विद्यार्थीमा काेराेना देखिँदा हुम्लामा विद्यालय बन्द, उच्च सतर्कता अपनाइदै

लामो समयको लकडाउनपछि कार्तिक दाेस्राे साताबाट खुलेका हुम्लाका विद्यालयहरु फेरि बन्द हुने भएका छन्। 

नाम्खा गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय भएकाे हाे।

बुधबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले बिहीबारदेखि जिल्लाभरिका शैक्षिक संस्था बन्द गर्ने निर्णय गर्दै अन्य नागरिकलाई जिल्ला प्रवेशमा रोक लगाएको छ। 

काेराेना संक्रमित बढेपछि जिल्लाका सातवटै गाउँपालिकाका मुख्य नाकामा चेकजाँचमा कडाइ गरेको छ। 

नाम्खा र सिमकोट गाउँपालिकामा बाहिरका मानिस आउन नदिन ३ दिनका लागि नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीले बताए। 

उनका अनुसार नाम्खा गाउँपालिकाको यालबाङमा ४ दिनको अवधिमा ५६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाइएको छ। 

‘सबै स्थानीय तहसँग समन्वय गरेर स्वाब संकलन र परीक्षणको व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छौं,’ उनले भने, ‘७ वटै पालिकामा कन्ट्रयाक्ट ट्रेसिङलाई पनि तीव्रता दिइएको छ। नाम्खामा संक्रमणको दर उच्च रहेको हुँदा चनाखाे हुन परेकाे छ।’ 

लक्षणसहितका कोरोना संक्रमितलाई बाहिरका अस्पतालमा पठाउन प्रदेश सरकारसँग हेलिकप्टर माग गरिएको उनले बताए।

अत्यधिक चिसो हुने हिमाली जिल्ला भएकाले विगतका वर्षमा फागुनमा सुरु भएर कात्तिकमा शैक्षिक शत्र सकिन्थ्यो। तर लकडाउनका कारण बन्द हुने समयमै जिल्लाका विद्यालयहरु खुलेका थिए भने फेरि बन्द गर्नुपर्ने स्थिति आएकाले शैक्षिक सत्र नै लगभग सकिएको छ।

संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्ला अस्पतालका २ भेन्टिलेटर अपुग भएपछि थप माग गर्ने, सिमकोट गाउँपालिकाले जिल्लास्तरीय क्वारेन्टाइनको व्यवस्था गर्ने, प्रत्येक गाउँपालिकामा ५ शय्याको आइसोलेसन र १५ बेडको क्वारेन्टाइन बनाउने लगायतका निर्णय गरेकाे प्रजिअ गिरीले बताए।

प्रकाशित मिति: : 2020-11-19 20:31:00

प्रतिकृया दिनुहोस्