‘आशिकी’ हिरो राहुल रोयलाई ‘ब्रेन स्ट्रोक’

नब्बेको दशकका चर्चित नायक राहुल रोयलाई ‘ब्रेन स्ट्रोक’ भएको छ। 

उनी कारगिलमा एलएसी फिल्मको सुटिङ गरिरहेका थिए। 

‘ब्रेन स्ट्रोक’ का कारण उनलाई श्रीनगरबाट मुम्बई पुर्‍याइएको छ भने उनी हाल मुम्बईको नानावटी अस्पतालमा भर्ना छन्। 

राहुलको उपचारको विषयमा निर्देशक नितिन कुमार गुप्ताले मुम्बई मिररलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘बिहीबार उनलाई भेट्न होटलमा पुग्दा पहिलेभन्दा अलग्यै व्यवहार गरिरहेका थिए। उनी ठिकसँग बोल्न सकिरहेका थिएनन्।’

उनले राहुललाई सामान्य स्ट्रोक भएको बताए। पारिवारीक श्रोतका अनुसार उनको अवस्था अहिले स्थिर छ। नितिनले उनी चिकित्सकको निगरानीमा रहेको बताए। 

तीन दशकदेखि फिल्ममा सक्रिय राहुलको पहिलो फिल्म आशिकी १९९० मा रिलिज भएको थियो। उनले जुनुन, फिर तेरी कहानी याद आई, नसिब, एलान, कैबरे जस्ता फिल्ममा काम गरेका थिए। 

उनी बिग बाेसको पहिलो सिजनको बिजेता पनि हुन्।

प्रकाशित मिति: : 2020-11-30 14:46:00

प्रतिकृया दिनुहोस्