नुवाकोटमा २४ सयलाई कोरोना विरुद्धको खोप

सांकेतिक तस्बिर

सरकारले कोभिड–१९ विरुद्ध भारतबाट अनुदानमा ल्याएको खोप नुवाकोट पनि ल्याइएको छ। पहिलो चरणमा दुई हजार ४०२ जनालाई उपलब्ध गराउने योजना बनाइएको छ।

स्वास्थ्य कार्यालय नुवाकोटले विज्ञपित जारी गर्दै जिल्लाका पालिकालाई खोप सेवा उपलब्ध गराउने तालिकासमेत सार्वजनिक गरेको छ। 

यही माघ १४ देखि  १९ गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिने र  स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था तथा नगरपालिकाका सरसफाइकर्मी, एम्बुलेन्स चालक तथा कोभिड–१९बाट मृत्यु भएकाहरुको दाहसंस्कारमा संलग्नलाई खोप सेवा उपलब्ध गराइने स्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिए। 

अभियानका लागि त्रिशूली जिल्ला अस्पताल र खरानीटार अस्पतालमा खोप केन्द्र सञ्चालन गरिने बताइएका छ। 

 घिमिरेका अनुसार पहिलो चरणको खोप अभियानका लागि खोपलगायत आवश्यक सामग्री प्राप्त भइसकेको छ। 

स्वास्थ्य संस्थाबाट नियमित सेवा अवरुद्ध नहुने गरी पालिकानुसार दुई समूह बनाएर खोप लगाउने कार्यक्रम बनाइएको स्वास्थ्य कार्यालयले जनाएको छ।

 जिल्लामा कोरोनाबाट मंगलबारसम्म एक हजार १२६ संक्रमित भएका छन्। संक्रमितमध्ये एक हजार २४ जना निको भएको र एक जनाको ज्यान गएको छ । हाल जिल्लामा ९९ संक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस  

प्रकाशित मिति: : 2021-01-26 20:26:00

प्रतिकृया दिनुहोस्