बाँकेको राप्तीसोनारीमा १५ शैयाको अस्पताल सञ्चालन

 बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरमा स्थापित राप्तीसोनारी अस्पताल सञ्चालनमा ल्याइएको छ । 

उक्त अस्पतालको आइतबार एक कार्यक्रमका बीच राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले औपचारिक रुपमा उद्घाटन  गरेका हुन्। उनले अस्पतालको सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे । 

सरकारको नीति अनुसार राप्तीसोनारीमा १५ शैयाको अस्पताल सञ्चालन गरिएको र अस्पताल स्थापना भएपछि गाउँपालिकाबासीलाई धेरै राहत मिलेको उनको भनाइ छ । 

नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार अस्पताललाई नियमित रुपमा सञ्चालन गरिने र अस्पताल सञ्चालनका लागि कार्यविधि बनाउने तयारीमा गाउँपालिका रहेको पनि जानकारी  दिए ।

‘अस्पताल नामाकरणका लागि विभिन्न नाम प्रस्ताव भएपनि अन्तिममा राप्ती सोनारी अस्पताल नामाकरण गर्ने हामीले सर्बसम्मत रुपमा टुंगो लगाएका हौ,’ अध्यक्ष थारुले भने ।  

अस्पतालले यसक्षेत्रका बिरामीलाई सस्तो भन्दा सस्तोमा सेवा दिने थारुको भनाइ छ ।  यस्तै राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारी क्षेत्रमा एमबिबिएस डाक्टरसहितको अस्पताल सञ्चालनमा आएपछि यहाँका जनताले सुबिधा पाएको बताइन् । 

अस्पताल सञ्चालनमा आएसँगै बिरामीहरु सानोतिनो रोगको उपचारका लागि बाहिर जानु नपर्ने उपाध्यक्ष खत्रीले जानकारी दिइन् । 

सरकारले प्रत्येक गाउँपालिका र नगरपालिकामा १५ शैयाको अस्पताल बनाउने नीति अनुसार तत्कालिन बैजापुर स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर अस्पताल सञ्चालन गरिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले जानकारी दिएका छन् । 

उनका अनुसार उक्त अस्पतालले साधारण शल्यक्रिया सेवासमेत प्रदान गर्नेछ । अस्पतालसँग हाल १२ कोठे नवनिर्मित भवन रहेको छ । गाउँपालिकाले उक्त अस्पतालका लागि एमबिबिएस डाक्टर गोविन्दप्रसाद चौधरीलाई नियुक्त गरिसकेको छ ।

प्रकाशित मिति: : 2020-11-29 19:01:00

प्रतिकृया दिनुहोस्