निःशुल्क ह्वीलचियर वितरण

बाँकेको कोहलपुर नगरपालिकामा रहेका अपांगताका भएका व्यक्तिहरुलाई निःशुल्क ह्वीलचियर वितरण गरेको छ। 

विभिन्न कारणले अपांगता भएका व्यक्तिहरुको सहयोगको  लागि नगर क्षेत्रका  २० जनालाई निःशुल्क ह्वीलचियर वितरण गरिएको हो।  

पूर्ण तथा अति अशक्त भएका कोहलपुर नगरपालिकाका २० जना जनालाई  सहायक सामग्री वितरण गरिएको अपांग नवजीवन केन्द कोहलपुरले जनाएको छ। 

केन्द्रका अध्यक्ष दयाराम अधिकारीका अनुसार कोहलपुर नगरपालिकाको आर्थिक तथा राष्ट्रिय अपांग पुनर्स्थापना समाज अनामनगरको ह्वीलचियर सहयोग गरिएको हो।  

उनले ट्राइ साइकल ६ वटा ह्वीलचियर सात र सात वटा रफ राइडर निःशुल्क वितरण गरिएको बिएल नेपाली सेवालाई जानकारी दिए। 

उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले कोहलपुर नगरपालिका सधैँ अपांगता भएका व्यक्तिहरुको सहयोग गर्न तत्पर रहेको बताए। 

प्रमुख रावतले नगरपालिकामा रहेका अपांगता भएका व्यक्ति र जेष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परिक्षणका साथै ‘ग’ श्रेणीका अपांगता भएका व्यक्तिहरुलाई भत्ताको सुविधा प्रदान गरिएको बताए।‘नगरपालिका वडास्तर सम्मै पुगेको छ। 

‘हामीले विभिन्न सुविधा समेत दिइरहेका छौँ। अपांगता भएका व्यक्तिहरुलाई  व्यवसाय दर्ता पनि निःशुल्क गर्दै आएका छौँ,’  उनले भने। 

ह्वीलचियर पाँउदा खुसी

बाँकेको कोहलपुर –११ की प्रकृति चन्दले दुर्घटनामा परी दुवै खुट्टा गुमाइन्। 

गतवर्षको मंसिरमा उनी विद्यालयमा जाँदा दुर्घटनामा परेकी थिइन्। कोहलपुरस्थित त्रिभूवन नमूना माध्यमिक विद्यालयमा कक्षा सातमा अध्ययनरत उनी दुर्घटनामा परि पूर्ण अपांग भइन्। 

दुर्घटनामा दुवै खुट्टा गुमाएपछि उनी अर्कोको सहायतामा एक पाइला पनि सार्न सक्दिनन्। अहिले पनि उनी १३ वर्षको कलिलो उमेरमा अपांग शरिर लिएर जीवन जिउन बाध्य छन्। 

उनी भन्छिन्, ‘दुर्घटनामा दुवै खुट्टा गुमेपछि सहाराविहीन भए। दैनिक जीवन गुजारा गर्न सक्दिन। अध्ययन पनि छुटेको छ।’ 

स्थानीय सरकारको सहयोगमा  ह्वीलचियर पाउँदा आफूलाई खुसी लागेको बताइन्।  यस्तै कोहलपुर नगरपालिका –५ की टोपली आलेमगरले स्थानीय सरकारबाट सहयोग पाउँदा खुसी लागेको बताइएको छ। 

उनको २२ वर्ष अघि रुखबाट खसेर दुवै खुट्टा नचल्ने भएको छ। उनलाई आवातजावत गर्न  ह्वीलचियरको सहारा चाहिन्छ। घरको आर्थिक अवस्था नाजुक भएकी मगरलाई ह्वीलचियर किन्न पनि ऋण गर्नुपर्ने अवस्था छ।

‘आफू काम गर्न सक्दिन।श्रीमानको कमाइले घरधन्दा धान्नै ठिक्क हुन्छ। अपांगता भएका व्यक्तिलाई बाँच्न कहाँ सजिलो छ र?,’  उनले भनिन्।

प्रकाशित मिति: : 2021-01-05 16:08:00

प्रतिकृया दिनुहोस्