भोकसँग लडेका प्रदीप भोकालाई खाना खुवाउँदै

शिलापत्र

काठमाडाैं

बत्तीसपुतलीको गल्लीलाई छिचोल्दै जाँदा प्रदीप घिमिरेको कोठामा पुगिन्छ । साँघुरो कोठा । छरपस्ट सामान । आफू सुत्ने खाटमाथि नै राखेका छन् उनले ग्यास चुल्हाे । उनले खाना नपकाए राति ३ सय जना सडक मजदुर चिसो छिँडीमा भोकै पर्छन् । उनले गत २९ चैतदेखि प्रत्येक दिन ३ सय जनाका लागि खाना पकाउँदै आएका छन् । 

कोरोना महामारीले नेपाल पनि थिलियो । त्योभन्दा बढी मजदुर भोकले पिल्सिए । धेरैको कोठामा चुल्हाे निभ्यो । अनि प्रदीप जुटे राहत वितरणमा ।  ‘राहत वितरण गर्दा चुल्हाे हुनेको त चुल्हाे बल्यो । तर, चुल्हाे नै नभएका मजदुर भोकले छटपटिन थाले । मजदुरले राहतभन्दा पनि खाना मागेकाले खाना खुवाउन सुरु गरेको हुँ’, उनी भन्छन् ।  

खाना त पकाउने तर कहाँ पकाउने ? आफ्नो घर छैन । उनले आफूले डेरा लिएकाे घरकाे खाली ठाउँमा पकाउने निधो गरे । तर, घरबेटी बाधक बने । घरबेटीले पकाउन नदिने भनेपछि उनले आफ्नै कोठामा पकाउन सुरु गरेका हुन् । 

‘घरको खाली ठाउँमा घरबेटीले पकाउन दिनु भएन । अनि कोठामै खाटमाथि चुल्हाे राखेर पकाउन सुरु गरेको हुँ’, उनले भने, ‘एउटा सटर लिएको छु । अब सटरमा पकाउने तयारी छ ।’

प्रकाशित मिति: : 2020-12-20 11:11:00

प्रतिकृया दिनुहोस्