बिर्सनै नसकिने मेरो त्यो नयाँ वर्ष...

नयाँ वर्षको अघिल्लो दिन अर्थात् चैत ३० गते। साथी कविताले (नाम परिवर्तित) फोन गरेर भनिन्, ‘भोलि नयाँ वर्षमा सबै जना मेरो घर आऊ है, रमाइलो गर्नुपर्छ।’

उनको कुरा सुनेर हामी सबै उत्साहित भयौँ। भाउजू, बहिनी, भतिज, छोरा (दिदिको छोरा) अनि म। नयाँ वर्ष हामीले उनको घरमा मनाउने निधो गर्यौँ।

भोलिपल्ट बिहान ६ बजे नै निन्द्राबाट ब्युँझिएँ। अरुबेला ८ बजे मात्र उठ्ने म। नयाँ वर्ष भएकोले होला सबेरै उठेँ। अनि हतारिँदै कविता लाई फोन गरेँ, ‘हामी कहाँ आउनु भन त’, उताबाट जवाफ आयो, ‘सुन्दरीजलबाट गाडी चढेर ओख्रेनी गाउँ आउन है।’

उनीसँग कुरा गरेर फोन राखेपछि अरू चार जनालाई पनि उठाएँ। बाहिर जाने भनेर होला सबैजना अतालिँदै उठे।

२०७६ सालको सुरुवातलाई मनाउन उत्साहित हामी चिया, नास्ता गरेर बाटो लाग्न थाल्यौँ। घरबाट निस्किँदै गर्दा मम्मी भन्दै हुनुन्थयो, ‘घर छिट्टै फर्कनु है, अबेर होला नि।’ हामी पनि हुन्छ भन्दै ७ बजे घरबाट निस्कियौँ।

गफगाफ गर्दै बाटो लागेका हामी ‘नेपाल मेडिकल कलेज’ पुगेर सुन्दरीजल जाने गाडी चढ्यौँ। गाडी चढेको ४५ मिनेटपछि हामी सुन्दरीजल पुग्यौँ।

सुन्दरीजल अर्थात् ‘डेटिङ स्पाेट’। अधिकांश जसो जोडीहरु त्यहाँ जाने गर्छन्। सुन्दरीजलको खासियत झरना हो, जुन बिनाकारण झरिरहन्छ।

बिहानको ८ बजे सुन्दरीजल पुगेका हामीले त्यहाँबाट अर्को गाडी समात्यौँ। जुन गाडी थियो, साथी कविता को घर जाने।

मान्छे धेरै भएकोले होला गाडीभित्र एक पाइला अघि बढ्न पनि मुश्किल थियो। अरुबेला गाडीको झ्यालपट्टीको सिटमा बस्ने म, त्यो दिन भने उभिरहेकी थिएँ। गाडीको चक्का चलेसँगै मेरो मनले पनि सोचिरहेको थियो, ‘कहिले पुग्नु होला ओख्रेनी गाउँ।’

घच्याक–घच्याक गर्दै गुडिरहेको गाडी १० मिनेटपछि रोकियो। कारण थियो– ओभर लोड।

एक्कासी गाडी रोक्किएको कारण सहचालकले भन्दै थिए, ‘सबैजना गाडीबाट झर्नुस् त। चक्काको हावा फुस्किएछ!’

उनको  कुरा सुनेर हामी पालैपालो झर्दै थियौँ। त्यतिकैमा उताबाट चालकले भने, ‘अब यो गाडी ओख्रेनी जान सक्दैन। अर्को गाडी चढेर जानु होला।’

पहिलोपटक साथीको घर जान लागेका हामीहरुलाई पर्नु फसाद पर्यो!

गाडीबाट झरेका यात्रुहरु अब गाडी आउँदैन भन्दै सुन्दरीजल फर्किन थाले। तर हामीले भने ओख्रनी जाने नै निधो गर्यौँ। अनि नाच्दै गाउँदै हामी लाग्न थाल्यौँ– ओख्रनी गाउँ। जुन सुन्दरीजलबाट १५ किमी टाढा पर्छ। 

सुरुसुरुमा हिँड्न रमाइलो मानिरहेका हामी विस्तारै गल्न थाल्यौँ। मनले हिँडेरै गन्तव्य पुग्ने योजना बनाए पनि खुट्टाहरुले भने नहिँड्न आग्रह गरिरहेको थियो।

सुन्दरीजलबाट हिँड्न थालेका हामी साढे नौ बजे मुलखर्क गाउँ पुग्यौँ।

चर्को घाम, भोको पेट र थकाइले पनि होला, हामी हिँड्न नसक्ने भएका थियौँ। भोकाएका छोरा सन्दिपले भन्दै थिए, ‘आन्टी भोक लागिसक्यो, अझै कत्ति लाग्छ?’

हिँडेको लगभग २ घन्टापछि हामीले ४ वटा डाँडा कटाइसकेका थियौँ। तर खाजा खाने पसलको नाम निसान नै थिएन।

मुलखर्क गाउँबाट हिँडेको एक घण्टपछि हामी ‘चिलाउनी’ गाउँ पुग्यौँ। चिलाउनी पुगेपछि चिसो हावाको वेगसँगै तातिएका हाम्रो शरीर पनि विस्तारै चिसिँदै गयो। त्यही गाउँमा देखियो, खुद्रा पसल। जहाँ पाइन्थ्यो– चाउचाउ, चिउरा, चकलेटलगायत।

बल्लतल्ल पसल देखेका हामी खुसीले उत्साहित भयौँ। अनि किनेर खायौँ–चिउरा र चाउचाउ।

भोक लागेर बोल्नसमेत नसकेकी मलाई पहिलो पटक चाउचाउ र चिउरा यति मिठो लाग्यो, जति पिज्जा र बर्गर पनि लागेको थिएन।

खाजा खाइसकेका हामी विश्राम मार्न थाल्यौँ। त्यसैबेला बहिनी र छोराले भनेका थिए, ‘कति टाढा छ?, अब चाहिँ हामी हिँड्न सक्दैनौँ।’ भाई बहिनीहरुलाई सान्त्वना दिँदै मैले भनेँ, ‘अब आउन लाग्यो क्या!’

चिलाउनीबाट केही पर हिँडेपछि गाडी देखेका हामीले हतारिँदै सोधिहाल्यौँ, ‘दाई यो गाडी ओख्रनी गाउँ जान्छ?’ सहचालक दाईले भने, ‘जान्छ बस्नु।’

गाडीको सिटमा बसेर घडी हेरेँ, ठ्याक्कै ११ पो बजेको रहिछ। आफैँ सोच्न थालेँ, ‘हैट ३ घण्टा हिँडेछौँ।’

बिहानको थकाइको कारण सिटमा बसेकी म कत्तिखेर निदाएछु, पत्तै भएन। भतिज विवेकले उठाएपछि बल्ल थाहा भयो– ओख्रेनी गाउँ पुगिसकेका रहेछौँ।

गाउँ पुग्दा साढे ११ बजेको थियो। गाडीबाट नझर्दै मैले साथी कविता र उनको बहिनीलाई देखेँ। उनीहरु हामीलाई पर्खिरहेका रहिन्छन्।

गाडीबाट उत्रिएपछि कविता ले भन्न थालिन्, ‘बाटोमा गाह्रो त भएन नि?’ उनको कुरा सुनेर रिसले चुर भएकी मैले सिधै भनिदिएँ, ‘तिम्रो जस्तो कवाडी गाउँ कतै देखेको थिइनँ।’ मेरो कुरा सुनेर हाँस्दै उनले भनिन्, ‘यही मास्तीर हो मेरो घर।’

गाडीबाट झरेको ५ मिनेटपछि पुग्यौँ, कविता को घर। जस्ताको छानाे, माटोको भित्ता र परालको कुनिउँ। उनको घरको बनावट। जुन सहरको घरहरुभन्दा विल्कुल फरक थियो। 

उनको घर पुगेपछि थकान मेटाउन हामी आराम गर्न थाल्यौँ। खाना खाएर बसेका हामीलाई कविता ले भन्न थालिन्, ‘माथितिरको डाँडा जाउँ, नाचगान भइरहेको छ। कलाकारहरु आएका छन्, रमाइलो हुन्छ।’

हामी फुरुङ हुँदै ओख्रनी डाँडातर्फ लाग्यौँ। जहाँ मेला लागिरहेको थियो। 

नयाँ वर्षको दिन जहिल्यै मेला लाग्ने उनी बताउँदै थिइन्। मेलामा कोही नाच्दै थिए, कोही गाउँदै, त कोही मःम पकाइरहेका थिए। मनै आनन्दित गर्ने रमाइलो दृश्य।

सररर हावा र चिसो मौसम भएको डाँडा पुगेकी मैले सहरको कोलहल र अशान्तीहरु बिर्सिसकेकी थिएँ। 

मान्छेको खिलखिलाहटले मनै त्यहाँ त फुरुङ भयो। सबैजना रमाइलो गर्नमा व्यस्त थिए। रमाइलो गर्नमा मस्त रहेका हामीलाई पत्तै भएन घडीले ५ बजाइसकेछ।

मेला उठाउन सुरु हुँदै थियो। कार्यक्रम गर्न आएका कलाकारहरु घर फर्कन थाल्दै थिए। हामी पनि घर फर्कने सुरमा लाग्न थाल्यौँ। हामीले कविता लाई भन्न थाल्याैँ, ‘गाडीको व्यवस्था मिलाऊ’, उनले पनि हुन्छ भन्दै थिइन्।

डाँडाबाट तल झरेका हामीलाई छोडेर कविता ले ‘बस्दै गर, म  गाडी लिएर आउँछु’ भन्दै डाँडातर्फ जान थालिन्। हामी उसैको आशमा थियौँ। गाडी लिएर आउँछिन् होला भन्दै हामी पर्खिरह्यौँ।

त्यतिकैमा उताबाट हुइँकिएर बालुवा बोक्ने निशान गाडी आउँदै थियो। जहाँ साथी कविता थिइन्।

कविता लाई देखेर खुसीले हामीले हात हल्लाउन थाल्यौँ। उनले पनि गाडीबाट हात हल्लाउँदै आफू आइरहेको इशारा दिँदै थिइन्। हामी खुसीले सोच्दै थियौँ– साथीले हाम्रो लागि गाडीको व्यवस्था मिलाइदिएछ।

तर हाम्रो खुसी केहीबेरमै टुट्यो, जब उनी हामीलाई ‘बाइ’ भन्दै गाडीबाट सुन्दरीजलतर्फ लागिन्। हामीलाई अलपत्र पारेर गाडीमा रमाउँदै गएकी उनलाई देखेर हामी रिसले चुर भयौँ।

गाडी पर्खंदापर्खंदै ६ बजिसकेको थियो। हामी सबैको एउटै उदेश्य थियो, ‘जसोतसो घर पुग्नु।’

गाडी नपाएर हामी अलपत्र परेर बसिरहेका थियौँ। त्यतिकैमा कविता को बहिनी र बुबाले हाम्रो लागि ‘निशान’ गाडीको व्यवस्था गरिदिए। रिजर्भ गरेर ल्याएको गाडीका मान्छेले भन्दै थिए, ‘नचिन्ने मान्छेलाई नचढाउनु त!’

उनको कुरा सुनेर अंकलले पनि भन्दै हुनुन्थ्यो, ‘५ जनालाई अटाएर लैजानुस् न!’

अंकलको अनुरोधपछि हामीले गाडी चढ्न पायौँ। गाडी चढेका सबैजना होहल्ला गर्नमा मस्त थिए। तर हामी भने घर छिट्टै पुगोस् भन्ने आशमा थियौँ।

गाडीमा चढेको २ घण्टापछि हामी मेडिकल कलेज पुग्यौँ। गाडीबाट झरेर हामीले सबैलाई धन्यवाद दिँदै घरतर्फ लाग्यौँ। अनि बल्ल हामी राति ८ बजे घर पुग्यौँ।

घर पुगेपछि हामी सबैले एउटै निर्णय गर्यौँ– अब कहिल्यै कविता को घर ‘ओख्रनी गाउँ’ नजाने। किनकी त्यो बिर्सन नसक्ने नयाँ वर्ष बन्यो।

प्रकाशित मिति: : 2022-04-14 09:30:00

प्रतिकृया दिनुहोस्