गर्दथे धाक ता
साथ जानेहरू छोडिए खै कता
व्यर्थमा आस गर्दै बसेको थिएँ
अन्तमा एकलै पो परें है म ता

(५) सतर्कता
कामले क्रोधले मोहले लोभले 
हुन्न केही तरक्की यहाँ क्षोभले
साथमा छन् सधैं ती सबै जान लौ
किन्तु ढोका नखोले बसे होशले

विष्णु पन्थी
याँगौं, म्यान्मा

 

प्रकाशित मिति: : 2020-11-01 13:39:00

प्रतिकृया दिनुहोस्