म बिर्खे दमाई

जिब्रो थुतेर बयान दिन पठाएको
म एक निमुखा बिर्खे दमाई
सम्मानित अदालतका महाशय
आज म जिब्रो नभएर पनि बयान दिन सक्छु

चाकरी गर्दागर्दै
कयौं युग हारिसकेको मेरो पुर्खाजस्तै
म पनि यो युगसँग हार्नै लागेको
कथित एक अछुत सिपाही हुँ।

महाशय
तपाई आज पनि ब्रुजुवा सोचमा हुनुहुन्छ भने
फ्याकेर आउनुहोस् दिमाखको थैलीबाट ब्रजुवा सोच
हिजो युगको घोडा चढेर हिँडेको तपाई
आज यो नभुलौकी
युगले तपाईको ढाडमा टेकिसकेको छ।

म एक निमुखा बिर्खे दमाई
मैले रगत निचोरेर पसिना नबगाउदा
कुन दिन बल्यो र महाशयको चुलोमा आगो?
मैले असारे झरिमा छाता नओढी नओढी
दश नङ्ग्राको खलाती नघुमाउदा
कसरी भित्रन्थ्यो महाशयको घरमा मंसिर
मैले एक माना मकैसँग एक जोर लुगा नसिलाएको भए
कसरी छोपिन्थ्यो हजुरका सपरिवारको लाज

महाशय,
म एक निमुखा बिर्खे दमाई
मैले के गल्ति गरेको छु र?
मेरो जिब्रो थुतेर बयान लिदै हुनुहुन्छ
आज म सदियौँदेखि दबिएको आवाज
जिब्रो नहुँदा पनि बोल्न सक्छु
यदि यो न्यायको कठघरामा
मैले साचो बोलेको गलत लाग्छ भने
याद राख्नुहोस् मेरो आउने सात पुस्ता
युगसँग हार्न तयार छ
तर कदमकथाचित तपाईसँग हार्न तयार हुने छैनन् ।

महाशय
म एक निमुखा बिर्खे दमाई
मैले मेरा बच्चालाई स्कुल पठाउनुको सट्टा
साहुको घरमा गोठालो पठाउँदा मात्रै त
साहूका छोराहरु पढेर हामीलाई हेप्ने भएका हुन्
मैले मेरि रजस्वला भएकी छोरीलाई
पेटमा पटुकी कस्न लगाएर
स्याउला पठाउदा मात्रै त
हजुरको गोठका गोरुलाई न्यानो भएको हो
मैले मेरि दुई ज्युकी स्वास्नीलाई
सबेरै ढिकि कुट्न पठाउँदा मात्रै त
हजुरका दशै र तिहार भएका हुन 

त्यतिमात्रै होइन महाशय
साउन छेक्नलाई छाना टालीरहेको म
मेरो बारीको कान्लो भत्कियो
आइजा बिर्खे भनेको बेलामा
नआएको भए भन्नुहोस् म यहि मर्दिन तयार छु
मैले आफ्नो बास बनाउन छोडेर
हजुरको बारी बनाउन आउदा
हजुरको मनमा कति पनि दया पलाएन ?

महाशय
म एक निमुखा बिर्खे दमाई
मैले के गल्ती गरेको छु र ?
मेरो जिब्रो थुतेर बयान लिदै हुनुहुन्छ
आज मैले दिएको बयान 
हजुरलाई चित्त बुझेन भने
म यो पापी न्यायालयमा
मजस्ता हजारौ बिर्खेलाई ल्याएर
एकएक गरेर नपुङ्सक बनाइदिनेछु
ताकी भोली मजस्ता निमुखा बिर्खेहरु 
जन्मनु नपरोस् ।

प्रकाशित मिति: : 2021-01-23 17:33:00

प्रतिकृया दिनुहोस्