पोखरा प्याराग्लाइडिङ दुर्घटना: पाइलटको मृत्यु, सँगै उडानमा रहेकी युवती घाइते

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ भने उडानमा सँगै रहेकी युवती घाइते भएकी छन्।

सराङकोटबाट उडाएको ग्लाइडर सोमबार दिउसो १ बजेतिर दुर्घटनामा परेको थियो।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालकाअनुसार मृत्यु हुनेमा पोखरा २८, कालिका घर भएका २८ वर्षीय पाइलट राजु गैरे हुन्। उनी फिस्टेल प्याराग्लाइडिङ कम्पनीका पाइलट हुन्।

दुर्घटनामा परी काठमाडौं बुढानिलकण्ठ नगरपालिका २, बासुकीकी २८ वर्षीया शिला श्रेष्ठ घाइते भएकी छन्।

उनको अहिले यहाँको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ।

छाति र खुट्टामा चोट लागेकी घाइते श्रेष्ठको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ग्लाइडर फेवातालको किनारामा ल्याण्डिङ गर्ने क्रममा करिब २ किलोमिटर टाढा खसेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: : 2020-11-23 16:36:00

प्रतिकृया दिनुहोस्