घोडाबाट लडेका मुख्यमन्त्री शाहीलाई हेलिकप्टरमार्फत् सुर्खेत लगियाे

सीमा निरीक्षणका लागि हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन्। 

सिमीकोट गाउँपालिका ३ को तोर्पा जाने क्रममा हुड्की गाउँ नजिकै घोडाबाट लडेर घाइते भएका उनलाई  टाउकोमा चोट लागेपछि शनिबार बेलुका माउण्टेन एयरको हेलिकोप्टरमार्फत् सुर्खेत लगिएको छ।

शनिबार उनी चीनसँगकाे सीमा नाका निरीक्षणका लागि हिल्सा र लिमी क्षेत्र जाने कार्यक्रम थियो। 

हेलिकोप्टरको उडान अनुमति नपाएपछि उनी सिमीकोट गाउँपालिका ३ को तोर्पा, बरगाउँ र लिमाटाङ्गमा रहेका प्रदेशका योजना अनुगमान गर्न हुड्की पुगेका थिए।

सदरमुकामबाट गाडीमा गएका मुख्यमन्त्री शाहीलाई स्थानीय लामा समुदायले घोडा चढ्न अनुरोध गरेका थिए। मुख्यमन्त्री घोडाबाट लडेर घाइते भएलगत्तै सिमकोटबाट गएको हेलिकप्टरले बरगाउँको बागचाल्नाबाट उद्वार गरेको थियो। 

मुख्यमन्त्रीलाई हेलिकोप्टरमार्फत सुर्खेत लगेर टाउकोको सिटीस्क्यान गरिएको छ। सिटीस्क्यान पछि उनकाे अवस्था सामान्य रहेकाे उनका स्वकीय सचिव सुमन शाहीले बताए।  

प्रदेशका योजना अनुगमनका लागि मुख्यमन्त्री शाहीसँगै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, कर्णाली प्रदेशसभाका प्रमुख प्रतिपक्षी दलका नेता एवम् कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारीलगायत गाउँ पुगेका थिए।

प्रकाशित मिति: : 2020-11-07 20:12:00

प्रतिकृया दिनुहोस्