हुम्लाको तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेड, जनजीवन कष्टकर

हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो ।

मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ ।

चिसोले सिमकोट आसपास चल्ने सडक अवरुद्ध भएका छन् । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरिक सडक अवरुद्ध भएको हो ।

चिसो बढ्दै गएपछि सदरमुकाम सिमकोट बजारमा बसोबास गर्दै आएका व्यापारी, गाउँघरका सर्वसाधारणहरु आगो ताप्दै दिन बिताइरहेका छन्। 

चिसोले सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको सेवा प्रवाहमा पनि कठिनाइ भएको छ । चिसो बढेसँगै दैनिकरूपमा कार्य गर्दै आइरहेका काम पनि ठप्प भएका छन् ।

चिसोले गाई बाख्रा मेलापातमा पनि समस्या भएको स्थानीयवासी कमल भण्डारीले बताए ।

उत्तरी हुम्लाका प्राय बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन । हिमपात भएपछि सदरमुकाम सिमकोट वरिपरिका रुख र जमिन सेताम्मे बनेका छन ।

आज बिहानदेखि सिमकोटमा चिसोसँगै हावाहुरी चलिरहेको छ । अहिले बाक्लो बादल लागेर अझै हिमपात हुने देखिएको छ ।

प्रकाशित मिति: : 2021-01-06 07:41:00

प्रतिकृया दिनुहोस्