डा. अजय रिसाल
कर्मयोगको क्रमिक साधनाले नै अन्ततः आत्मज्ञानरूपी परम लक्ष्य भेट्टाउन सहायता गर्नेछ ।श्रीमद्भगवद्गीताको तेस्रो अध्यायमा श्रीकृष्णोपदेशको मूलभूत सारांश यही नै हो । परमार्थसिद्धि चाहने जोकोही साधकका लागि पनि यही नै शाश्वत् उपदेश रहेको सत्यतर्फ सचेत गराउँदै उनी भन्छन्:
'ये मे मतमिदं नित्यमनुतिष्ठन्ति मानवाः ।
श्रद्धावन्तोऽनसूयन्तो मुच्यन्ते तेऽपि कर्मभिः' ।।भ.गी.३(३१)।।
अर्थात्, 'कर्ममार्गको साधनद्वारा ज्ञानयोगको संप्राप्ति'को उद्देश्य या लक्ष्य साँध्ने जोसुकै व्यक्तिले श्रद्धापूर्वक यो ईश्वरीय मतको अनुसरण गरेमा उसले कर्मबन्धनको डर मान्नु पर्दैन । बरु त्यस्ता व्यक्तिहरूको अन्तस्करण क्रमशः शुद्ध हुन गई ऊ ध्यान (ज्ञान) मार्गमा लीन भएर आत्मोन्नतितर्फ नै अग्रसर रहन्छ । तर, यो मतमा दोषदृष्टि राखेर कर्मत्याग गर्ने वा अकर्म गर्ने व्यक्ति भने अज्ञानकै अन्धकारमा रहन्छ । उसको आत्मविकासको बाधक ऊ स्वयम् नै बन्दछ ।
व्यक्तिले गर्ने श्रद्धा या दोषदृष्टिपूर्ण व्यवहार ऊ स्वयम्को स्वभावजनित प्रकृतिले नै निर्देशित गरिरहेको हुन्छ । त्यो स्वभाव अथवा व्यक्तित्व (उसको स्वाभाविक प्रकृति वा गुण) उसको विचार या चिन्तनहरूकै पुँजीका रूपमा नै निर्मित भएको हुन्छ । पूर्वार्जित बासनाहरूले पनि विचार निर्माण अनि कर्ममार्गप्रतिको प्रवृत्तिमा केही भूमिका खेलेका हुन्छन् । विचार एवं कर्मले नै व्यक्तिको मनस्थिति अनि स्वभाव निर्माण गर्ने भएकाले सबै व्यक्ति आफ्नै गुण वा प्रकृतिगत कार्यतर्फ नै सदा उन्मुख हुने गर्दछन् । अतः ज्ञानी कहलिएका मानिसहरूसमेत आफ्नै स्वभावजन्य प्रवृत्तिका कारण कर्मपथमा कार्य सञ्चालन गर्ने क्रममा कहिलेकाहीँ दिग्भ्रमित रहन सक्नेतर्फ सचेत गराउँदै श्रीकृष्ण भन्दछन्: